
राम्रैसँग जोत्यौँ भन्थे राँटो पर्यो अन्तै
बिरुवा रोपे ढुङ्गेनमा माटो पर्यो अन्तै ।।
पालै पालो हाक्छौँ भन्थे जोडी डाइबरले
गाडी कुद्यो भीरै भीर बाटो पर्यो अन्तै ।।
सबै मिली आलोपालो तरौँ जँघार भन्थे
छट्टु पुग्यो खोला पारि लाटो पर्यो अन्तै।।
कटेरोको पाखो भत्क्यो तँछाड मँछाडले
टालटुल पार्ने कसरी हो साटो पर्यो अन्तै ।।
उस्ले खाए उस्ले हान्ने उस्ले खाए उस्ले
मिलीभगत गरौँ भन्दा फाटो पर्यो अन्तै ।।
जुधि जुधि सिङ्ग भाँचियो घाइते भए दुवै
कान्लामुनि ठोक्किएर टाटो पर्यो अन्तै ।।
दाम्लो चुँडाइ हिँडे बस्तु अर्कै गोठ तिर
माउ चाहिँ पसिहाल्यो पाठो पर्यो अन्तै ।।
मौसम अनुसार रङ फेर्ने छेपारोले जस्तै
यता उता डुलि हिँड्ने बाठो पर्यो अन्तै ।।
घुमाइ घुमाइ लट्टा पारे डोरी हात पार्न
छेउ टुप्पो कता कता गाँठो पर्यो अन्तै ।।