मेलम्ची आएपछि हरेक दिन धाराबाट हजार लिटर पानी!

मेलम्ची आएपछि हरेक दिन धाराबाट हजार लिटर पानी!
+
-

काठमाडौँ– काठमाडौँ अनामनगरकी अम्बिका कोइराला दंग पर्दै धारामा पानी भरिरहेकी थिइन्। नहुन् पनि कसरी! आखिर वर्षौँपछि धाराबाट धित मरुन्जेल पानी भर्न जो पाएकी थिइन्।

एकादेशको कथा जस्तै बनेको मेलम्चीको पानी धाराबाट सोझै भर्न पाउँदा उनी खुसीले गदगद् थिइन्। उनको अनुहारबाट खुसी प्रस्टै औंल्याउन सकिन्थ्यो। उनले हाँस्दै भनिन्, ‘यसरी धाराबाट पानी भर्न पाउँदा निकै खुसी छौँ। कतिका वर्षपछि यसरी पानी आइरहेको छ। हामीलाई धेरै खुसी लागेको छ।’

उनको खुसीमा थप उर्जा थप्दै उनको घरमा बहालमा बस्नेले हाँस्दै भनिन्, ‘अब आन्टीले नाच्नु पर्छ।’

उनको हाँसो छुट्यो। ‘हो नाचौँ,’ उनले भनिन्।

पानी भरेको हेरिरहेकी उनकी छिमेकीले पनि थपिन्, ‘अब घरबेटीले पार्टी दिनुपर्छ।’

यो मेलम्चीको पानी आउँदाको खुसी हो। यसअघि उनले हप्तामा एक दिन खानेपानी भर्न पाउँथिन्। तर कति बेलासम्म आउने हो, कतिबेला सकिने हो थाहा नै हुन्थेन उनलाई। घरमा बहालमा बसेकालाई नि पुर्‍याउनु पर्ने।

तर पनि त्यो पानी पुग्थेन। पिउनका लागि आफूहरुले जारको पानी किन्ने गरेको उनले बताइन्। लत्ताकपडा धुन भने इनारको पानी प्रयोग गरिरहेको उनी बताउँछिन्।

उनको जस्तै सोही ठाँउकी शान्ता श्रेष्ठको पनि भोगाइ छ। उनकोमा पनि हप्तामा एक दिन खानेपानी आउँथ्यो। अरु बेला जमिनमुनिको पानीले नै काम चलाउँथिन्। खानका लागि जारको पानी।

आइतबारदेखि आएको मेलम्चीको पानी सोझै धाराबाट पानी भर्न पाउँदा उनी पनि दंग थिइन्। उनले यसका लागि सरकारलाई धन्यवाद पनि दिइन्।

‘हामीले पानी पाएका छौँ। सरकारलाई धन्यवाद,’ उनले भनिन्, ‘पानी सबैले खान पाउनु पर्छ। यो पानी सबैलाई दिनुपर्छ। सबैको अधिकार हो।’

उमेरले करिब ६ दशक नाघेकी उनले अनामनगरमा पानीको धेरै समस्या भोगेको सुनाइन्। पानीको समस्या धेरै हुने ठाँउमध्ये अनामनगर पनि एक हो। उनलाई आशा छ, ‘मेलम्चीको पानी चौविसै घण्टा आउनेछ।’

शान्ता श्रेष्ठ।

उनको जस्तै आशा अम्बिका खतिवडाको पनि छ। उनी पनि पानी आउदा खुसी छिन्। तर यो खुसी कति दिनलाई हो भन्नेमा उनको शंका छ।

‘पानी कहिलेसम्म आउने हो कुन्नि। यो अहिले परीक्षण हो भन्छन्। सधैँ आउने हो वा होइन,’ उनले भनिन्, ‘यो पानी पिउन मिल्छ या मिल्दैन। थाहा नै छैन।’

उनले पनि अरु जस्तै पिउनका लागि जारको पानी र अन्य कामका लागि ट्युबेलको पानी प्रयोग गर्थिन्।

पानी परीक्षणका क्रममा करिब एक महिना अनामनगर क्षेत्रमा चौविसै घण्टा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी छोड्ने छ। त्यसपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बानेश्वर शाखाले कसरी वितरण गर्ने भनेर तालिका बनाउने छ।

अम्बिका खतिवडा।

कतिपयका लागि खानेपानी आउँदा खुसीको क्षण भएपनि कतिका लागि भने दुःखको क्षण भएको छ। अनामनगरकै कुमारी रजन मगर भने आफ्नो धारामा पानी नआउँदा दुःखी छिन्।

मेलम्चीको पानी आउने कुरा सुनेर नै कुमारीका श्रीमान् क्षेत्रबहादुर रजन मगर २०७४ सालमा वडाको सिफारिस बनाएर बानेश्वरस्थित केयुकेएलको शाखामा पुगे। उनले धारा जडानका लागि सबै कागजात बुझाए। तर केयुकेएलका कर्मचारीहरुले मेलम्चीको पानी आउँदा धारा जडान गर्नु भन्दै उनलाई घर पठाएको उनले बताए। यो करिब ४ वर्ष अघिको कुरो हो।

‘मैले धारा जडानका लागि वडाबाट १० हजारको रसिद काटेर सिफारिस बनाएर खानेपानीमा गएँ,’ उनले भने, ‘त्यहाँ कर्मचारीहरुले सबै कागजात लिए र भने अहिले धारामा पानी आउँदैन। मेलम्चीको पानी आएपछि जडान गर्नु भनेर कागजात आफै राखेर मलाई फर्काए।’

क्षेत्रबहादुर रजन मगर।

उनी भन्छन्, ‘मेलम्चीको पानी आउने कुरा भएपछि म फेरि खानेपानी गएँ। उनीहरुले मलाई सिफारिसको म्याद सकियो। फेरि सिफारिस बनाएर ल्याउनु भनेँ। म फेरि वडा कार्यालय गएँ। सिफारिस बनाएँ। फेरि पाँच हजारको रसिद काट्न लगाए। त्यो पनि गरेँ। त्यसपछि खानेपानी गएँ। तर त्यहाँ भोलि आउनु भनेर मात्र भन्छन्। अहिलेसम्म काम भएको छैन। धाउँदा धाउँदा दिक्क लागेर जानै छोडिसकेँ। सबैको घरमा पानी आयो हाम्रो घरमा आएको छैन।’

उनले गत फागुन १९ गते वडा कार्यालयमा पाँच हजारको रसिद काटेर अर्को सिफारिस बनाएका छन्।

मेलम्चीको अनुगमन गर्ने टोलीले केयुकेएको कार्ड नभएको भन्दै धारा शिल गरेको उनले बताए।

‘हामीले सबै काम गर्दा पनि पानी खान पाएनौँ,’ उनले भने, ‘तर बाटोमा पानी यतिकै खेर गइरहेको छ।’

मेलम्चीको पानी वितरण जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले हिजो आइतबारदेखि काठमाडौँबासीको घरघरमा पानी वितरण सुरु गरेको हो।

सुन्दरीजलबाट पठाइएको पानी दिउँसो महांकालको ट्यांकीबाट देवकोटा सडक, बत्तिसपुतली, जयबागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोर्ट हाइट, धनवन्तरी मार्ग लगायत क्षेत्रका धारामा पठाइएको थियो। त्यस्तै साँझतिर बानेश्वर (मीनभवन) र अनामनगरको पानी ट्यांकीमा जोडिएका वितरण लाइनबाट पानीको वितरण सुरु गरिएको थियो।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले अनामनगरमा आइतबार पाँच सय धारामा पानी छोडिएको र सोमबार थप दुई सय धारामा पानी छोडिने जानकारी दिए।

उनका अनुसार प्रशोधन गरेर पिउन योग्य बनाइएको चार करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा हालिएको छ।

उनले अब दुई–दुई दिनको अन्तरमा बालाजुस्थित पानी पोखरी, बाँसबारी र महाराजगञ्जस्थित पानी ट्यांकीहरुबाट पानी वितरण गरिने बताए।

उनले खुमलटारको ट्याङकीबाट आइतबार चापागाँउ दोबाटो, लगनखेलमा पानी छोडिएको हो भने सोमबार भनिमण्डल तथा जाउलाखेलमा र भोलि सानेपातिर पानी छोडिने पनि जानकारी दिए। सो ट्याङ्की नयाँ हो। त्यसपछि कीर्तिपुर, ठिमी, भक्तपुरस्थित ट्यांकीहरु बनेपछि पानी वितरण गरिने छ। केयुकेएलको पुरानै संरचनाबाट आइतबारदेखि पानी वितरण सुरु गरिएको हो।

काठमाडौँमा करिब ११ सय किलोमिटर बिछ्याइएका नयाँ वितरण लाइनमा पनि परीक्षण गर्दै पानी छोड्दै जाने योजना रहेको प्रवक्ता राईले बताए। उनका अनुसार यस परीक्षणका लागि दैनिक ३ देखि ४ करोड लिटर पानी छुट्याइने छ।

अहिलेसम्म केयुकेएलले साप्ताहिक तालिका अनुसार आफ्ना ग्राहकहरुलाई पानी वितरण गर्दै आएको छ। अब मेलम्चीको पानी वितरण सुरु भएपछि दैनिक वा दिन बिराएर तालिका अनुसार पानी दिने पनि उनले बताए।

‘हाल केयुकेएलका २ लाख ३० हजार ग्राहक छन्। तर काठमाडौँमा एउटा घरमा थोरै मानिस त बस्दैनन्,’ उनले भने, ‘त्यसैले केयुकेएलले एक घरमा १० जना मानिस बस्छन् भन्ने आधारमा प्रतिव्यक्ति औसत १०० लिटरसम्म पानी दिन सकिने छ।’

भौगोलिक बनावटका कारणले सबैको घर तथा कार्यालयमा समान हिसाबले पानी वितरण गर्न नसकिने उनले बताए।

तालिका अनुसार २४ इन्चको पाइपलाइनबाट पहिलो दिन मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रका ३ हजार ७९० धाराबाट तत्कालै ग्राहकले दैनिक ‍औसत १ हजार ५ सय २० लिटर पानी पाएको र दोस्रो दिन २४ इन्च पाएपलाइनबाट ईन बहाल, ज्याठा भोटाहिटी, कमलाक्षी नक्साल क्षेत्रका ७ हजार ६२५ धाराबाट १ हजार १८० लिटर पानी पाएको बताए।

यस्तै आज २० इन्च पाइप लाइनबाट बानेश्वर, सिनामंगल, मिलन चौक, संगम चौक क्षेत्रका १४ हजार ४९३ धाराबाट ग्राहकले ५६७ लिटर पानी पाउने, १२ इन्च पाइप लाइनबाट जय बागेश्वरी मित्र पार्क चाबहिल रातोपुल, कालिमाटी डोल क्षेत्रका ४ हजार ८९० धाराबाट ३ सय ६८ लिटर पानी पाउने र २४ इन्च कै पाइपलाइनबाट चारखाल, डिल्लीबजार, कमलादी, बागबजार र त्रिपुरेश्वर क्षेत्रका ८ हजार ३४४ धाराबाट ग्राहकहरुले दैनिक औसत १ हजार ४२ लिटर पानी पाउने प्रवक्ता राईले बताए।

तर काठमाडौँमा खानेपानीको माग दैनिक करिब ४७ करोड लिटर छ। केयुकेएलले हाल ८ करोड लिटर पानी वितरण गर्दै आएको छ। त्यसमा मेलम्चीको १७ करोड लिटर पानी जोड्दा पनि काठमाडौँको पानीको माग धान्न सहज नभएको उनले बताए। चौविसै घण्टा पानी दिनका लागि याङ्ग्री र लार्केको पानी मिसाएपछि दिन सक्ने उनको विश्वास छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?