
सिमकोट– जिल्ला अदालत हुम्लाले चालु आर्थिक वर्षको चैत्र २९ गतेसम्म ६८ प्रतिशत मुद्दा पर्छ्यौट गरेको छ।
जिल्ला अदालतमा देवानी, सरकारवादी फौजदारी र दुनियाँवादी फौजदारी मुद्दामा जिम्मेवारी सरेका र नयाँ दर्ता गरी जम्मा ११४ मुद्दा रहेकोमा ६० वटा मुद्दा फर्छ्यौट भएको जिल्ला अदालतका स्रेस्तेदार मदनराज भट्टराईले जानकारी दिए।
चालु आर्थिक वर्षमा अदालतले ५८.८ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा तेस्रो चौमासिक अवधिमै लक्ष्य पूरा भएको हो।
अदालतमा रहेका कुल मुद्दामध्ये ६१ वटा अघिल्लो वर्षको जिम्मेवारी सरेका र ५३ वटा मुद्दा नयाँ दर्ता भएका हुन्। त्यसमा जिम्मेवारी सरेका र नयाँ दर्ता भएका मध्ये शीर्षक अनुसारमा मुद्दाहरुमा देवानी ५३ , सरकारवादी फौजदारी ४१ , दुनियाँवादी फौजदारी १८ र पुनरावेदन मुद्दा तीन वटा थिए।
कुल मुद्दामध्ये बालबालिकाका आठ वटा मुद्दा दर्ता भएकोमा चार वटाको फैसला भइसकेको छ।
न्यायाधीशको जिल्लामा कम उपस्थितिकै कारण यसअघि वर्षभरि निकै कम संख्यामा मुद्दाको फर्छ्यौट हुने गरेकोमा यस वर्ष मुद्दा फर्छ्यौट बढ्नु उपलब्धीमूलक भएको भट्टराईले बताए।
जिल्ला न्यायधीश जगतबहादुर पौडेलले चालु आर्थिक वर्षभित्र अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरेका र यस वर्ष नयाँ दर्ता भएका मुद्दामध्ये ८५ देखि ९० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेको बताए।