
सिमकोट-भरखरै सरुवा भएर जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जनताले खाद्यान्न किनेर लिन्छु भन्दा पनि नपाईनु बिडम्वना भएको बताएका छन्।
जिल्लामा आएपछि सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा हुम्लामा समस्याको रुपमा रहेको खाद्यान्न समस्याका बारेमा बोल्दै प्रजिअ आचार्यले सो कुरा बताएका हुन्।
अहिलेको जमाना पनि सडक यातायात नजोडिएको हुम्ला जिल्लामा हवाई मार्गबाट ढुवानी भएर आएको खाद्यान्नलाई जनताले किनेर लिन्छु भन्दा पनि नपाइएको देखिएकोमा प्रजिअ आचार्यले दुख ब्यक्त गरेका छन्।
यो सबै सडक सञ्जाल नजोडिनुको परिणती भएको बताउँदै उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुदानको खाद्यान्न मात्र बाहिरबाट आयात हुने भएको कारण जनताले प्रयाप्त मात्रमा खाद्यान्न किन्न नपाउनु बिडम्वना भएको बताए।
आफुसँग खाद्यान्नका लागि चीट माग्न आउने नागरिकलाई आफुले पाँच केजी खाद्यान्नको चीट दिन नसक्दा दुख लाग्ने उनले बताए। हाल लिमिटेडको हुम्ला स्थित गोदाममा रहेको खाद्यान्न निक्कै कम मौज्दात भएको कारण समस्या हुने देखिएको उनले बताए।
सीमित कोटाको खाद्यान्नले वर्ष भरि बितरण गर्नु पर्ने भएको कारण खाद्यान्न समस्या हुने गरेको छ। अर्को लिमिटेडले हुम्लाको माग अनुसार खाद्यान्न कोटा नदिदा पनि समस्या हुने गरेको हो।
एक अर्को प्रसंगमा प्रजिअ आचार्यले जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सबै उपाय अवलम्बन गर्ने बताए।