
फ्रान्समा एक अभिनेत्रीले सीजार अवार्डमा नग्न भएर प्रदर्शन गरेकी छन्।
अवार्ड वितरणका लागि मञ्चमा बोलाइएकी अभिनेत्रीले कोरोना भाइरसको महामारीका कारण थलिएको कला तथा साँस्कृतिक क्षेत्रमा सरकारी सहयोग पर्याप्त मात्रा नभएको विरोधमा प्रदर्शन गरेकी हुन्।
५७ वर्षे अभिनेत्री कोरिने मासिएरो मञ्चमा रगत लत्तपतिएको डंकी (गधा) को कस्ट्युममा आएकी थिइन्। फ्रान्सको अस्कर अवार्डका रुपमा लिइने सीजार अवार्ड समारोह शुक्रबार संक्रमण नियन्त्रणका सम्पूर्ण सावधानी अपनाएर भएको थियो।
मञ्च पुगेकी हुनले रगत लत्तपतिएको कस्ट्युम फुकालेर नग्न भइ प्रदर्शन गरेकी हुन्। कोरोना भाइरसको महामारीका कारण फ्रान्समा तीन महिना भन्दा बढि समय सिनेमा हलहरु बन्द भएका थिए।
अभिनेत्री मासिएरोलाई बेस्ट कस्ट्युमको अवार्ड प्रदान गर्नका लागि मञ्चमा बोलाइएको थियो।
तर उनले आफ्नो लुगा फुकालेर सबैलाई आश्चर्यमा पारिन्। उनको लुगामा ‘नो कल्च, नो फ्युचर’ अर्थात ‘सँस्कृति बिना भविष्य छैन’ लेखिएको थियो।
उनले प्रधानमन्त्री जेन कास्टेक्सलाई सम्बोधन गरि ढाडमा ‘गिभ अस ब्याक आर्ट, जेन’ नारा पनि शरीरमा लेखेकी थिइन्।
अवार्ड समारोहको क्रममा अरु अभिनेता–अभिनेत्री तथा निर्देशकहरुले सरकारबाट सहयोगको अपिल गरेका थिए। अभिनेत्री मासिएरोले भने त्यो भन्दा अघि बढेर विरोध प्रदर्शन गरेकी हुन्।