
सिमकोट– तीन दिनदेखि बन्द रहेको हुम्लाको हवाई उडान मंगलबारदेखि सुचारु भएको छ।
जिल्लामा लागेको बाग्लो तुवालो केही कम भएपछि मंगलबार बिहानैदेखि नेपालगंज र सुर्खेतबाट उडान सुचारु भएको नागरिक उड्डयन प्राधिकरण सिमकोटका एयर ट्राफिक कन्ट्रोलर नवराज कटुवालले जानकारी दिए।
उडान सचारु हुँदा यात्रुहरुलाई राहत भएको छ। दुई दिन लगातार हवाई उडान नहुँदा सेवाग्राही मर्कामा परेका थिए। बजारमा सामानको अभावसमेत हुन थालेको थियो।
उनले मौसममा सुधार आएपछि सुर्खेत र नेपालगंजबाट यात्रु, खाद्यान्न र कार्गोको सामान ढुवानी भएको र सिमकोटबाट पनि सुर्खेत, धनगढी र नेपालगंज यात्रु जान पाएको बताए।
नेपालगंज र सुर्खेतबाट सीता, तारा, समिट र नेपाल एयरलाइन्सका विमानहरुले उडान भर्दै आएका छन्।