
अमेरिकी राष्ट्रपति जो बाइडेनकाे मन्त्रीमण्डलमा आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी आदिवासी अमेरिकी महिलाले पाएकी छन् ।
माथिल्लो सदन सिनेटले आन्तरिक मामिला मन्त्रीका लागि मनोनित डेब हाल्याण्डको नाम स्वीकृत गरेको हो । सिनेटमा उनको पक्षमा ५१ तथा विपक्षमा ४० सिनेटर रहे।
सार्वजनिक जमिनको व्यवस्थापन तथा सुरक्षाको मामिला हेर्ने मन्त्रालयको जिम्मेवारी पाएकी हाल्याण्ड सो मन्त्रालयको जिम्मेवारी सम्हाल्ने पहिलो नेटिभ (आदिवासी) अमेरिकी बनेकी छन्।
आदिवासी अमेरिकी सम्बन्धी मुद्दामा यो मन्त्रालयको भूमिका महत्वपूर्ण रहन्छ। यस्तै उनी मन्त्री पदमा पुग्ने पहिलो आदिवासी अमेरिकी पनि बन्ने छिन्।
न्यू मेक्सिकोकी सांसदलाई मन्त्री पदमा मनोनित गर्नु पर्ने भन्दै आदिवासी अधिकार समूह तथा प्रगतिशील डेमोक्र्याटहरुले पछिल्ला हप्तामा दबाब दिँदै आएका थिए।
जलवायु परिवर्तन सम्बन्धी मुद्दाहरु सम्बोधनका लागि आन्तरिक मामिला मन्त्रालयको भूमिका महत्वपूर्ण हुने र त्यसको जिम्मेवारी पाउँदा सम्मानित महसुस गरेको हाल्याण्डले बताएको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
६० वर्षकी हाल्याण्ड लागुना पुएब्लो समुदायकी हुन्। उनी सन् २०१८ मा तल्लो सदनको सांसदका रुपमा निर्वाचित भएकी हुन्। उनी ती दुई सांसदमा पर्छिन् जो आदिवासी महिलाका तर्फबाट सांसदमा पहिलोपटक निर्वाचित भए।
तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले हाल्याण्ड संसदका प्रभावशाली सदस्यहरु मध्ये पर्ने बताउने गरेकी छन्।