मेलम्चीको पानीः उपत्यकाका बुढापाकालाई पर्यटन

मेलम्चीको पानीः उपत्यकाका बुढापाकालाई पर्यटन
+
-

सुन्दरीजल- कुनै समय बागद्वारबाट झरना भई बग्दै आएको बागमतीको मूल हेर्न मानिस सुन्दरीजल पुग्थे। अब चाहिँ यस स्थानको अर्को प्रयोजन पनि थपिएको छ। सिन्धुपाल्चोकबाट २७ किलोमिटर लामो सुरुङ यात्रा गरी काठमाडौं उपत्यकासम्म आइपुगेको पानी कस्तो रहेछ? यो जिज्ञासा लिएर हिजोआज सुन्दरीजलमा परपरदेखिका मानिस आउन थालेका छन्।

सुरुङको मुखसम्म पुग्नबाट सेनाले रोक्ने गरे पनि आयोजनाले अलि दुरीमा त्यस्ता पर्यटकका लागि परैबाट हेर्न फराकिलो स्थानको व्यवस्था गरिदिएको छ।

उक्त स्थानमा समूह बाँधेरै आउने दुई तीनवटा जमात प्रायः उपस्थित हुनेगरेको सुरक्षार्थ खटिएका सेनाले बताए।

हामी पुगेकै बेला काठमाडौंदेखि जिज्ञासा बोकेर सुन्दरीजलको पानी हेर्नकै निम्ति लौरो टेक्दै पुगेका बुढापाका पनि देखिए।

तिनैमध्येका एक थिए, विष्णुबहादुर रायमाझी। ७८ वर्षीय रायमाझी काठमाडौं काँडाघारीका रैथाने हुन्। सारा जीवन खेती किसानीमै बित्यो। अहिले त १२ जनाको सदस्यमध्ये बाहिर कमाउनेहरु पनि छन्। तैपनि, परिवारको आम्दानीको महत्वपूर्ण हिस्सा हाल आएर खुम्चिँदै गएको खेतबारीले नै धानेको छ।

‘मैले जन्मेदेखि सारा जीवन पिउने पानीको अभाव देखेँ,’ उनले देशसञ्चारलाई भने, ‘अब सन्तानका बेलामा धारामा बग्ने भनिएको पानी कस्तो रहेछ भनेर हेर्न आएको हुँ।’

विष्णुबहादुरका अनुसार काँडाघारीस्थित उनको टोलमा आजसम्म पनि खानेपानीको धारा आएको छैन।

‘अहिले पनि हाम्रोतिर पानीको समाधान भनेकै बोरिङ गरेर भूमिगत पानीको प्रयोग गर्ने हो,’ उनले थपे, ‘त्यसरी बोरिङ गरेर निस्केको पानीलाई त्यहीँबाट फिल्टर गरेर पिउँदै आइरहेका छौं।’

यसरी बोरिङ र फिल्टर गर्दा लाख रुपैयाँसम्म खर्च पर्ने गरेको जानकारी उनले दिए। ‘आजसम्म पनि खानेपानीको पाइप हाम्रो टोलले देखेकै छैन,’ उनले भने, ‘मेलम्ची आउने भनेपछि हाम्रो घरभन्दा अलिक पर चाहिँ धमाधम पाइप ओछ्याउन थालेको देखिरहेका छौं।’

सुन्दरीजलमा आइपुगेको पानीले पनि आफूहरुलाई भने तत्कालै समाधान नदिने उनी सुनाउँछन्।

‘भविष्यमा मेरा सन्तानले चाहिँ आफ्नो थातथलोमै पानी आएको देख्लान् भन्ने आशा जगाएको छ,’ उनले हाँस्दै भने, ‘रेडियो र मोबाइलमा देखेसुनेको त्यो मेलम्चीको पानी कस्तो रहेछ? कति रहेछ? कत्रो रहेछ? भन्ने अनेक जिज्ञासाले हुटहुटी लागेर आज यही हेर्नका लागि आइपुगेको हुँ।’

अनि कत्रो र कस्तो रहेछ त?– हामीले सोध्यौं।

‘झर्नाजस्तोबाट खललल पानीको मुस्लो झर्छ होला भन्ने लागेको थियो,’ यसो भन्दैगर्दा उनका दुवै हातले माथिबाट खोलाको ठूलै धार आएजस्तो इशारा गर्दै थिए, ‘तर, यहाँ त ऊ त्यही परको सुरुङ मात्र देख्न पाइने रहेछ।’

त्यो सुरुङबाट पनि पानीको भल बग्दै आएको देख्न पाएको भए विष्णुबहादुरलाई अलिक चित्त बुझ्ने थियो।

‘यहाँ त सुरुङमात्र देखिने रहेछ,’ उनले थपे, ‘त्यही सुरुङबाट निस्केको पाइपबाट भित्रभित्रै पानी आइरहेको छ भनेर सुनाए। त्यत्ति हो।’

उनले आयोजनाको अर्को दिशामा तयार भएको विशाल भवन र पानीका ठूला ट्यांकीतर्फ इशारा गरे। ‘पाइपबाट लगेको सबै पानी उतै जम्मा हुन्छ रे!’ उनले औंला उठाएर दक्षिण–पश्चिमतर्फ देखाए, ‘त्यतैबाट बढी भएको पानी बागमतीमा फाल्ने ठाउँ पनि देखिन्छ रे!’

यो पानी आएपछि अब राम्रो हुन्छ भन्ने विष्णुबहादुरलाई लागेको छ। ‘मेलम्चीको पानी आएपछि काठमाडौंको सडक धुनलाई पनि पुग्छ भनेर उतिबेलै कृष्णप्रसाद भट्टराइले भनेका थिए क्यारे!’ उनले हाँस्दै थपे, ‘त्यस्तो हल्ला सुनेकै झण्डै तीस वर्षपछि साँच्चै मेलम्ची आइपुगेको छ।’

यस बीच काठमाडौंमा दुनियाँभरिबाट मानिस आएर थुप्रिएकाले सबैको प्यास मेट्नमै यो पानी खर्च हुने अनुमान लगाएका विष्णुबहादुरले ठट्यौलो पारामै भने– ‘सडकै धुन त अब पनि के पुग्ला र!’

यता विष्णुबहादुर हामीसँग कुरा गरिरहेका थिए भने उता अर्का वृद्ध लौरो टेक्दै आइपुगेका देखिए। वृद्ध थिए काठमाडौंकै ८८ वर्षीय शिवहरि नेपाल। उनका साथमा आएका छोरा केदार नेपाल मेलम्चीदेखि आएको सुरुङको मुखसम्मै पुग्नका लागि सेनासँग अनुरोध गरिरहेका थिए।

बागमतीमा मिसिँदै गरेकाे मेलम्चीकाे पानी । तस्बिर : गिरीश गिरी/देश सञ्चार

‘बुवालाई पानी भरिएको देखाउनु पर्‍यो रे!’ केदार भनिरहेका थिए, ‘मैले हजुरलाई रिक्वेस्ट गरेँ। लौ न।’

उनको आग्रह स्वीकार भएन।

‘बाहिरको मान्छेलाई जान नदिनू भन्ने हामीलाई आदेश छ,’ सुरक्षार्थ खटिएका सेना भनिरहेका थिए, ‘तपाईँहरुकै निम्ति पनि त्यहाँ जानु जोखिमपूर्ण छ।’

ती सेनाले उनीहरुलाई फर्किन आग्रह गरे।

‘बुढा मान्छे हुनुहुन्छ। मर्नु अघि मेलम्चीको पानी हेर्ने रहर गरेर देखाउन ल्याएको हो,’ छोरा केदारले पनि प्रयास छाडेनन्, ‘हेर्न दिनुस् न।’

तर, सेना टसबाट मस भएन।

त्यतिबेलै मेलम्ची परियोजनाका साइट इन्जिनियर विवेक खनाल उक्त स्थानमा आइपुगे।

‘अहिले हामी परीक्षणको फेजमा छौँ। यस्तो बेलामा दुर्घटनाको जोखिम पनि हुन्छ।त्यसैले भित्र जान मिल्दैन,’ उनले अनुरोध गरे, ‘बरु घर लगेर बालाई टिभीमा नै देखाउनुस् न।’

उनले बुवालाई टिभीमा देखाएको दृश्यले चित्त नबुझेरै सुन्दरीजल ल्याइदिएको जवाफ दिए।

‘मेलम्चीको पानी घरमा आउन्जेल म त मरिजाउँला त्यसैले त्यहिँ लगेर भए पनि देखाइदेओ भन्नुभएपछि ल्याएको हुँ,’ ती तन्नेरीले अनुरोध गरे,‘अब हुँदैन भने त के गर्नु।’

केदार गेटबाटै आफ्ना बुबालाई लिएर फर्कने तरखरमा लागे।

‘मेलम्चीको पानी आइपुगेको समाचारले खुसी लागेर हेर्नैका निम्ति आएको थिएँ,’ लौरो टेक्दै अघि बढ्न खोजिरहेका शिवहरि हाँस्दै भनिरहेका थिए, ‘लौ त लौ!’

तथ्यतिर उति जोड नदिएरै शिवहरिले ‘मेलम्ची खानेपानी परियोजनाको उद्घाटन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नै गरेको’ठोकुवा गरे।

‘केपी प्रधानमन्त्रीले सुरु गरेको मेलम्ची केपी शर्मा ओलीकै पालामा आयो,’ उनले ठट्यौलो बन्दै भने, ‘बरु, लामो समयसम्म नआएको देख्दा अब आउँदैन होला भन्ने लागेको थियो।’

ढिलै भए पनि पानी आउँदा खुसी लागेको उनले सुनाए।

‘कहिले के बिग्रने, कहिले के हुने ? कहिले मान्छे मरे, हरेक भयो,’ उनले भने, ‘चार भञ्ज्याङ नाघेर बल्लतल्ल यसरीपानी आयो भन्ने सुनेपछि खुशी लागेरै छोरालाई देखाउन लैजा भनेको थिएँ।’

सुन्दरीजलमा यसरी मेलम्चीदेखि पानी आइपुगेको हेर्न भनेरै बालाजुको नयाँ बजारदेखि उषा मालाकार र उनका श्रीमान फणिन्द्र खड्का पनि आइपुगेका थिए।

‘अब काठमाडौँमा छिट्टै पानी आइपुग्ने खबरले उत्साहित भयौं,’ उषाले भनिन्, ‘कस्तो बनेको रहेछ भनेर हेर्न आएका हौं।’

उषा पेशाले शिक्षिका रहिछन्। विदाको दिन पारेर श्रीमान श्रीमती यसरी मेलम्चीको पानी हेर्न घुम्दै सुन्दरीजल आइपुगेको उनले स्पष्ट पारिन्।

‘अब यसरी आँखैले हेरेर गएपछि धेरै फाइदा हुन्छ,’ उनले थपिन्, ‘कक्षामा विद्यार्थीहरुलाई बताउन पनि सकिन्छ।’

वर्षौँको पखाईपछि बल्ल धारामा पानी आउने भएकाले आफूहरु दंग परेको उनीहरुले सुनाए।

‘हाम्रो घरमा अहिले दस दिनमा एकपटक धाराको पानी आउँछ त्यो पनि मुस्किलले एक डेढ घन्टा,’ फणिन्द्रले थपे, ‘त्यहि पानी पनि मेसिनले तान्नु परिरहेको अवस्थामा अब धारामै पानी आउने समाचारले असाध्यै खुशी लागेको छ।’

त्यसरी हप्तामा एक दिन आउने पानीले घरको थोरै आवश्यकता मात्र पूरा गर्ने भएकाले हाल ट्यांकरको पानी किन्नेदेखि लिएर र ट्युबबेलको पानी प्रयोग गर्नेसम्मका कामबाट आवश्यकता पूरा गरिरहेको उनले बताए। ट्युबवेलको पानी पनि सुक्दै गइरहेको बेलामा यसरी वर्षौंँ प्रतीक्षा गरेको मेलम्चीको पानी आइपुग्यो भन्ने सुनेपछि एकपटक हेर्नकै निम्ति श्रीमानश्रीमती यस ठाउँमा आइपुगेको उनले जानकारी दिए।

‘पानीजस्तो चिज पनि नापेर प्रयोग गरिरहेका थियौं,’ उषाले थपिन्, ‘अब यस्ता दुःखका दिन छिट्टै सकिने विश्वास पलाएको छ।’

मेलम्चीको पानी आउँदैछ भनेरै उनीहरुको टोलमा राम्रै पिच सडक पनि भत्काउने काम गरियो।

‘अहिले त्यो बाटोमा गाडी/मोटर चलाउन निकै जोखिम छ। बिरामीलाई त मोटरबाट त्यो बाटो हिँडाउनै पनि सोच्नु पर्छ। यस्ता समस्या भोगेरै पनि सडक खन्ने कामलाई रोकेनौं,’ उनले थपे, ‘यत्रो सब पानी आउने आशमै गरेका हौं। नत्र त सद्दे सडकलाई खन्नै दिँदैन थियौं।’

यसरी मेलम्चीको पानी आइपुगेको जानकारीले सुन्दरीजलमा हेर्नका निम्ति मानिसको भीँड बढ्दै गए पनि सबैलाई भित्रै गएर हेर्न दिन भने नमिल्ने आयोजनाले जनाएको छ।

‘अलिक पहिलेसम्म त मानिसहरु सुरुङको मुखमै गएर पनि हेर्ने गर्थे,’ आयोजनाका साइट इन्जिनियर विवेक खनाल भन्छन्, ‘केही समययता भने सुरक्षाका हिसाबले कामभन्दा बाहेकका मानिसलाई उता जानबाट रोकिएको छ।’

एक त त्यसै पनि राष्ट्रिय महत्वको यत्रो ठूलो परियोजनालाई पर्याप्त सुरक्षाको आवश्यकता पर्छ नै। त्यसबाहेक निर्माण सम्पन्न गर्ने क्रममा ठेकेदारसँग स–साना हिसाब किताब नमिलेर मजदुरीमा लागेका स्थानीयहरु आक्रोशित रहेको स्थिति पनि थियो। अन्य हिसाबले बाँकी बक्यौता रहेका वा विभिन्न कारणले रिसाएकाहरु पनि हुनसक्छन्।

यस्ता तमाम परिस्थितिहरुलाई मध्यनजर गरेरै परियोजनाको सुरक्षा संवेदनशीलतामा विशेष ध्यान दिइएको हुनसक्ने त्यहाँ खटिएको सुरक्षाकर्मीहरुले बताए। यद्यपि सुरुङको मुखमै जान नपाइए पनि केहि सय मिटर परबाट स्पष्टै देखिने हिसाबले अवलोकनको क्षेत्र तयार पारिदिएको ती सुरक्षाकर्मीले स्पष्ट पारे।

त्यसबाहेक सुरुङबाट पानी झरिसकेको भए पनि यो अझै परीक्षणकालमै रहेको इन्जिनियर विवेक बताउँछन्।

‘पानी त सफलतापूर्वक काठमाडौंमा झरिसकेको छ,’ उनले भने, ‘तर, त्यसले भित्रभित्रै के प्रभाव पारिरहेको छ भन्ने बुझ्नु जरुरी हुन्छ। त्यो प्रभाव हेर्नुका साथै विश्लेषण पनि हुन्छ। त्यसले देखाउने असरहरु सच्याइसकेपछि त्यसपछि बल्ल सुचारु हुने हो।’

कतै चट्टानहरुको अवस्था त कतै माथिबाट मूल फुटेर आएको अनि कतै सुरुङमै चुहावटको सम्भावित समस्या जस्ता कुरामा अहिलेसम्म तथ्यांक र अध्ययनहरुलाई आधार मानेर विश्लेषण गरिरहेकामा अब चाहिँ फिल्डमै पानी आइपुगेको अवस्थामा थप गहनताका साथ यसको अध्ययन भइरहेको उनले जानकारी दिए।

पोहोर असारमा भने सुरुङभित्रको ढोका उल्टो हिसाबले लगाइएकै कारण पानीको दबाब नटबोल्टले झेल्न नसकेर विष्फोटजस्तो अवस्थामा पानी बाहिरिएको थियो। त्यो दुर्घटनामा आयोजनाका चालक र इन्जिनियरले ज्यानै गुमाएका थिए।

‘तर, अब भने अहिलेसम्म त्यस्ता कुनै समस्या देखिएका छैनन्,’ उनले ढुक्क हुँदै भने, ‘उता पाइप ओछ्याउने काम सम्पन्न भएपछि उपत्यकाका धाराहरुमा पानी जानसक्नेगरि काठमाडौंसँग पानी जम्माहुने आधार तयार भइसकेको छ।’

यतिबेला सुन्दरीजलस्थित आयोजना क्षेत्रमा एउटा स्वदेशी र अर्को विदेशी गरेर दुइवटा निर्माण व्यावसायीको टोलीले काम गरिरहेको दृश्य पनि देखिन्छ। निर्माणका काममा खटिएका करिब सय कर्मचारीबाहेक परियोजना र परामर्शदाताका कर्मचारीहरु पनि यहाँ सक्रिय छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?