
काठमाडौँ – अदालतमा बिना सुनुवाइ भारतमा ४० वर्ष जेल जीवन बिताएका इलामका दीपक जैसी तिम्सिना रिहा भएपछि घर आइपुगिन्जेलसम्मको भिडियो रेकर्ड कोलकाता उच्च अदालतले हेर्न चाहेको छ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतिस थापाका अनुसार कोलकातास्थित दमदम केन्द्रीय कारागारबाट रिहा भएपछि इलामको माइ नगरपालिका १० स्थित उनको घर आइपुगेन्जेलको भिडियो अदालतले हेर्न चाहेको हो।
दीपकलाई लिएर उनका परिवारका सदस्य तथा महावाणिज्य दूतावासको टोली संभवतः शनिबार बिहान झापाको काँकरभिट्टा आइपुग्नेछ।
घरबाट हराएको ४० वर्षपछि भारतको कोलकातास्थित एउटा कारागारमा भेटिएका नेपाली पुरुष दीपक जैसी तिम्सिनालाई रिहा गर्न कोलकाताको उच्च अदालतले आदेश दिएपछि उनका भाइ प्रकाशचन्द्र तिम्सिना बिहीबार कोलकाता गएका छन्।
कर्तव्य ज्यान मुद्दामा ४० वर्ष भन्दा बढी समयदेखि भारत कोलकाताको दमदम कारागारमा रहेका दीपकलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधबार साँझ आदेश दिएको हो।
दीपकको पक्षबाट मुद्दा लडेका कानुन व्यवसायी हिरक सिन्हाका अनुसार बुधबार बिहानको सुनुवाइमा आगामी सोमबारसम्मका लागि सुनुवाइ स्थगित गरिएको थियो।
तर बुधबार साँझ अदालतले उनलाई रिहा गर्न आदेश दिएको उनले बताए।
दीपक पक्राउ परेको भारतको दार्जीलिङबाट पुराना कागजात मगाएपछि उनको मानसिक स्वास्थ्य अवस्था ठिक नभएकाले अदालतले रिहा गर्न आदेश दिएको सिन्हाले बताए।
दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए।
नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि, उनको र कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा रिहा गर्न अदालतले आदेश दिएको हो।
आवश्यक परेको खण्डमा अदालतमा उपस्थित गराउने सर्तमा दीपकलाई रिहा गर्न उच्च अदालतबाट आदेश भएको महावाणिज्य दूतावासले जनाएको छ।