
सिमकोट– पाँच हजार मिटर अग्लो न्यालु लेकको हिउँ छिचोलेर स्वास्थ्यकर्मीको टोली लिमी पुगेर कोरोनाविरुद्धको खोप लगाउन सफल भएको छ।
दोस्रो चरणको खोप अभियानका क्रममा जेष्ठ नागरिकलाई खोप लगाउनका लागि गाउँपालिकाका अध्यक्षसहितको टोली लिमी पुगेको हो।
कोरोना खोप लगाउन पाउँदा नाम्खा गाउँपालिका– ६ हिमालपारीको गाउँ लिमीका जेष्ठ नागरिक खुसी भएका छन्। लिमी हल्जी गाउँकी ८७ वर्षकी पेमा तामाङले खोप लगाउन पाउँदा खुसी लागेको बताइन्।
यति चाँडै लिमीजस्तो दुरदराजको गाउँमा स्वास्थ्कर्मी आएर खोप लगाउन पाइएला भन्ने कल्पना नै नगरेको बेला खोप लगाउन पाएको उनको भनाइ छ।
लिमीका तीनवटा गाउँमा जेष्ठ नागरिकले उत्साहका साथ कोरोना खोप लगाएको छन्। गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाको पहलमा पाँच हजार मिटर अग्लो न्यालु लेकको हिउँ छिचोल्दै अध्यक्ष लामासहितको टोली लिमी पुगेर खोप लगाएको हो।
अध्यक्ष लामाले हिउँमा निक्कै जोखिम उठाएर लिमीका जेष्ठ नागरिकलाई खोप लगाउन स्वास्थ्यकर्मीसहित गाउँमा पुगेको बताए।
यसवर्ष हुम्लामा हिमपात कम भएको हुँदा लिमी गएर खोप लगाउने कार्य सफल हुन पाएको लामाले बताए।