
काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण कार्यकर्ताबीच छिन्नभिन्नको अवस्था आएको नेता माधवकुमार नेपालले बताएका छन्।
विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानीका क्रममा नेता नेपालले भने, ‘प्रधानमन्त्री ओलीद्वारा संविधान सिध्याउने कार्य भइरहेको छ।’
अध्यक्ष ओलीले पार्टी विधानविपरीत कदम चाल्दै गएको हुँदा अहिलेको अवस्था सिर्जना भएको उनले बताए।
अध्यक्ष ओलीका विधानविपरीत कदमलाई समर्थन गर्न नसकिने बताउँदै नेता नेपालले प्रधानमन्त्री ओलीले निकटस्थत भजनमण्डलीबाहेक अरूलाई हेर्न नचाहेको आरोप लगाए।
उनले भने, ‘विधिविधानविपरीत नेतृत्वबाट गरिएको यसप्रकारको कदमको समर्थन गर्न सकिँदैन।’
पार्टी अध्यक्षको गतिविधिका कारण कार्यकर्तामा समेत निराशा छाउँदै गएका नेपालले बताए । प्रधानमन्त्री ओली पार्टीभित्र एक्लिँदै गएको नेपालको ठहर छ।