
सिमकोट – हुम्लामा सिमेन्टकाे मूल्य घटेकाे छ। दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै स्थल मार्गबाट सिमेन्ट ढुवानी हुँदा मूल्य आधा सस्तिएको हो।
यसअघिसम्म एक बोरा सिमेन्टको मूल्य आठ हजार छ सय पर्ने गरेकोमा अहिले आधा घटेर त्यसको चार हजार रुपैयाँमा झरेको स्थानीय सरोज रावतले बताए।
पहिले महँगाे हवाई भाडा तिरेर नेपालगञ्ज र सुर्खेतबाट सिमेन्ट ढुवानी हुने गरेकाेमा अहिले सडकबाटै ढुवानी हुन थालेपछि सिमेन्टकाे मूल्य सस्ताे भएकाे हाे।
स्थल मार्गबाट खच्चडमा आउने सिमेन्ट पनि हवाई मार्गको भन्दा केही सस्तो पर्ने गरेको थियो । सिमेन्टको मूल्य सस्तिएसँगै अब बिकास निर्माण तथा अन्य निर्माणको लागत पनि घट्न सुरु भएको छ।
पहिले स्थल मार्गबाट खच्चडमा चार दिन लगाएर ढुवानी गरि ल्याउँदा मूल्य बढी पर्ने गरेको तर अहिले सर्केगार्डसम्म गाडीमा आएको सिमेन्ट एकैदिनमा सिमकोट आई पुग्दा मूल्य सस्तो भएको व्यापारी धनराज शाहीले जानकारी दिए।
मूल्य सस्तिएसँगै सिमेन्टको बिक्री पनि बढेको छ।