काठमाडौँ- नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध माधवकुमार नेपाल पक्षले पछिल्लो दुई दिन आफ्नो शक्तिको लेखाजोखा गर्यो।
बुधबार र बिहीबार ललितपुरको हेरिटेज गार्डेनमा नेपाल पक्षका ४ हजारभन्दा धेरै नेता तथा कार्यकर्ता उपस्थित भएर ओली सच्चिनुको विकल्प नभएको निष्कर्ष निकाले।
यो निष्कर्ष निकाल्नेमा हालका नेता तथा कार्यकर्ता मात्रै नभई राष्ट्रिय राजनीति र पार्टीले बिर्सिएका अर्थात ओझेलमा परेका ‘पाका’ नेताहरु पनि थिए।
नेपाल पक्षको भेलाको सुरुवातदेखि अन्तसम्म प्रमुख आकर्षणका पात्रहरु पनि बने उनीहरु। ओली प्रवृतिविरुद्ध सार्वजनिक रुपमै उनीहरु उभिँदा नेपाल पक्षले राहत महशुस गरेको बुझिन्थ्यो।
अर्कोतिर ‘पाका’ नेताहरुलाई आफ्नो पक्षमा मञ्चमा उभ्याएर नेपाल पक्षले ओलीलाई चुनौती पनि दिएको छ। नेता नेपालले आफ्ना सम्बोधनहरुमा पटक–पटक ती नेताहरुको नाम लिँदै ओलीले मुलुकको कम्युनिष्ट आन्दोलनसँगै एमाले पनि सिध्याउने रणनीतिमा लागेको दाबी गरे।
भेलाको समापनमा नेपालले आफ्नो पक्षमा आफ्ना अग्रजहरु पनि रहेको भन्दै आफू पक्षीय नेता तथा कार्यकर्तालाई ओलीप्रवृतिको भण्डाफोर गर्न निर्देशनसमेत दिए। नेपालले इंगित गरेका अग्रजहरु थिए–मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, राधाकृष्ण मैनाली, बद्री खतिवडाहरु। जीवत कम्युनिष्ट नेताहरुमध्ये सबैभन्दा पुराना नेता सिंहले मञ्चमै सम्बोधनको अवसर पाए।
मञ्चमा उक्लन, बस्न र ओर्लन असहज हुने अवस्थामा पुगेका यी नेताहरुको धारणाको उपस्थित सबैले प्रशंसा गरे। उनीहरुलाई केन्द्रमा राखेर तस्बिर कैद गर्नेहरुको भीड पनि उत्तिकै लाग्यो।
खासगरी मनमोहन अधिकारी, भरतमोहन अधिकारी, सहाना प्रधानसँगसँगै राजनीतिक यात्रा गरेका सिंहले सात वर्षअघि मात्रै राजनीतिबाट सन्यास लिएका थिए।
तर मञ्चमा उनले गरेको भाषण लोभलाग्दो भएको भन्दै कार्यकर्ताबाट उनले प्रसंशा बटुले। साथै त्यसबाट आफूहरुको आत्मबल बढेको उनीहरुको निष्कर्ष थियो।
सिंहले ओलीले आफ्ना साथीहरु, आफ्ना नीतिहरु सबै बिर्सिँदै गएको आरोप लगाए। झापा आन्दोलनको नेतृत्व गरेका नेता अधिकारीले भेलाको समापनका दिन ओलीविरुद्ध गरेको भाषण पनि आक्रमक थियो।
अधिकारीले ओलीलाई ‘हिटलर’को संज्ञा दिए। आफ्नो नेतृत्वमा झापा आन्दोलन भएको र त्यसमा ओलीको नगन्य भूमिका रहेको अधिकारीको भनाइ थियो। तर अहिले झापा आन्दोलन आफ्नै नेतृत्वमा भएजसरी ओलीले भाषण गरेको देख्दा उनलाई उदेक लाग्छ।
अधिकारीको भनाइ थियो, ‘ओलीको काम नगर्ने, गफ गर्ने प्रवृति कहिल्यै पनि मरेन। ओलीको व्यक्तिवादी शैलीका कारण कम्युनिष्ट पार्टीलाई धक्का पुगेको छ। नेपालमा त्यस्तो प्रवृति छैन। त्यसैले उहाँलाई साथ दिन आएको हो।’
आफूलाई स्वतन्त्र भनेर भनेर चिनाउन अनुरोध गरेका राधाकृष्ण मैनाली पनि ओलीविरुद्ध आक्रमक देखिन्थे। ओलीले नेपाललाई अन्याय गरेकाले नेपालको साथमा उभिएको उनको स्पष्टोक्ति थियो। मैनालीले भने, ‘ओलीको कार्यशैली ठीक छैन। उहाँले नेपाललाई अन्याय गरेकै हो। ओलीको कम्युनिष्ट आन्दोलन र एमालेमै पनि नकारात्मकताको बिगबिगी भयो। त्यसले नेपाललाई नैतिक समर्थन गर्न म आएकै हो।’
अधिकारीले ओलीबाट पछिल्लो पटक गरिएका निर्णय फिर्ता नभएको खण्डमा नेपाल पक्ष उनीबाट अलग्निुको विकल्प देखेका छैनन्। उनले भने, ‘ओलीले फागुन २८ गते नेपाल पक्षलाई अन्याय हुने गरी निर्णय गर्नुभएको छ। नेपाल पक्षका पदाधिकारी हटाउने, आफूखुसी केन्द्रीय कमिटी विस्तार गर्ने जस्ता कामहरु गर्नुभयो। यी सबै सच्चिनु पर्छ। त्यसो नभएको खण्डमा ओलीसँग नेपाल पक्षसँगै रहने परिस्थिति रहँदैन।
सिंह, अधिकारी र मैनालीजस्तै ओलीप्रति आक्रोशित थिए पुराना नेता केशरमणी पोखरेल पनि। उनलाई ओलीले पार्टीलाई एकलौटी ढंगबाट अघि बढाएको मन परेको छैन।
उनले भने, ‘ कम्युनिष्ट पार्टी जहिले पनि विधान, विधि, पद्धति, विचारबाट निर्देशित हुनुपर्छ। त्यसलाई आधार मानेर नेतृत्व अघि बढ्नुपर्छ। ओली त्यसरी अघि बढेनन्।’
पोखरेलले ओलीले आफ्नो पार्टीका ६० वटा बैठक बहिस्कार गर्नुले उनले निरुङ्कुश बन्दै गएको सन्देश जाने निष्कर्ष निकालेका छन्। ओलीले पार्टी निर्णयहरु उल्लंघन गर्नाले नेकपा पनि जीवित रहन नसकेको र नेकपा एमाले पनि संकटमा परेको पोखरेलको भनाइ छ।
मदन भण्डारीसँग लिगेसी जोडिएका मोदनाथ प्रश्रितले पनि ओली नसच्चिएमा एमाले भताभुङ्ग हुने निष्कर्ष निकालेका छन्।
उनले देशसञ्चारसँग कुरा गर्दै भनेका थिए, ‘ओली प्रवृति झाँगिदै गएमा त्यसले कम्युनिष्ट आन्दोलनलाई नोक्सान पुर्याउँछ। त्यसमा सबै सचेत हुन जरुरी छ।’
अर्कोतिर आफ्ना अनुभव र धारणा राख्न पाएकोमा यी नेताहरु दंगसमेत परेका थिए।