
सिमकोट– हुम्लाका दुई वटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै बस सेवा सञ्चालनमा आएको छ। सडक निर्माण भएसँगै यातायात सुचारु भएपछि कालिकोटको जितेबगरदेखि हुम्लाको बालुकुनासम्म नियमित रुपमा बस सेवा सञ्चालनमा आएको हो।
पहिलो पटक जितेबगरबाट बस चढेर हुम्ला जिल्लाको बालुकुनासम्म आएको बसका यात्रु प्रजित शाहीले बताए। सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा बस चढेर आउन पाइएला भन्ने नसोचेको भएपनि सडक बनेपछि त्यो सम्भव भएको उनको भनाइ छ।
बस पहिलो पटक हुम्लामा आएपछि स्थानीयले बाजागाजासहित यात्रु तथा चालकलाई अबिर लगाएर स्वागत गरेका थिए।
हाल कालिकोटदेखि हुम्लाको बालुकुनासम्म सञ्चालन भएको सडक कच्ची हो। यातयात नियमित रुपमा सुचारु भएपछि यात्रु, बिरामी, दैनिक उपभोग्य सामाग्री र विकास निर्माणका सामानहरु ढुवानी गर्न पनि सहज भएको छ।
कालिकोटको जितेबगरदेखि हुम्लाको सर्केगार्ड गाउँपालिका– २ को बालुकुनासम्म पहिलो पटक दैनिक रुपमा गाडी सञ्चालन आएको चंखेली गाउँपालिका–४ का दन्त शाहीले जानकारी दिए।
यातायात सञ्चालनमा आएपछि अब हुम्लाका चार वटा चंखेली, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज हुनेछ।
जितेबगरदेखि बालुकुनासम्मको १ सय ११ किलो मिटरमा सडकमा दैनिक एउटा बसले सेवा दिइरहेको छ भने भाडा एक हजार एक सय रुपियाँ लिने गरिएको छ।
बस सञ्चालन भएपछि एकदिनमै हुम्लाको बालुकुनाबाट यात्रुहरु सुर्खेत पुग्ने गरेका छन्।
सेनासँगको सहकार्यमा सो बसलाई चंखेली गाउँपालिकाको सलीसल्लासम्म पहिलो पटक ल्याइएको थियो। तर सो सडकमा यातायात सञ्चालन भने भएको छैन।
सेनाले चैत महिनाभित्र बालुकुना सलीसल्ला क्षेत्रको १२ किलो मिटर सडक पूरा गर्ने र वैशाखबाट यातायात सुचारु गर्ने तयारी गरिएको छ।