
काठमाडौँ- पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता भाँडिएपछि नेकपा एमालेका असन्तुष्ट माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गतेलाई निर्धारित राष्ट्रिय कार्यकर्ता भेला हुने स्पष्ट पारेको छ।
ओली पक्षसँग सोमबार भएको वार्ता बिना निष्कर्श टुंगिएपछि अपरान्ह नयाँ बानेश्वरस्थित अर्याल होटलमा भएको नेपाल पक्षीय नेताको भेलापछि नेता रघुजी पन्तले भने- अब हाम्रो राष्ट्रिय कार्यकर्ता भेला हुन्छ
सोमबार दिउँसो नेकपा एमालेभित्रका केपी ओली पक्षधर र माधव नेपाल पक्षधर पार्टी मुख्यालय धुम्बाराहीमा वार्तामा बसेका थिए।
सर्वोच्च अदालतले नेकपाको एकीकरण भत्काइदिएपछि एमालेका ओली र नेपाल पक्षधर पहिलोपटक बैठक बसेका हुन्।
झण्डै चार महिनापछि, पार्टीका असन्तुष्ट नेपालसहितका नेताहरुसँग ओलीले सोमबार धुम्बाराहीमा वार्ता गरेका थिए।
पार्टी कार्यालयमा भएको वार्तामा नेपाल समूहले फागुन २८ गते गरेका सम्पूर्ण निर्णयहरु फिर्ता लिनुपर्ने माग राखेपनि त्यस विषयमा ओली प्रवेश नै गरेनन्।
सर्वोच्च अदालतले नेकपा नाम बदर गर्दै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि तत्कालिन एमालेका अध्यक्ष ओलीले पार्टीको बैठक बोलाएर २३ केन्द्रीय सदस्य थप, ७० वर्षे उमेर हद हटाउनेलगायत महत्वपूर्ण निर्णय गरेका थिए। पार्टीका असन्तुष्ट नेपाल समूहका नेताहरुलाई जिम्मेवारीबाट हटाइएको पनि थियो।
ओलीले मंगलबार चियापान कार्यक्रम राखेका छन्। ओली समूहले चैत ७ गतेका लागि बोलाएको केन्द्रीय समिती बैठकमा नेपाल समूहलाई उपस्थित हुन बारम्बार आग्रह पनि गरिरहेका छन्।
यसअघि प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि तत्कालीन नेकपामा पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल, झलनाथ खनाललगायत थुप्रै नेताहरुले असन्तुष्टि जनाउँदै विरोध गरेका थिए। प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेयता ओलीले नेपाल र उनी पक्षका नेताहरुलाई निरन्तर कटाक्ष गरिरहेका छन्।
ओलीले पार्टीभित्रैबाट असहयोग र अप्ठेरो भएपछि प्रतिनिधी सभा विघटन गरेको अभिव्यक्ति दिने गरेका थिए। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय सर्वोच्च अदालतले उल्टाई दिएपछि तत्कालीन नेकपा फुटको संघारमा पुगेको थियो। तर नेकपा नाम बदर हुँदै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि राजनीतिक कोर्स नयाँ दिशामा अगाडि बढेको छ। त्यसपछि खासगरी प्रचण्ड समूहमा रहेका एमाले नेताहरु आफ्नो पुरानै पार्टीमा गएर संघर्ष गर्ने निर्णयमा पुगेका थिए।