
झापा – भारतका विभिन्न कारागारहरूमा ४० वर्षको जेल जीवन बिताएर इलामको माइ नगरपालिका १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना (दीपक) आइतबार साँझ घर पुगे।
हराएको ४० वर्षमा जेठा छोरालाई देख्न पाउँदा उनकी ८६ वर्षीया आमा धनमाया खुशी नहुने कुरै भएन।
नयाँ कपडा, खादा/माला लगाएर शुभचिन्तक, परिवारजन तथा सञ्चारकर्मीहरूले उनलाई हातमा समातेर घर लिएर आउँदै गर्दा उनकी आमा धनमाया धेरै खुशी भइन्।
जब दुर्गाप्रसाद घर पुगे, उनी बोलेनन्। उनकी आमासँग पनि बोलेनन्।
४० वर्ष अघिको कुरा कसरी पो दिमागमा राख्न सकुन्। त्यसमाथि कारागार बाहिरको संसार कस्तो छ भनेर जान्दै नजानेका दुर्गाप्रसादबाट खुशी, अंकमाल तथा हाँसोको अपेक्षा गर्नु पनि मुर्खता नै हो।
सायद उनलाई लागेको हुँदो हो, मेरा वरपरका मान्छे को हुन्? किन मेरा अगाडि यी बस्तु (सञ्चारकर्मीका क्यामेरा, मोबाइल, रेकर्डर) देखाइरहेका छन्?
यस्तो अवस्था उनले यस अघि कहिले पनि देख्न पाएका थिएनन्। परिवार भन्ने नै के थाहा उनलाई?
घर पुगेपछि सबैको आग्रहमा उनले ‘आमा’ भनेर बोलाए। फेरि मौन रहे।
सञ्चारकर्मीहरूले धनमायालाई सोधे कस्तो लाग्यो छोरो आउँदा? उनले जवाफ दिइन्, ‘बोल्दै त बोल्दैन।’
आमाको आश छ ‘केही दिनमा सहज होला।’
साँझ पखदेखि दर्गाप्रसाद केही खुले। बिहेको कुरा गरे परिवारजनले।
दुर्गाप्रसादका कान्छो भाइका छोरा गोपालले जिस्क्याउँदै भने, ‘अब बाबु छोराको एकै दिन बिहे गर्नुपर्छ। केटी खोजौँ त!’
उनले भने, ‘नाइ नगर्ने बिहे।’
दुर्गाप्रसादका कान्छा काकाका छोरा, प्रदेश १ का प्रदेशसभा सदस्य धिरेन्द्र शर्माले साँझदेखि दुर्गाप्रसादले केही बोलेको बताए।
उनले भने, ‘उहाँले यहीँ राम्रो लाग्यो। खाना यतैको मिठो जस्ता अभिव्यक्ति दिनुभो।’
सायद अलि हुनेखाने तथा पहुँच भएका मानिस यत्रो वर्षसम्म कारागार बस्नु पर्ने थिएन होला।
भारतीय, तेस्रा मुलुकका तथा नेपालका सञ्चारमाध्यमले दुर्गाप्रसादको विषय छ्यालब्याल बनाए। अहिले सञ्चार माध्यमको पहुँच भएका तथा सामाजिक सञ्जाल चलाउने जो कोहीलाई दुर्गाप्रसादको विषय थाहा छ।
नेपालमा तीन तहको सरकार छ। सबै तहका सरकारका मानिसहरूलाई यो कुरा थाहा छ। तर यो रिपोर्ट तयार पार्दासम्म कुनै तहका सरकारका मानिसहरूले चासो दिएका छैनन्।
प्रदेशसभा सदस्य शर्माले भने, ‘अहिलेसम्म न कोही आयो न कसैले चासो दियो।’
तर अभियोग प्रमाणित नभइ ‘संसारमै नभएको’ ४० वर्षको काराबास सजाय भोगेर न गरि खानु न मरि जानु जस्तो स्थिति बोकेर दुर्गाप्रसाद घर आइपुगेका छन्।
एउटा नागरिक संसारमै नभएको काराबासको सजाय भोगेर आउँदा सरकारको मौनता किन?