
काठमाडौँ– बिहीबार देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लाग्यो। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाइयो।
वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरे।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।
शिवरात्रिका अवसरमा पशुपतिनाथमा पनि दिनभर दर्शनार्थीको घुईँचो लाग्यो। काेरोना भाइरसको जोखिम कायमै रहेपनि बिहीबार महाशिवरात्रिमा पशुपतिनाथमा भक्तजनहरुको भीड लागेको हो।
यसैबीच बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पनि महाशिवरात्रिको अवसरमा पशुपति पुगेर पूजाआजा गरेकी थिइन्। राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलनअनुसार उनले पशुपतिनाथको दर्शनसँगै पुजाआजा गरेकी हुन्।
पशुपति क्षेत्रमा महाशिवरात्रिमा बिहीबार साँझ देखिएको भीडः