
काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को पुरानै संरचनाबाट मेलम्चीको पानी काठमाडौँका धारामा पुग्ने भएको छ। यही चैतभित्र आउने मेलम्चीको पानी केयुकेएलले सञ्चालन गरिरहेको पुरानै वितरण प्रणालीबाट काठमाडौँका धारामा वितरण गरिने केयुकेएलका प्रवक्ता प्रकाश कुमार राईले जानकारी दिए।
उनले मेलम्ची खानेपानी आयोजना अन्तर्गत आयोजना कार्यान्वय निर्देशनालयले विस्तार गरेको पाइपलाइनको काम पूरा नभए पनि केयुकेएलको पुरानै सञ्जालबाट खानेपानी वितरण गरिने बताए।
उनले भने, ‘आयोजना कार्यान्वयन निर्देशनालयले विस्तार गरेको लाइन पूरा भइसकेको छैन। तर त्यो पूरा नहुँदा केयुकेएलले सञ्चालन गरिरहेको पुरानो नेटवर्कबाटै हामी पानी वितरण गछौँ।’
आयोजना कार्यान्वयनले पानी वितरणका लागि नयाँ संरचना योग्य भयो भनि संरचना हस्तान्तरण गर्नुपर्ने हुन्छ। सोही अनुसार केयुकेएलले पानी वितरण गर्ने हो। आयोजना कार्यान्वयनले कतिपय ठाँउमा नयाँ वितरण सञ्जाल सम्पन्न भइसकेको दावी गरेको छ। तर हालसम्म निर्देशनालयले नयाँ संरचना केयुकेएललाई हस्तान्तरण गरेको छैन।
तर उनका अनुसार निर्देशनालयले पानी वितरणका लागि योग्य भनेको संरचनाबाट पनि पानी वितरण हुनेछ।
‘हाम्रो प्रायः धेरै कम ठाँउमा नयाँ संरचना छन्। त्यो पनि सञ्चालन गर्ने या नगर्ने त्यो अर्को छलफलको विषय हुन सक्छ,’ उनले भने, ‘किनभने त्यो हाम्रो नेटवर्कको सम्बन्धमा अझै फाइनलाइज गर्न बाँकी नै छ। जति पनि काठमाडौँमा खानेपानी वितरण संरचना छन् ती पुरानै हुन् र त्यसबाटै पानी वितरण गरिनेछ।’
उनले थपे, ‘नयाँ संरचनाबाट पानी वितरण गर्न योग्य भनेको खण्डमा त्यो ठाँउबाट पनि वितरण गछौँ। अधिकांश ठाँउमा पुरानै वितरण प्रणालीबाट खानेपानी वितरण हुन्छ।’
बालाजु, बाँसबारी, महाराजगंज, महांकाल चौर, भैसीपाटी, ठिमी, सुन्दरीघाट लगायतका ठाँउमा पुरानै ट्याङकी रहेको र आरुबारीको नयाँ ट्याङकी सञ्चालनमा आउने उनले बताए। ‘त्योसँगै खुमलटारको पनि संचालन हुने सम्भावना देखिन्छ,’ उनले भने।
कीर्तिपुर र भक्तपुरमा रहेको ट्याङ्की काम सम्पन्न भइनसकेको अवस्था छ।
यसरी पुरानो संरचनाबाट पानी वितरण गर्दा जोखिमको धेरै सम्भावना रहने बताइन्छ। प्रवक्ता राईले पुरानो संरचना जोखिमयुक्त हुने भएकाले नै आफूहरुले त्यसको पूर्वतयारी गरिसकेको जानकारी दिए।

मेलम्चीको पानी काठमाडौँ ल्याउने पाइपलाइन । तस्बिर : बर्षा शाह/देश सञ्चार
‘पानी बढी आएर पुरानो पाइप लिकेज हुने सम्भावना बढी हुन्छ। लिकेज हुने सम्भावनालाई मध्यनजर राखेर हामीले लिकेज मर्मतका लागि छुट्टै विशेष टीम बनाएर जनशक्तिको व्यवस्थापन गरेका छौँ,’ उनले भने, ‘दोस्रो मेलम्चीको पानी वितरण लिकेज मर्मतका लागि निर्माण व्यवसायीहरुको विशेष मौजुदा सूची तयार गरेका छौँ। स्ट्याण्डबाइ छन्। त्यस्तै आवश्यक पर्ने गाडी खरिदको काम भइरहेको र खरिद गर्न नसकिँदा भाडामा लिने काम भइरहेको छ।’
यस्तै उनले जोखिसँगै उपभोक्ताको स्वास्थ्यमा पनि त्यति नै ध्यान दिएको बताए। त्यसका लागि आफूहरुले पानी पठाउने समयमा परीक्षण गर्ने र धारामा पानी झरीसकेपछि पनि परीक्षण गर्ने बताए।
‘जनस्वास्थ्यका लागि हामी सचेत नै छौँ। सधैँ सचेत छौँ। त्यसकारण हामीले पानी पठाउनु पहिले नै परीक्षण गरेर त्यसपछि ग्राहकको धारामा झरीसकेपछि पनि परीक्षण गछौँ। हाम्रै उत्पादन भएकै ठाँउमा पनि परीक्षण गछौँ,’ उनले भने।
मेलम्चीको पानी धारामा आएपछि त्यसको मूल्य पनि बढ्ने अनुमान गरिएको छ। तर प्रवक्ता राईले शुल्कका विषयमा आफूहरुलाई कुनै जानकारी नहुने बताए।
केयुकेएल खानेपानीको सेवा प्रदायक मात्र भएको बताउँदै उनले महशुल निर्धारण गर्ने अधिकार आफूहरुको नरहेको बताए। शुल्क निर्धारण गर्ने काम खानेपानी महशुल निर्धारण आयोगको हो। आफूहरुले खर्च विवरणसहित बढाउने या घटाउने सम्बन्धी स्पष्टिकरणसहित आयोगलाई प्रस्ताव पेशमात्र गर्नुपर्ने बताए।
यस्तै उनले मेलम्चीको पानी पहिलो चरणमा चक्रपथभित्र र आसपासका झण्डै दुई लाख धाराका उपभोक्ताले पाउने जानकारी दिए। तर विस्तारै अन्य क्षेत्रमा दिने उनले बताए।
खानेपानी लिमिटेडको प्रक्षेपण अनुसार काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानी आवश्यक पर्छ। सुख्यायाममा करिब १० करोड लिटर पानी आवश्यक हुन्छ रहेको छ, जुन आफूहरुले उत्पादन गरेर वितरण गरिहेको उनले बताए।
पहिलो चरणमा मेलम्ची पानी १७ करोड लिटर आउनेछ। हालको १० करोड लिटर र १७ करोड लिटर पानी मिलाउँदा २७ करोड लिटर पानी हुनेछ।
केयुकेएलको प्रक्षेपण अनुसार सो पानी चौविसै घण्टा आउने सम्भावना नभएको उनले बताए।
‘यो सँगसँगै अर्को अवस्था के देखिन्छ भने मेलम्चीको पानी १७ करोड लिटर एकैचोटि वितरण गर्ने या नगर्ने भन्ने छलफलको विषय हो। त्यसलाई परीक्षण गर्दै विस्तारै बढाउँदै छोड्दै गर्ने कि भन्ने कुरा छ। छलफल भइरहेको छ,’ उनले भने, ‘विस्तारै बढाउँदै छोड्दा जस्तो पहिलो दिन कति बढाउने, दोस्रो दिन कति बढाउने, हप्ता दिनको मेलम्चीको फुलफ्लेजको मेलम्ची नै छोड्न लाग्ने अवस्था हुन सक्छ।’
मेलम्चीको पानी आइसकेपछि पहिलेभन्दा सहज रुपमा आफूहरुले पानी वितरण गर्ने उनले बताए।