
सिमकोट– नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका २५ जना स्थानीयको टोली चार दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आइपुगेको छ। सदरमुकाममा रहेका विकासे कार्यालयसँग योजनाको सम्झौता गर्न टोली नारा लेकको हिउँ छिचोलेर सदरमुकाम सिमकोट आइपुगेको हो।
लिमीका तीनै गाउँमा निर्माण हुने ११ वटा योजनाको सम्झौता गर्न वडाध्यक्ष पाल्जोर तामाङको नेतृत्वमा टोली सदरमुकाम सिमकोट आइपुगेको हो। नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा यस वर्ष पहिलो पटक ११ वटा योजना निर्माण हुने भएका हुन्।
कुनै समय नेपाली नागरिकता र सीमा पास मात्र पाउने लिमीवासीले पहिलो पटक यति धेरै योजना निर्माण गर्ने अवसर पाएका हुन्। दुरदराजको गाउँ लिमीले पहिलो पटक धेरै योजना निर्माण गर्ने अवसर पाएको योजनाको सम्झौता गर्न सदरमुकाम सिमकोट आइपुगेका लिमी तिल गाउँका ठिल्ने तामाङले बताए।
पहिला पहिला वर्षमा दुईदेखि तीन वटा मात्र योजना निर्माण हुँदै आएकामा यस वर्ष धेरै योजना निर्माणका लागि बजेट विनियोजित हुँदा लिमीवासी खुसी रहेको उनले बताए।
संघीयता कार्यान्वयनमा आएपछि हिमालपारिको गाउँमा विकास निर्माणले गति लिएको उनको भनाइ छ। वडाध्यक्ष तामाङले चालु वर्ष सम्पन्न गर्ने गरी ११ वटा योजना कार्य सञ्चालन गर्न सम्झौतासमेत भएको बताए।
सबै योजनाका लागि २ करोड ४२ लाख बजेट विनियोजित भएको उनले जानकारी दिए।
यस वर्ष निर्माण हुन लागेका योजनामा सडक, पुल, घोरेटो बाटो, वडा कार्यालय घेराबार, स्टोर निर्माण, तातोपानीको मुहान व्यवस्थापन, खानेपानी मर्मत, लिङ खोलामा ड्याम निर्माणलगायत छन्।
यसले दुरदराजको गाउँ राज्यबाट प्राप्त हुने सेवा–सुविधामा पहुँच बढ्दै गएको भान हुन थालेको वडाध्यक्ष तामाङको भनाइ छ। यी योजना निर्माण गर्न कार्यालयसँग सम्झौता गर्न न्यालु लेकको हिमपात छिचोल्दै लिमी तीनै गाउँका २५ जनाको टोली सदरमुकाम सिमकोट आइपुगेको हो।