मेलम्ची पूरा भएपछि याङ्ग्री र लार्केको तयारी

मेलम्ची पूरा भएपछि याङ्ग्री र लार्केको तयारी
+
-

काठमाडौँ– मेलम्चीको पानी पुरानै संरचनाबाट भए पनि धारामा पुग्यो। आइतबार (चैत १५) काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले दिउँसो दुई बजेदेखि पानी काठमाडौँका धारामा पठायो। केयुकेएलले महांकाल, मीनभवन, खुमलटार, मैतिदेवी र अनामनगर क्षेत्रबाट अहिले मेलम्चीको पानी वितरण गरिरहेको छ।

अनामनगर क्षेत्रमा भने ‘पाइलट प्रोजेक्ट’का रुपमा चौबीसै घण्टा पानी पठाइएको छ। विस्तारै नयाँ संरचनाबाट परीक्षण गर्दै पानी वितरण गरिने छ। अझै मेलम्ची आयोजना पूर्णरुपमा सञ्चालन हुन करिब ७ महिना लाग्ने मेलम्ची खानेपानी आयोजना अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता उज्वल प्रजापतिले जानकारी दिए।

मेलम्ची आयोजना पूरा भएपछि मेलम्चीको दोस्रो आयोजना याङ्ग्री र लार्केको काम सुरु हुनेछ। यसको तयारी सरकारले गरिरहेको छ। मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आगामी आर्थिक वर्षमा याङ्ग्री र लार्के खोलाको काम हुने बताए।

उनका अनुसार आगामी आर्थिक २०७८/०७९ मा हेडबक्स, सुरुङ र पानी प्रशोधन केन्द्र निर्माणको ठेक्का लाग्न सक्छ। यो काम चालु आर्थिक वर्ष २०७७/०७८ मा सुरु हुने भनिए पनि सडक बनाउने काम नसकिएकाले ढिला भएको उनी बताउँछन्।

‘हामीले के भनेका थियौँ भने आर्थिक वर्ष २०७७/०७८ को चैतदेखि असारसम्ममा ठेक्काको काम सुरु गर्ने थियो। तर यो आर्थिक वर्षमा सुरुङ, हेडबक्स र पानी प्रशोधन केन्द्र निर्माणको ठेक्का लाग्न सकेन,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा चाहिँ यसको तयारी छ।’

सडक निर्माणमा स्थानीय बाधक बनेको उनले बताए। स्थानीय बासिन्दाले माग गरेअनुसार सरकारले मुआब्जा दिन नसक्दा सडक निर्माणमा केहि ढिलाइ भएको उनको दावी छ।

‘जुनसुकै आयोजनाका लागि प्रवेश मार्ग चाहिन्छ। प्रवेश मार्ग निर्माणकै क्रममा स्थानीयले मागेको मुआब्जाको दर बढी भयो। उनीहरुले अलि बढी पाउनु पर्ने आशा राखेका थिए,’ उनले भने, ‘तर नेपाल सरकारको प्रचलित नियम कानुनअनुसार अध्ययन गरी मुआब्जा निधारण समितिले निर्धारण गरेको दर उनीहरुले सोचेभन्दा कम भयो र चित्त नबुझेर काम गर्न दिएनन्। जसले गर्दा सडकको काम ढिला भयो। पछि स्थानीयले प्रचलित नियम कानुनको आधारमा तयार गरेको दर हो र यो भन्दा बढी चाहिँ सम्भव छैन भन्ने बुझे र मुआब्जाको काम भइरहेको छ।’

हालसम्म स्थानीयले करिब ८ करोड मुआब्जा बुझिसकेको उनले जानकारी दिए। सो कुराले आयोजनामा त्यति ठूलो असर नपरेको बताउँदै उनले अर्को वर्षसम्म सडकको काम पनि सकिने बताए।

सडकको काम सम्पन्न भएपछि ‘फेज–२’ को काम सुरु हुन्छ। त्यसका लागि लागतका लागि बोलपत्र पनि तयार भइसकेको उनले बताए।

‘आफ्नो मापदण्डभित्र रहेर अन्तराष्ट्रियस्तरको खुला बोलपत्रबाट ठेक्का दिइन्छ। त्यसपछि ठेक्का सम्झौता गरिने र निर्माण कार्य अगाडि बढ्ने हो,’ उनले भने।

यसअघि मेलम्ची परियोजनामा एसियाली विकास बैंक (एडीबी)ले लगानी गरेको थियो। एडीबीले दोस्रो आयोजनामा लगानी गर्ने इच्छा पनि देखाएको छ। तर यसअघि नै एडीबीले मेलम्चीको काम सम्पन्न नभइ दोस्रो आयोजना सुरु नगर्न भनेको पनि उनले बताए।

उनले भने, ‘यो दोस्रो चरणमा पनि एडीबीले सहयोग गर्छु भनेको छ। मेलम्चीको पानी नझरुन्जेल काम नबढाउ भनेको थियो। आयोजना ढिला भएको र अन्य कारणले गर्दा पर्खनु भनेको हो। फेज–१ को पानी पनि झरिसकेको छ। एडीबी अब सुनिश्चित भएको छ पानी आउँछ। अब नयाँ ऋण सम्झौताको तयारी उसले गर्छ।’

उनका अनुसार आगामी आर्थिक वर्षसम्ममा ठेकेदार परिचालन हुने देखिएको छ। पहिलो आयोजनामा देखापरेका समस्याबाट सिक्दै अर्को आयोजनामा त्यस्ता समस्या नदोहोर्‍याइ काम पाँच वर्षमा सक्ने अनुमान उनको छ।

‘ट्रिल एण्ड ब्लास्ट विधि सुरुङ निर्माण गरिएको त्यो हिसाबले बनाउने हो भने समय लाग्छ तर टनेल बोरिङ मेसिन विधिबाट निर्माण गर्दा छिटो हुने कुरा छ। यो विकल्पमा जान सकिने हो या अरु विधि, छलफलमै छौँ,’ उनले भने, ‘तर त्यसका लागि खर्च बढी आउँछ।’

‘ट्रिल एण्ड ब्लास्ट’ हिमाली भेगमा सुरुङ निर्माण गर्ने विधि हो। आयोजनाको डिजाइन पनि त्यहि अनुसार गरिएको थियो। यस विधिको हिसाब गर्ने हो भने आयोजनाको कुल लागत २५ अर्ब लाग्ने अनुमान गरिएको उनले बताए। तर यसलाई चाँडै सम्पन्न ‘टनेल बोरिङ’ मेसिन विधि प्रयोग गर्न सकिन्छ। यसका लागि भने डिजाइन नै पुनरावलोकन गर्नुपर्ने उनले बताए।

दोस्रो आयोजना सम्पन्न भएपछि काठमाडौँमा खानेपानीको अभाव सकिने धेरैको आशा छ। खानेपानीको अभावलाई समाप्त गर्न मेलम्चीमा याङ्ग्री र लार्केको पानी मिसाउने हो। १२ किलोमिटरको दूरीमा रहेका यी खोलाको पानी मेलम्चीमा मिसाउन ११ किलोमिटरको सुरुङ निर्माण गर्नु पर्ने उनले बताए।

तर यसभन्दा पहिले लार्के र याङ्ग्रीको पानी मेलम्चीमा मिसाउने योजना रहेको उनले बताए।

मेलम्ची खानेपानी आयोजना पूर्णरुपमा सम्पन्न भएपछि काठमाडौँमा १७ करोड लिटर पानी मात्र आइपुग्नेछ। काठमाडौँमा खानेपानीको माग दिनहुँ बढ्दै छ। यसका लागि दोस्रो–तेस्रो चरणमा दुई वटा टनेल निर्माण नगरी दुबै टनेलको काम सँगसँगै गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘मेलम्चीदेखि याङ्ग्रीसम्मको र याङ्ग्रीदेखि लार्केसम्मको एकै फेजमा निर्माण गर्नुपर्छ।’

मेलम्चीको दोस्रो आयोजना पूरा भएपछि भएपछि ५१ करोड लिटर पानी काठमाडौँ आइपुग्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?