
काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन्।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा शुक्रबार मन्त्री भट्टले आयल निगमसम्बन्धी समस्यालाई प्राविधिकभन्दा पनि नीतिगत रुपमा समाधान गर्न सरकार लागिपरेको बताए।
उनले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी गरिरहेको जानकारी दिए।
यस्तै, व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले बताए।
यसैगरी, कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको उनले बताए।
उनले विपरीत विचार हुनेहरूले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई आग्रह गरेका छन्।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडि बढिरहे पनि सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताए।
निजी क्षेत्र नाफामुखी हुने र सोहीअनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको पनि उनले बताए। तर, सरकारले अनुगमनको नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको अध्यक्ष गोल्छाको भनाइ छ।
अनुगमन गर्दा आचारसंहिता भित्र बसेर गर्न र कुनै न्यायिक निष्कर्ष ननिस्किएसम्म कुनै पनि उद्योगी व्यवसायीको मानमर्दन नगर्न सरकारसँग उनले आग्रह गरेका छन्।
कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीले पेट्रोलिय पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकाले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने बताएका छन्।