
काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारतबीच देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताएका छन्।
नेपाल भारत मैत्री संघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–भारतबीच देखिएको सीमालगायत समस्या समाधान आपसी समझदारीमा गर्न सकिने बताए।
उनले इतिहासले बाँकी राखिदिएका त्यस्ता समस्या समाधान गर्न र सीमालागयत कतिपय सन्धि–सम्झौतामा नमिलेका विषयलाई दुवै देशले एकआपसमा विश्वाससाथ छलफल गरेर जान सके समाधान हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘दुई देशबीच केही इतिहासले बाँकी राखिदिएका समस्या, इतिहासले नसुल्झाइदिएका र अधुरै छाडेका समस्या छन्।’
सीमालगायत कतिपय सन्धि–सम्झौतामा नमिलेका विषय छन् जसलाई उच्च विश्वाससाथ हामीले छलफल गरेर अगाडि बढाउन सकिने उनको भनाइ छ।
उनले भने, ‘पोलिटिकल्ली एउटा अन्डरस्ट्यान्डिङ भयो र दुवै देशले एक आपसमा विश्वाससाथ अगाडि बढेर जान सक्यौं भने मलाई लाग्छ, इतिहासले अधुरो छाडेका यी समस्या समाधान गर्न कुनै गाह्रो छैन।’
उनले नेपालले भारतसँग भएका कुनै पनि समस्या समाधान गर्न सकिँदैन भन्ने नठानेको पनि स्पष्ट पारे।
नेपाल–भारत एकआपसमा प्रतिस्पर्धी मुलुक नभई मित्र भएकाले कुनै पनि समस्या समाधान गर्नका लागि समस्या नहुने उनले बताए।
उनले भने, ‘भारतसँग कुनै पनि समस्या छन्, तिनीहरूलाई छलफलद्वारा विश्वासका आधारमा समाधान गर्न नसकिने कुनै पनि विषय छन् भन्ने हामी ठान्दैनौं। किनभने नेपाल–भारत प्रतिस्पर्धी होइनन्। मित्र हुन्। प्रतिस्पर्धीबीच समस्या समाधान गर्न गाह्रो हुन्छ। मित्रबीच समस्या समाधान गर्न कुनै गाह्रो हुँदैन।’
परराष्ट्रमन्त्री ज्ञवालीले कोभिडविरुद्धको लडाइँमा नेपाल–भारत एकसाथ अगाडि बढेको पनि बताए। नेपालका लागि भारतले कोभिडविरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको जानकारी दिए।
यस्तै, नेपाल–भारतबीच खुला सीमा रहेको र मानिसको आवागमनका कारण कोभिड महामारी फैलन नदिन दुवै देशले सहकार्य गरी काम गरिराखेको उनको भनाइ छ।
उनले भने, ‘कोभिड विरुद्धको हाम्रो लडाइँमा भारतले विभिन्न ढंगले सहयोग पु र्याउँदै आएको छ। अरू विभिन्न खालका लजिस्टिक, मेडिकल सामग्री, स्वास्थ्य सामग्रीका अलावा हामीले भारतबाट राम्रो सहयोग पायौँ।’
भारतमै उत्पादित कोभिसिल्ड १० लाख डोज भारतले हस्तान्तरण गरेपछि दक्षिण एसियाकै भारतसँगसँगै आफ्ना नागरिकलाई खोप उपलब्ध गराउन सकेको उनले बताए।
उक्त अभियान निरन्तर जारी रहेको उनले जानकारी दिए। उनले भने, ‘दुई देशबीच १८ सय किमि लामो खुला सीमा छ । खुला सिमानाबाट नागरिकको आवतजावत तीव्र हुनाले दुवै देशले मिलेर मात्रै यो महामारीविरुद्ध अगाडि बढ्न सक्छौँ।’ यस सन्दर्भमा दुवै देशको बीचमा निरन्तर संवाद भइरहेको उनले बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए।
उनले भाषणमा मात्रै दुई देशबीचको सम्बन्धलाई सीमित नगरी व्यावहारिक रूपमा लागू गर्नुपर्ने बताए।
जनताको विश्वास टुट्न नदिन पनि दुवै देशबीच भएका समस्या छिट्टै हल गर्नुपर्नेमा उनले जोड दिए।
मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विकासको मोडल नेपालका लागि सबैभन्दा राम्रो भएको पनि बताए।
जसकारण अहिले देशमा विकास निर्माणका कार्यक्रम अगाडि बढेको उनको दाबी छ।