
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्र आग्रह गरेका छन्।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफूले आग्रह गरेको जानकारी दिए।
प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्तरविरोध समाधान गराउन भूमिका खेल्नुपर्ने पनि उननको भनाइ छ।
उनले भने, ‘अब तपाईंको नेतृत्वको सरकार अनि त्यसको समर्थनमा वामपन्थीहरु नआउने सरकार, त्यसरी नचलाउनुस्। तपाईले आह्वान गर्नुस् कि हामी फेरि पनि वामपन्थी सरकार दिन चाहन्छौँ। त्यसो भएर नेपालका कम्युनिष्ट पार्टीहरु सबैसित म हार्दिक आह्वान गर्छुकि हामीसित वार्तामा आउनुस्, सँगै बसौँ र देशलाई अगाडि बढाउनको निम्ति हातेमालो गरौँ भन्नुस् र वामपन्थी सरकार बनाउने हो भने त्यसको फेरि पनि मुख्यशक्ति नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) हुनेछन् र तपाई्ले प्रचण्डलाई बोलाएर तुरुन्तै अनुरोध गर्नुस्।’
अब नयाँ शिराबाट अघि बढ्नुपर्ने उनको भनाइ छ। एमालेभित्रको विवाद समाधानका लागि सबैलाई सम्मानजनक व्यवहार गर्नेपर्ने गौतमले बताए।
उनले भने, ‘एमालेभित्रै अहिले समस्या देखियो। मुख्य व्यक्तिहरुलाई बोलाएर तपाइले अनुरोध गर्नुस्। अत्यन्त सम्मानपूर्ण व्यवहार गर्नुस्। र हामी फेरि एकताबद्ध भएर जान्छौँ। हामीले गर्नुपर्ने काम धेरै छन् र त्यो राष्ट्रिय जिम्मेवारी नेकपा(एमाले) को हो। त्यो एमालेको जिम्मेवारी हामीले एकताबद्ध गरेर मात्रै पूरा गर्न सक्छौँ। त्यसो भएर तपाइले यो आह्वान गर्नुस्। शुरु गर्नुस् भनेर मैले अनुरोध गरेँ।’
गौतमले माधव नेपाल समूहले छुट्टै गतिविधिहरु सञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्नका लागि प्रधानमन्त्री ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधान विपरित निर्णय फिर्ता गर्नुपर्ने बताए। नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई राजनीतिक संयुक्त मोर्चामा ल्याउने गरी आफू अगाडी बढेको गौतमको भनाइ छ।