
काठमाडौँ– परराष्ट्रमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले आत्मसमीक्षासहित आउने नेपाल समूहमा लागेका नेताहरुलाई पार्टीमा स्वागत गर्ने बताएका छन्।
शनिबार ओली पक्षीय केन्दीय कमिटीको बैठकका निर्णय सुनाउने क्रममा ज्ञवालीले आत्मसमीक्षासहित पार्टीमा आउनेहरुलाई उचित जिम्मेवारी दिइने बताएका हुन्।
पार्टीको निर्देशन विपरीत नेपाल पक्षले एमालेकै ब्यानरमा राष्ट्रिय कार्यकर्ता भेला गरेको भन्दै उनले त्यसलाई पार्टीले गम्भीरताका साथ लिएको बताए।
फागुन २३ गते सर्वोच्चको फैसलाअघि पार्टीमा भएका गतिविधिको बारेमा समीक्षा गर्न सकिने भएपनि त्यसपछि एमाले ब्यूँतिसकेपछिको अवस्थामा गरिएका गुटगत गतिविधि क्षम्य नहुने उनको भनाइ छ।
उनले भने, ‘निर्देशन विपरीत एमालेको ब्यानरमा गरिएको राष्ट्रिय कार्यकर्ता भेला गम्भीर र अनुशासन विपरीतको गतिविधि हो।’
शनिबारको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको उनले जानकारी दिए।
यसअघि रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोध्ने बताइएको थियो। स्रोतका अनुसार अन्तिम समयमा झाँकीलाई सोध्ने भनिएको स्पष्टीकरण रोकिएको हो।
सरकार टिकाउनकै लागि अनुचित सम्झौता नगर्ने र घेराबन्दी गरिएको अवस्थामा नयाँ शक्तिको रुपमा आउने बैठकले निष्कर्ष निकालेको ज्ञवालीले बताए।
शनिबार नै बसेको ओली समूहको संसदीय दलको बैठकले दलको विधान संशोधनसमेत गरेको छ। संसदीय दलको संशोधित विधान केन्द्रीय कमिटीबाट पारित भएको उनले जानकारी दिए।
उनले पार्टीमा हुने कुनैपनि गुटगत गतिविधिलाई स्वीकार गर्न नसकिने बैठकको निष्कर्ष सुनाए।
उनले भने, ‘पार्टीमा कुनैपनि गुटगत गतिविधिलाई स्वीकार गर्न सकिँदैन। पार्टीलाई अनुशासित बनाएर अघि लैजान्छौँ। अब गुटबन्दीलाई अध्यक्षकै भाषामा भन्नुपर्दा नो इन्ट्री।’