
काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले सरकारविरुद्ध ‘सेटिङ’ गरिरहेको आरोप लगाएका छन्।
शनिबार बालुवाटारमा भएको आफ्नो पार्टी नेकपा एमालेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले सापकोटालाई त्यस्तो आरोप लगाएका हुन्।
बैठकमा सहभागी एक सांसदका अनुसार ओलीको सभामुख सापकोटालाई आरोप छ,‘हिजो सदन चलेको होइन भाषण चलेको हो ।
सभामुख सरकार विरोधि ‘सेटिंगमा छन। सदन सरकारविरुद्ध प्रयोग गर्न उनी सिपालु छन। संविधान कार्यान्वयन गर्ने दायित्व सभामुखको र मुद्दा लडेर आउने साथीहरुको पनि हो।’
यस्तै ओलीले सरकारले सदनमा ‘विजनेस’ दिएन भन्नु गलत भएको दाबी गरे। उनले सदनमा सरकारले अध्यादेश, विधयक धेरै नै पठाएका छौँ’ ओलीले शुक्रबार सदनमा आफ्नो राजीनामा मागेकोमा पनि आपत्ति जनाएका छन्।
उनले भने,‘राजीनामा माग्नेहरुलाई म मन नपरेको हो भने अविस्वासको प्रस्ताव ल्याए हुन्छ। तर सरकारकोविरुद्ध त्यो आउने स्थिति आउने देखिदैन।’ ओलीले थपे,‘ बरु प्रचण्ड ह्वाङ्गै, छ्याङ्गै छन्। सिन्धुलीबाट सबै कुरा छ्याङ्ग पारे। मलाई त अध्यक्ष हटाएको थियो। पार्टी बाटै हटाइएको थियो। धन्न मेरो नागरिकता पनि हटाइएन। पार्टी, झण्डा, चुनाव चिन्ह कब्जा गर्न खोज्नेहरुको स्थिति टिठलाग्दो बनेको छ। केपी ओली भएसम्म यो सपना नदेखे हुन्छ ।’
साथै ओलीले शनिबारदेखि आफ्नो पक्षमा उपाध्यक्ष गौतमलाई पनि स्वागत गरे। उनले गौतमलाई भने,‘ तपाईँले त्यस्ता अराजक र गुटबाजहरुलाई समेटेर पार्टी एकता गर्न निकै लाग्नु भयो। सायद थाक्नु भयो। अब ढुक्क भएर यो अन्दोलन बलियो बनाउन लाग्नुस्।’