काठमाडौँ– स्वयम्भूमा लकडाउनपछि संचालनमा आएको सार्वजनिक शौचालय (स्मार्ट ट्वाइलेट) हरेक कुराले सुविधा सम्पन्न छ। उक्त शौचालय महिला, पुरुष र अशक्त तथा पर्यटकहरुलाई मध्यनजर गर्दै निर्माण गरिएको छ।
विशेषगरी सो शौचालय महिला र पानीलाई केन्द्रविन्दुमा राखेर ‘डिजाइन’ गरिएको एरोशान सस्टेनेवल स्यानिटेशनका प्रमुख प्रकाश अमात्यले जानकारी दिए।
उनले विशेषगरी महिला र पानीमा केन्द्रित रहेर शौचालयको काम गरिएको बताए।
उनले भने, ‘सार्वजनिक शौचालयको आवश्यकता अरुको तुलनामा महिलाहरुलाई पर्छ। जस्तो महिनावारी, प्राइवेसी तथा बच्चाको डाइपर चेन्ज गर्ने लगायतका कुराहरु छन्। अझै पनि हाम्रो समाजमा खुलेर महिनावारीको कुरा हुँदैन। यस्तो अवस्थामा महिलाले आफ्ना समस्या राख्न सक्दैनन्। अर्को कुरा शौचालय भनेपछि पानीको पनि त्यतिकै आवश्यकता पर्छ। त्यसैले महिलाहरुका समस्याहरुलाई मध्यनजर गर्दै निर्माण गरिएको हो।’
कस्तो छ महिला शौचालय?
महिला शौचालयमा महिलाहरुको झोला झुण्ड्याउने ‘ह्याङ्गर’को व्यवस्था गरिएको छ। साथै स्यानिटरी प्याडको व्यवस्था छ। उक्त स्यानिटरी प्याड मेसिनमा ३ वटा २ रुपैयाँको क्वाइन हाल्दा आउँछ। उक्त प्याड बजारमा किन्ने हो भने १२ रुपैयाँ पर्छ। तर शौचालयमा ६ रुपैयाँ पर्ने एरोशान संस्थाका प्रमुख अमात्यले बताए।
‘प्याडको मात्र व्यवस्था होइन, डिस्पोजको पनि व्यवस्था छ’, उनले भने, ‘त्यसका लागि प्रयोग गरेको प्याड जलाउने मेसिनमा हालेर रातो रंगको स्वीच थिचेपछि नष्ट हुन्छ। नष्ट गर्ने मेसिन प्याड भएको मेसिनको तल छ।’
उनका अनुसार महिलाहरुसँग क्वाइन नभएको अवस्था शौचालयको काउण्टरबाट पनि लिन सकिन्छ। त्यसपछि सो बराबर रुपैयाँ काउण्टरमा बुझाउनु पर्ने उनले बताए।
यस्तै बच्चाहरुको डाइपर बदल्नका लागि सानो टेबलको पनि व्यवस्था छ। त्यहाँ बच्चालाई राखेर डाइपर बदल्न सकिन्छ।
यसैगरी शौचालयको प्यानमा पनि त्यति नै ध्यान दिइएको छ। अन्य शौचालय जस्तो प्यान उक्त शौचालयमा प्रयोग गरिएको छैन।
उनले प्यानका बारेमा जानकारी दिँदै भने, ‘यहाँको प्यान सिस्टम अरु प्यानभन्दा फरक छ। जुन प्यानको बस्ने भाग छ त्यो अलि अग्लो छ। अरु प्यान समतल हुन्छ। खुट्टा दुख्छ। तर यो प्यानको खुट्टा राख्ने भाग उठेको छ। यो उच्चो हुनुको कारण शरीरको लोड खुट्टामा पर्दैन। जिउको अगाडि पर्छ। जसले गर्दा बस्ने मान्छेलाई सहज हुन्छ। प्यानमा बस्दा र उठ्दा आफै पानी फ्लस (सेन्सर) हुन्छ।’
एरोशान संस्थाका प्रमुख अमात्यले भौतिक सुविधाहरुसँगै सरसफाइमा पनि त्यति नै ध्यान दिएको बताए। विशेषगरी अहिलेको कोरोना महामारीलाई पनि त्यति नै ध्यान दिएको उनको भनाइ छ।
कोरोना भाइरसका कारणले हरेक कुरामा सामाजिक दूरी कायम गर्नुपर्ने भनिएकाले आफूहरुले शौचालयमा भएका सामाग्रीको प्रयोग ‘टच लेस’ बनाएको पनि बताए।
‘शौचालय दुर्गन्धित नहोस् भनेर स्वचालित भेन्टिलेशन बनाएका छौँ। त्यसमा बिजुलीको प्रयोग गरिएको छैन। जब शौचालय तातो हावाले भरिन्छ भेन्टिलेशन आफै चल्छ र चिसो हावा आउँछ। जसका कारणले शौचालय दुर्गन्धित हुन पाउँदैन,’ उनले भने, ‘सार्वजनिक शौचालय यस्तो ठाँउ हो जहाँ किटाणुहरु धेरै हुन्छ। रोगको घरभन्दा फरक नपर्ला। अहिलेको महामारीलाई पनि हामीले ध्यान दिँदै धारालाई छुन नपर्ने बनाएका छौँ। धाराको तल हात राख्दा पानी आफै आउछ। त्यस्तै साबुन पनि। र हात सुकाउने मेसिन पनि छ। सबै टचलेस छन्।’
शौचालयमा भएका सबै सामाग्री स्वचालित रहेको उनले बताए।
यस्तै शौचालय बाहिर सिसिटीभी र वाइफाइको पनि सुविधा छ। ‘यहाँ वाइफाइ पनि छ। अब विद्यालयहरु बन्द भए। यहाँका व्यापारी तथा वाइफाइन नभएका परिवारका बच्चाहरु यहाँ आएर पढ्छन्,’ उनले भने।
यस्तै पुरुष शौचालयको कुरा गर्नुपर्दा यिनै सुविधा समावेश गरिएको पनि उनले बताए।
पानीको व्यवस्था कस्तो छ ?
सो शौचालयमा आकाशे पानीको प्रयोग हुन्छ। करिब ६ सय वर्ग फिटमा फैलिएको शौचालयको छतमा जम्मा भएको पानीलाई फिल्टर १२ हजार लिटरको ट्याङकीमा पठाइन्छ र सो पानीलाई नै प्रयोग गरिन्छ।
तर हात धोएको साबुनपानीको पानीलाई छुट्टै ट्याङकीमा पठाइन्छ र फिल्टर गरेर पुनः दिसा पिसाब ‘फ्लसिङ’का लागि प्रयोग गरिन्छ।
जम्मा भएको दिसा पिसाबलाई बायो डायजस्टरमा पठाएर त्यहाँबाट बायो ग्यास उत्पादन गरी शौचालयमा रहेको भान्समा प्रयोग गरिएको उनले बताए। शौचालयमा सरसफाइमा पनि त्यनि नै ध्यान दिइएको छ।