
दाङ – लमही–६ ढिकपुर गाउँमा आगोले पग्लिएका भाँडाकुँडा सग्लो छैनन् । साइकल, स्टिल दराज, टिनका बाकस कामै नलाग्ने भएका छन् ।
मजदुरी गरेर बचाएको धेर थोर पैसा, गहना बाकसमा थियो । तर, अङ्गार परेको बाकसबाट के नै भेटिन्थ्यो र ? भेटिने त त्यहीँ अङ्गार नै हो ।
तीन दिनअघि आगलागी हुँदा घरबार बिहीन भएकी भारती चौधरी र उनको १२ जनाको परिवार अहिले गोठमा सरेको छ ।
भारतीको ठूलो परिवार छ । गोठमा सरेको परिवार अब घरमा कहिले फर्किने आशामा बसेको छ ।
‘घर जलेर खरानी भयो । रात त बिताउनु पर्यो । अनि गोठमा बस्न थाल्यौँ’उनले भनिन्, ‘म खेतमा काम गर्न गएको बेलामा आगो लाग्यो । एक मुठ्ठी चामल बचाउन सकिएन ।’
खरको छानो भएको घर थियो । सिठा र माटोले लिपेर भित्ता जोडिएको थियो । आगोले खरको छानो र सिठाले बेरेको घर छिनभरमै निल्यो ।
‘घर जलेर खरानी हुँदा ठूलो पीर परेको छ’ दिनेश चौधरीले भने, ‘हाम्रो परिवार भाइको घरमा सरेको छ । छिट्टै घर बनाएर बस्ने मन छ । तर, कसरी बनाउने घर ।’
आगलागी पिडितहरुलाइ अव घर कसरी बनाउने भन्ने चिन्ता छ । साझ बिहानको छाक टार्न ज्याला मजदुरी गर्ने गरिब विपन्न परिवारलाई आगलागीपछि अर्को समस्या थपिएको छ । ‘टिनको छानो भएको भए घर आगोबाट जोगिन्थ्यो की’ चौधरीले भने ‘सरकारले घर बनाइदिए जाति हुन्थ्यो ।’
नेपाल रेडक्रस सोसाइटी, लमही नगरपालिका, लमही जेसीज, स्थानीय गाउँलेले पहिलो चरणमा भाँडाकुँडा, त्रिपाल, लत्ताकपडा, खाद्यान्न सहयोग गरेका थिए ।
त्यो तत्कालको लागि राहात भएको र पछि पुनःस्थापनको लागि विपद व्यवस्थापन कोषबाट सहयोग हुने लमही–६ का वडा अध्यक्ष गणेशमान चौधरीले बताए । ‘अब घर बनाउनेगरि सहयोग जुटाउदै छौँ’ उनले भने, ‘सबैको साथ सहयोगले यो बस्तीको मुहार फेर्ने छौँ ।’
वलिराम चौधरी, रेशमबहादुर बुढा, प्रेम चौधरी, दिनेश चौधरी, सर्जु चौधरीको घर आगलागीका कारण जलेर नष्ट भएको थियो ।