
कोरोना भाइरसको संक्रमण जितेका एक तिहाई व्यक्तिमा मानसिक तथा न्यूरोलोजिकल समस्या हुने एक अध्ययनले देखाएको छ ।
दुई लाख ३० हजार भन्दा बढि संक्रमण जितेका व्यक्तिमा गरिएको अध्ययनबाट हरेक तीन मध्ये एक व्यक्तिले संक्रमणको ६ महिनाभित्र मष्तिस्क वा मनोसामाजिक समस्याका लागि उपचार गराउनु परेको देखिएको छ ।
अनुशन्धानमा सामेल अधिकांश व्यक्ति अमेरिकी हुन् ।
यो अध्ययनले कोरोना भाइरसको संक्रमण निको भए पनि त्यसले मानसिक तथा न्यूरोलोजिकल समस्या निम्त्याउने र अवस्था जोखिमपूर्ण हुन सक्ने देखिएको वैज्ञानिकले बताएका छन् ।
भाइरस र मनोसामाजिक समस्याबिच कस्तो वा कसरी सम्बन्ध स्थापित भयो भन्ने स्पष्ट भइनसकेको अनुशन्धानकर्ताले बताएका छन् ।
अनुशन्धानको क्रममा वैज्ञानिकहरुले १४ प्रकारका मनोसामाजिक तथा न्यूरोलोजिकल समस्यामाथि निगरानी गरेका थिए । त्यसमध्ये धेरैमा एन्जाइटी (दुष्चिन्ता) र डिप्रेसनको समस्या देखिएको हो ।
कोभिड–१९ निको भएपछि स्ट्रोक, डिमेन्सियासहितका अरु न्यूरोलोजिकल समस्याहरु कम देखिए पनि चिन्ताजनक भने रहेको अनुशन्धानकर्ताले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । विशेषगरि कोभिड–१९ बाट गम्भीर बिरामी परेकाहरुमा न्यूरोलोजिकल समस्याको जोखिम बढि देखिएको छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयका मनोरोग विशेषज्ञ म्याक्स टाक्वेटले भने, ‘हाम्रो अध्ययन अनुसार फ्लू वा स्वासप्रश्वास सम्बन्धी अरु संक्रमण भन्दा कोभिड–१९ को संक्रमणपछि मष्तिस्क सम्बन्धी रोग र मनोसामाजिक समस्या बढि हुने देखिएको छ ।’
अध्ययनको क्रममा बायोलोजिकल वा साइकोलोजिकल प्रणाली थाहा पाउन नसकिएको उनले बताएका छन् । तर सो कुरा थाहा पाउनका लागि तत्काल थप अध्ययनको खाँचो रहेको बताए ।
स्वास्थ्यविज्ञहरुले भइरहेका केही अध्ययन र त्यसका प्रतिवेदनलाई आधार बनाएर कोभिड–१९ का कारण उत्पन्न हुन सक्ने मष्तिस्क र मानिसक स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर गम्भीर चिन्ता व्यक्त गर्ने गरेका छन् ।
गएको वर्ष यहि समूहले गरेको अध्ययनमा कोभिड–१९ जितेका २० प्रतिशत मानिसले तीन महिना भित्रै मनोसामाजिक समस्याको उपचार खोज्नु परेको देखिएको थियो ।
पछिल्लो अध्ययन प्रतिवेदन लान्सेन साइक्याट्री जर्नलमा प्रकाशित भएको छ । यो अध्ययनमा कोरोना जितेका दुई लाख ३६ हजार ३७९ जनाको स्वास्थ्य विवरण हेरिएको हो ।
उनीहरु अधिकांश अमेरिकी नागरिक हुन् । त्यसमध्ये ३४ प्रतिशतले ६ महिनाभित्र न्यूरोलोजिकल वा मानसिक रोगको उपचार गराएको देखिएको छ ।
सोही अवधिमा फ्लू वा अरु प्रकारका स्वासप्रश्वास सम्बन्धी रोग लागेका व्यक्तिमा भन्दा कोभिड–१९ लागेका व्यक्तिमा यस्तो समस्या बढि देखिएको हो ।
१७ प्रतिशतमा एन्जाइटी, १४ प्रतिशतमा मूड डिसअडर देखिएको छ । कोरोना भाइरसको संक्रमणका कारण सघन उपचार कक्षमा भर्ना भएका मध्ये ७ प्रतिशतलाई ६ महिना भित्र स्ट्रोक भएको उल्लेख छ । यस्तै झण्डै दुई प्रतिशतमा डिमेन्सिया देखिएको छ ।
अक्सफोर्ड विश्वविद्यालयका साइक्याट्री प्रोफेसर पल ह्यारिसनको नेतृत्वमा अध्ययन भएको हो । ह्यारिसनले भनेका छन्, ‘हरेक समस्याको जोखिम भने कम छ तर ठूलो जनसंख्यामा यसको प्रभाव र असर गम्भीर हुन सक्छ ।’