
सिमकोट– खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको प्रधान कार्यालयले हुम्लाका लागि सात हजार क्वीन्टल खाद्यान्न दिने निर्णय गरेको छ।
एक महिनाअघि जिल्लाबाट १४ हजार क्वीन्टल खाद्यान्न माग गरिएकामा हाललाई लिमिटेडले हवाई मार्गबाट सात हजार क्वीन्टल खाद्यान्न दिने निर्णयमा पुगेको हो।
जिल्ला खाद्य व्यवस्था समितिले १४ हजार क्वीन्टल खाद्यान्न माग गरेकामा लिमिटेडको ३१औं सञ्चालक समितिको बैठकबाट ७ हजार क्वीन्टल खाद्यान्न कोटा थप गरेको शाखाका प्रमुख निर्मल थापाले जानकारी दिए। थपिएको खाद्यान्न सबै सुर्खेतदेखि हवाई मार्गबाट ढुवानी हुनेछ।
नेपालगञ्जभन्दा सुर्खेतबाट प्रतिकेजी आठ रुपैयाँ ५० पैसा सस्तो पर्ने गर्छ।
अब सुर्खेतबाट प्रतिकेजी १०८ रुपैयाँमा ढुवानी हुनेछ। यसअघि हवाई मार्गबाट सुर्खेत र नेपालगञ्जबाट १० हजार क्वीन्टल खाद्यान्न कोटा निर्धारण गरी जिल्लामा ढुवानी भएर बिक्री वितरण भएको थियो।
मागअनुसार लिमिटेडले खाद्यान्न नदिए पनि हाल थपिएको कोटाको खाद्यान्नले समस्या समाधान भने गर्ने उनले बताए।
थपिएको खाद्यान्न तत्काल ढुवानीको व्यवस्था गरिने प्रक्रिया अगाडि बढ्ने तयारी भइरहेको छ। सो खाद्यान्नबाट ०७८ सालको भदौसम्म व्यवस्था गर्नु पर्नेछ। हाल शाखाको गोदाममा एक हजार पाँच सय क्वीन्टल खाद्यान्न मात्र मौज्दात छ।