एमाले महासचिव ईश्वर पोखरेलसँगको अन्तर्वार्ता

प्रचण्डले एमालेमा कलह सल्काए: ईश्वर पोखरेल

+
-

काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी भित्र विभिन्न कारणले श्रृजना भएका अन्तरविरोध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले “सेकतापका” गरेका कारण उत्पन्न भएको बताएका छन् ।

पार्टी अध्यक्ष एवं महासचिवले भेला नगर्न दिएको निर्देशन विपरित वरिष्ठ नेता माधव नेपाल र नेता झलनाथ खनाल पक्षले राष्ट्रिय कार्यकर्ता आयोजना गरेको उनले बताए । अन्तरविरोधहरुमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त दाहालले एमालेभित्रकाअन्तरविरोधलाई प्रयोग गरेको आरोप उनले लगाएका छन् । नेकपा एमाले महासचिव पोख्रेलसँग गरिएको कुराकानी।

नेकपा एमाले भित्र के भएको हो अहिले ?

नेकपा एमालेभित्र भएका कुरा सार्वजनिक नै भइरहेको छ । तर यसको कारण बुझ्न खोज्नुभयो भने त्यसका दुईवटा पाटा छन् । पहिलो पाटो भनेको हिजो नेकपा एमाले र माओवादी केन्द्रको बीचमा जुन किसिमले पार्टी एकिकरण भएको थियो, स्वरुपमा हेर्दा त्यो अत्यन्तै राम्रो थियो किनभने जनता र कार्यकर्ताले चाहेको, राष्ट्रिय आवश्यकता पनि पूरा हुने ।

भिडियाे:

राजनीनिक स्थायीत्वका लागि त्यसले महत्वपुर्ण भूमिका खेल्न सक्छ भन्ने हाम्रो अनुमान थियो । तर सारमा के भयो भन्दा विचारलाई व्यवस्थित गर्ने काम अलिकति भएको थिएन । संगठनलाई व्यवस्थित गर्ने काम भएको थिएन र नेतृत्वको मामिलामा व्यवस्थित गर्ने काम भएको थिएन ।

किन त्यस्तो आलोकाँचो निर्णय भयो त ?

किन त्यस्तो भयो त भन्दा पार्टी एकीकरण गर्ने सन्र्दभमा जुन नेतृत्व केन्द्रहरु थिए, ती केन्द्रहरुमा रहेका आग्रहहरु हावी भए, त्यो आग्रहहरु हावी भएका कारणले त्यो महान र पवित्र एकता परिपक्को हुन नपाईकनै सम्पन्न भएको थियो । त्यसकारणले के भन्न सकिन्छ भने यो एकताको बेलामा जुन भ्रुणहरुमा समस्या थिए । त्यही समस्या प्रकट भयो अहिले । त्यसको उत्कर्षमा पुगेको हो अहिले ।

अर्को कारण भनेको नेकपा एमाले भित्र हिजो देखि नै लोकतान्त्रिक अभ्यास गर्ने नाममा पक्षधरता, गुटबन्दीको स्थिति थियो । त्यो गुटबन्दी माथिदेखि तलसम्म नै थियो त्यसलाई व्यवस्थित गरिसकेका थिएनौँ । त्यही व्यवस्थित गरिनसकेकै अवस्थामा हामी एकताबद्ध भयाँै । एकतावद्ध भएपनि पुर्व घटकहरु भित्र रहेको अन्तरविरोधहरु चलायमान नै थिए । त्यही अन्तरविरोध दुरुपयोग भयो र अहिले यो स्थिति आएको हो । त्यसकारणले अहिले जे भएको छ यसको पृष्टभूमिमा यो कारण हो भनेर बुझ्नु पर्छ । कारण ठिक ढंगले नबुझ्ने हो भने समाधान के हुन्छ भनेर भन्न सकिँदैन ।

केही कमजोरीका कारण आज यो अवस्था श्रृजना भयो । अब कसरी समाधान गर्नुहुन्छ ?

समाधान के हो भने अहिले जुन उचाईमा हामी पुगेका छाँै । यही उचाईमा चुनौतिहरु पनि आए । जुन उचाईमा चुनौतिहरु आएका छन् । यही उचाईमा चुनौतिको सामना गर्ने सामर्थ्य पनि हामीले आर्जन गर्नुपर्छ । त्यो सामथ्र्यको लागि एउटा भावनात्मक आधार भनेको कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउनुपर्छ यो राष्टको आवश्यकता हो । जनताको आवश्यकता हो । विगतमा हामी जो जसले कमी कमजोरी गरेको भएतापनि त्यसलाई एउटा बस्तुनिष्ट भएर त्यसको आत्म समिक्षा पनि हुनुपर्छ । आत्मसमिक्षा गर्दा आफ्ना कमि कमजोरीहरुलाई रियलाईज गर्दा सानो भईदैन । कमजोर भईदैन । झन त्यसले शक्ति प्राप्त हुन्छ ।

म सबै साथीहरुलाई के भन्न चाहन्छु भने आज यतिबेला नेकपा एमालेको नाममा जे जस्ता कुराहरु भईरहेका छन् । त्यो बढो दुखद छन् । जनता र कार्यकर्ताले मन नपराउने कुराहरु हुन् । ती मन नपराउने कुरा चाही हामीले स्टप गर्नुपर्छ र नयाँ स्तरमा एकताको लागि पहल र प्रयत्न गर्नुपर्छ । एकताको कुरा गरिरहदा हामीले के अठोट र संकल्प गर्नुपर्छ भने आन्दोलनलाई नयाँ उचाई प्रदान गर्नु हाम्रो कर्तव्य हो । पार्टीलाई पनि नयाँ ढंगले निर्माण गरेर अगाडि बढाउनुपर्ने हाम्रो कर्तव्य हो । यो कर्तव्य हाम्रो कुनै बैयक्तिक ढंगले या कुनै टिम विशेषको मात्रै कुरा होइन । यो राष्टिय आवश्यकता हो । त्यसकारणले कमी कमजोरी भए हामी आफैबाट भए । अब यसलाई सच्याउने आँट पनि हामी आफैले गर्नुपर्छ ।

यसमा कुनै एउटा पक्ष निरन्तर गलत र कुनै एउटा पक्ष निरन्तर सही कदापि हुँदैन होला नि त ?

यो गल्ती कमजोरीको कुरा मात्रै होइन । पार्टीलाई वा नेतालाई, निर्णयलाई, नीतिलाई ,जुनसुकै कुरालाई पनि सतप्रतिशतमा बुझ्नु हुँदैन । सापेक्षतामा बुझ्नुपर्छ । प्रतिशतमा बुझ्नुपर्छ । कमिकमजोरीहरु भएका हुन सक्छन् । कहीँ धेरै मात्रामा कमजोरी भएका हुनसक्छन् । कहीँ कमी होलान् तर गम्भीर कमजोरी के हुन् भनेर बुझ्नुपर्छ । गम्भीर कमजोरी भए पनि त्यो नेकपा एमालेभित्र कै साथीहरुबाट भएका हुन् । त्यसलाई सच्याउने आँट गर्नुपर्छ । त्यो साहस गर्नुपर्छ । मैले अघिनै भनेँ कमजोरी सच्याएर मान्छे सानो भईदैन । यसले आन्दोलनलाई नै बल पुग्छ र व्यक्तिलाई पनि उसको मोरल हाई पनि हुन्छ । त्यो गर्नु जरुरी छ । के गर्न हुने र के गर्न नहुने भन्ने कुरा त केही आधारभूत सिमा रेखाहरु त हुन्छन् नि । जस्तो पार्टी अध्यक्ष निर्वाचित भएर केपी ओली आउनुभयो । पुर्व पार्टीको महाधिवेशनमा निर्वाचित भएको अध्यक्षको नाताले एकिकृत पार्टीको अध्यक्षको रुपमा उहाँ आउनुभयो । अब अर्को पार्टी नेकपा माओवादी केन्द्रको अध्यक्ष भएको नाताले प्रचण्ड आउनुभएको थियो । यो दुईवटा अध्यक्षको विशेष व्यवस्था हामीले गर्यौ ।

अब अचम्म कुरा के हो भने महाधिवेशन चैतमा गर्ने भनेको छ । छिटै गर्ने हो भने विशेष महाधिवेशन फागुनमै गरौ । त्यो भन्दा अझै छिटो हो भने माघ मा नै गरौ । अध्यक्ष केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिन । महाधिवेशनको तयारी गरौ, गरौ अनि त्यो नगरिकन बीचमै अध्यक्ष हट्नुपर्छ भनेर धक्का मारेर हटाउने खालको कुरा भो भने त्यो कस्तो देखिन्छ ? त्यो कुनखालको कमजोरी ? त्यो कुन खालको गल्ती ? त्यो हामीले बुझ्नु जरुरी छ ।

एउटा पार्टीको दुईवटा समुहले आआफुलाई वैधानिक भनिरहेका बेला आम जनताले कसलाई के हेरेर सही मुल्यांकन गर्ने ?

देशभरीका पार्टी कार्यकर्ताले यी विगतमा भएका कुराहरुलाई कसरी मुल्यांकन गर्ने ? यो आज वस्तुनिष्ट समिक्षा गर्नुपर्छ । आत्मालोचना गरिरहनुपर्छ भनिरहँदा यी विगतका कुरा हेर्न जरुरी छ ।

अर्को कुरा निर्वाचनका बेलामा नेकपालाई भोट दिने भनेर हामीले बामगठबन्धन बनायौ । त्यसबेला हामीले तात्कालिन नेकपा एमालेको तर्फबाट र माओवादी केन्द्रको तर्फबाट पनि प्रधानमन्त्री केपी ओली भनेरै लडियो । विभिन्न कारणले केपी ओलीको प्रतिष्ठा र लोकप्रियताको कुरा थियो । त्यसैले पनि उहाँ बिजयी बन्नुभयो । हाम्रो पार्टी बिजयी बन्यो । संसदीय दलको नेता सर्वसम्मत हुनुभयो । संसदीय दलको नेता भएपछि प्रधानमन्त्री बन्नुभयो । माओवादी केन्द्रले पनि प्रधानमन्त्रीको रुपमा उहाँलाई नै प्रस्तुत गर्यो । दुई बर्ष वित्न पाएको छैन बीचैमा प्रधानमन्त्री छोड्नुपर्छ भनेर धक्का मारेर हटाउने जस्तो खालको कुरा गर्यो भने कस्तो देखिन्छ ? यो कुरा कुन तहको बद्नियतपुर्ण कुरा हो भनेर भन्नुपर्छ ।

वरिष्ठ नेता माधव नेपाल पक्षले त नेपाल कम्युनिष्ट पार्टी माओवादी को एकता विथोल्ने काम पनि प्रधानमन्त्री ओलीबाट भएको भन्ने दाबी गर्दै आएको छ नि । त्यसलाई स्वीकार्नुहुन्छ ?

कात्तिक २८ गते एउटा अध्यक्ष पुष्पकमल दाहालको तर्फबाट अर्को अध्यक्ष केपी ओलीलाई अभियोग लगाईयो ।त्यो अभियोग अत्यन्तै संघीन छ । त्यो अभियोगले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनका लागि मात्रै नालायक होइन केपी ओली ,पार्टी सदस्य पनि रहन नसक्ने । त्यत्तिमात्रै होइन फोजदारी अभियोग लगाएर दण्डित गर्नुपर्ने खालका अभियोग , एउटा संघीन अभियोग लगाईसकेपछि एकताको जग कसरी कायम रहन सक्थ्यो ? त्यो जग कसरी टिक्न सक्थ्यो ? त्यस्तोबेलामा प्रधानमन्त्री पार्टी अध्यक्ष केपी ओलीले आफै खुमलटारमा गएर पुष्पकमल दाहालाई भन्नुभयो तपाईले जुनखालको अभियोग लगाउनुभएको छ यो अभियोगलाई म अस्वीकार गर्छु तपाईले फिर्ता लिनुहोस् । पार्टीका आन्तरिक समस्याका बारेमा छलफल गरौ । यदि गर्नुहुन्न भने आधा सताब्दीको मेरो राजनीतिक जीवन माथि धावा बोलेपछि मैले प्रतिवाद गर्नुपर्छ । जनता न्यायाधीश हुन् । न्यायदिने जनतासंग मैले जानुपर्छ भनेर उहाँले बताउनुभयो । तर त्यसलाई गम्भीरताका साथमा लिईएन ।

कुरो के हो भने अन्तरविरोधहरुमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभव्यस्त हुनुभएको पुष्पकमल दाहाल हुनुहुन्थ्यो । पूर्व एमालेभित्र विभिन्न कारणले श्रृजना भएका अन्तरविरोधहरु थिए । त्यही अन्तरविरोधलाई प्रयोग गरेर उहाँ अगाडि बढ्न चाहनुभयो । दुर्भाग्यले त्यसबेलाका नेकपा एमालेका नेताहरु पनि हिजोदेखिका संञ्चित अन्तरविरोधहरुलाई पुष्पकमल दाहाल जीको सेकताप प्राप्त गरेर अगाडि बढाउन खोज्नुभयो जस्तो लाग्छ । यो आरोप होइन । मेरो बुझाई हो ।

यो बीचमा धेरै राजनीतिक घटना भए, अबको कार्यदिशा के हो ?

हिजो नेकपा भएको कालमा जे सुकै भएको होस् । अब त २०७५ साल जेठ २ गतेको अवस्थामा हामी आईपुग्यौ । अर्थात् माओवादी केन्द्र आफ्नो हिसाबले अगाडि बढ्ने भयो र नेकपा एमाले आफ्नो ढंगले अगाडि बढ्ने भयो । त्यो पुर्व अवस्थामा आईसकेपछि अब नेकपा एमालेलाई सुदृढ गर्नका लागि कसरी जाने भन्ने हिसाबले सोच्नु जरुरी छ ।

गाउँघरतिर घरझगडा धेरै हुन थाल्यो भने मानो छुट्याउने चलन छ । अहिले मानो छुट्याएर घर झगडा मिलाउन सकिदैन ?

तनावका साथ छलफल गर्नुपर्ने विषय नै हो जस्तो लाग्दैन मलाई । सामान्य निजी पारिवारिक विषयमा पनि आजकल श्रीमान् श्रीमतीबीच सम्बन्ध राम्रो भएन भने सल्लाह गरेरै अब तिम्रो हाम्रो यो जोडी नचल्ने भो अब हामी अलग अलग रहौ भनेर भन्छन् रे । त्यो अभ्यास पनि प्रारम्भ भएको छ । राजनीतिमा त के भो र ? राजनीति यही समाजमा गर्ने हो । हाम्रा योग्यता र अयोग्यता यही समाजका मानिसहरुले जज गर्ने हुन् । त्यसकारणले यदि सम्बन्ध कायम नरहन सक्दा त सल्लाहाले नै गर्दा भईहाल्छ केही पनि फरक परेन ।

अब त्यसमा चाहिँ सम्बन्धित पक्षहरु जोजो छौँ । हाम्रो व्यवहार नचल्ने भयो । व्यवहार नचल्ने भएपछि आफ्नो आफ्नो गरौ है भन्ने खालको कुरो हुन्छ नि । त्यसो भन्न पनि सकिन्छ । अब हेरौ कसरी जान्छ ?

नेकपा एमालेको महासचिवको नाताले म के भन्न चाहन्छु भने हामीले त्यसो गर्नु भन्दा पनि अहिलेको अवस्थामा भर्रसख आफ्ना कमिकमजोरीहरु के हुन् ति कमीकमजोरीहरु सच्याउने , आत्मसमिक्षा गर्ने , यसलाई जीत र हारको विषय बनाउनु हुदैन । हामीले गल्ति गर्यौ । हामीले नै गर्यौ । ठिक गर्यौ हामीले नै गर्यौ । गल्ति कमजोरीको नोक्सानी हामी सबैले नै व्यहोर्नुपर्ने । लाभका अंसियार पनि हामी आफै हौ ।
दोश्रो कुरा …यो नै सबैभन्दा उत्तम र गर्नुपर्ने कुरा हो । म सबै साथीहरुलाई यही आग्रह गर्न चाहन्छु । त्यसलाई कुनै तनाबमा इरिटेसनमा र कुण्ठा पालेर, द्वेष भावका साथ प्रस्तुत नभईकन लागेका कुरा खुलस्त भन्नुपर्छ । त्यो भन्दा फरक ढंगले जानुहुदैन । कमिकमजोरी छन् भने पनि वीथ डिउ प्रोसेस सच्याउने के के कुरा हुनसक्छ सच्याउनु पर्छ । यसरी जानुपर्छ भन्ने मलाई लाग्छ । होइन यदि त्यसरी जान नसक्ने हो भने पनि किन हामीले तत मम गरिरहन पर्यो र ? राजनीति आफ्नो स्वेच्छाले गर्ने हो । एउटा मान्यतालाई लिएर हामीले राजनीति गर्ने हो । देश र जनताको नाममा राजनीति गर्ने भनिसकेपछि के गर्दा इजअफ माइण्ड (मनको चैन) हुन्छ । त्यस अनुरुप गर्न सकिन्छ ।

दुई समूहको आ आफ्नो अडानले आफ्ना कार्यकर्ता कतै भड्किएलान् कि भन्ने चिन्ता छैन ? के बुझ्ने एमालेको सामान्य मतदाताले ?

यो हाम्रो पार्टीको जीवन कस्तो छ भने । हामीले अनेक उतारचढाव झेलेका छौ । उतारचढाव भोगेका छौ । हामीसंग एकता, फुट अनि जुटका पनि अनुभव छन् । एकता गर्दाको अनुभव पनि छ । एकता टुटेर दुख पाएको अनुभव पनि छ हामीसंग । अनि ती अनुभव प्राप्त गरेका नेता साथीहरु पनि हुनुहुन्छ हामीसंग । हाम्रो पार्टीले अनेकखालका उतारचढावहरु झेल्दै आएको छ । हामीले यस्तो अप्ठ्यारो अवस्थामा धैर्यता राख्नुपर्छ । संयमता राख्नुपर्छ । एकले अर्कालाई आरोप लगाउने जस्तो मात्रै कुरा गर्नुहुदैन । हामीले यतिबेला पार्टी आन्दोलनलाई अगाडि बढाउने विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने जरुरत छ । आज नेकपा एमालेको जीवनमा देखा परेको यो कुराले हामीलाई यो पार्टीको नेतृत्वमा अगाडि बढेको आन्दोलनलाई कसरी अगाडि बढाउने , यसमा आधारित भएर पार्टीलाई कसरी अगाडि बढाउने ? हाम्रो पार्टीको राजनीतिक कार्यदिशा र पार्टी निर्माणको दिशा के हो ? त्यसमा केन्द्रीत भएर बहस छलफल केन्द्रीत गर्ने । हामीले कुनैपनि किसिमको अधिनायकवाद मञ्जुर गर्दैनौ भन्दछौ । हाम्रो संगठनात्मक सिद्धान्तमा कतिपय चाही अधिनायकवादको गन्ध आउने केही कुरा छन् भने त्यो अभ्यासलाई पनि पुन व्यवस्थित गर्नुपर्ने जरुरत छ । पार्टीले सरकार सञ्चालन गर्ने भनेको कुन किसिमले हो ? हाम्रो जस्तो देशको विशिष्ठ अवस्थामा पार्टीले सरकार चलाउने भन्नाले के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरालाई ख्याल गर्नु जरुरी छ । र लोकतान्त्रिक अभ्यासको नाममा हामीले विगतमा जे जे कुरा गरेका छौ त्यसलाई पनि रिभिज गर्नुपर्ने जरुरत छ ।

नेकपा एमाले भित्र अहिले देखिएको अन्तरसंघर्षको निकासले कस्तो स्वरुप लेला आकलन गर्न सकिने अवस्था छैन । महासचिवको हैसियतले के भन्नुहुन्छ ?

देशभरीका कार्यकर्ता र नेकपा एमालेलाई माया गर्ने सबै साथीहरुलाई भन्न चाहन्छु यतिबेला उत्तेजना र आवेशबाट होइन ,संयमता धैर्यताका साथमा हामीले अगाडि बढ्नुपर्छ । र विगतका अनुभवहरुलाई पनि सम्झना गर्नुपर्छ । पार्टी एकता सबैभन्दा ठूलो चीज हो । एकतामा आँच नपुगोस् भन्नका लागि हामी सबैले संयमता धैर्यताका साथ अगाडि बढेर, अब नयाँ ढंगले पार्टी आन्दोलनलाई कसरी अगाडि बढाउने, यो चुनौतिलाई कसरी सामना गर्ने भन्ने बारेमा सोच्नुपर्छ । सबै साथीहरुलाई म भन्न चाहन्छु, चुनौतिका गर्भभित्र अवसरहरु नि लुकेका हुन्छन् । त्यो अवसरलाई चिर्नुपर्छ । त्यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने काम गर्नुपर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?