
झापा – झापाको बुद्धशान्ति गाउँपालिकाले अब आफ्नै अस्पतालमा एम. डी. फिजिसियनको सेवा प्रदान गर्ने भएको छ।
बुद्धशान्ति गाउँपालिकाद्वारा सञ्चालित बुद्धशान्ति अस्पतालमा एम.बि.बि.एस डाक्टरहरु डा.महम्मद समिम राइन र डा. एलिस ढकाल लगायत अन्य विभिन्न विधाका स्वास्थकर्मीहरुबाट सेवा प्रवाह भइरहेको अवस्थामा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन बिहीबारदेखि एम.डी. (कन्सलटेन्ट जेनरल फिजिसियन) को सेवा पनि थप गरिएको गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए।
उनका अनुसार कन्सलटेन्ट जेनरल फिजिसियन डा. मोनालिसा संग्रौलालाई बुद्धशान्ति गाउँपालिकाले नियुक्त गरिसकेको छ।
बुद्धशान्ति अस्पतालमा अत्याधुनिक ल्याब, एक्स-रे, भिडियो एक्स-रे सेवा तथा स्वास्थ्य बीमाका सबै कार्यक्रमका सेवा सञ्चालनमा छन्। भर्खरै सुरुवात भएको अस्पतालमा फिजिसियन सेवा सञ्चालनमा ल्याइनुले बुद्धशान्ति गाउँपालिका आसपासका क्षेत्रमा बिरामीलाई ठूलो राहत मिलेको छ।
सबै खाले कमी कमजोरीलाई सुधार गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आफू लागिपरेको गाउँपालिकाका अध्यक्ष भुजेलले बताएका छन्।