
काठमाडाैँ– काठमाडाैँ महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनका लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ।
महाशाखाले बुधबार एक कार्यक्रमबीच कोरिडोर सडक व्यवस्थापन टोली परिचालन गरेको छ।
महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई सञ्चालनमा रहेका उपत्यकाको मुख्य कोरिडोर विष्णुमती, बागमती, धोबीखोला र मनोहरा कोरिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागू गरेको हो।
बुधबारदेखि करिडोरलाई चौबिस खण्डमा विभाजन गरी कोरिडोर क्लियरेन्सका लागि १७ टोली गठन गरी परिचालन गरेको छ।
टोलीको पहिचानका लागि ‘ट्राफिक पोलिस सीएटी’ लेखिएको प्लोरोसेन्ट ज्याकेट लगाएर आफ्नो जिम्मेवार करिडोर सडकमा मोटरसाइकलमा निरन्तर अनुगमन गर्नेछ।
महाशाखाले कोरिडोर सडकमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रूपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यसहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।
यो टिमले आमसवारी चालकलाई आफ्नो गन्तव्यसम्म पुग्न छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहनसमेत गर्नेछ। मुख्य सडकको चोक जक्सनको क्युमा बस्नुपर्ने विकल्पका रूपमा कोरिडोर सडक प्रयोग गरी समय तथा इन्धनसमेत बचत हुने अपेक्षा रहेको एसएसपी भट्टराईले बताए।
यो टिमले आफ्नो जिम्मेवार इलाकामा निरन्तर अनुगमन गरी सवारी आवागमनमा सहज बनाई कोरिडोर सडकको सुचारु गर्ने, पुल तथा जक्सनको क्रसिङमा हुने चाप/क्युलाई व्यवस्थापन गर्ने, जथाभावी पार्किङ गर्ने प्रवृत्तिलाई निरूत्साहित गरी कोरिडोर सडक प्रयोग गर्ने परिपाटीको विकास गरी प्रयोगकर्तालाई प्राथमिकता दिई व्यवस्थापन गरिने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए।