युद्ध उन्मुख चीन र अमेरिका

युद्ध उन्मुख चीन र अमेरिका
+
-

गत शुक्रबार अमेरिकी राष्ट्रपति जोसेफ बाइडेन र जापानी प्रधानमन्त्री योसिहिदे सुगावीचको भेट वार्तापछि प्रकाशित विज्ञप्ति अनुसार आपसी सम्बन्धलाई फलामे सुरक्षा कवच उपलव्ध गराउन, चीन तथा जापानवीच विवादित सेन्काकु टापु समूहलाई समेत अमेरिकाजापान सुरक्षा तथा सहयोग सन्धिको धारा ५ अन्तर्गत समेट्न, र चीन सागर र इन्डो प्यासिफिक क्षेत्रको वृहत सुरक्षा निर्वाध आवागमनलाई सुनिश्चित गर्न परस्पर सहयोग र समन्वय गर्न दुवै मुलुक प्रतिवद्ध छन् ()

सो भेटवार्ताको समयमा चीन, जापान र अमेरिकावीचको सम्बन्धमा रणनीतिक र भूराजनीतिक दृष्टिले अत्यन्त महत्व राख्ने ताइवान सवालमा कुनै वार्ता नगर्न चीनले जापानलाई चेतावनी दिएको भएता पनि राष्ट्रपति बाइडेन र प्रधानमन्त्री सुगाले ताइवान विवाद शान्तिपूर्ण तरिकाले वार्ताको माध्यमबाट समाधान हुनुपर्ने विचार व्यक्त गरे।

साथै हंगकंग र सिञ्जियाङ्मा भइरहेका मानव अधिकारका हननका सवालमा समेत दुई नेताले संयुक्त चिन्ता र सरोकार जाहेर गरे

स्मरणीय छ, ५२ वर्ष अघि सन् १९६९मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन र जापानी प्रधानमन्त्री इसाकु सातोवीचको शिखर वार्तापछि अमेरिका र जापानका शीर्षस्थ नेताहरूवीच ताइवान मामिलामा भएको यो पहिलो औपचारिक वार्ता हो ( )

स्मरणीय छ, नोभेम्बर १९७४को अन्तिम साता तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर चीन भ्रमणमा रहेका बेलामा किसिन्जर र देङ्ग सियाओ पेङ्गवीचको वार्तामा ताइवान सम्बन्धमा उठेको मतभेदलाई इङ्गित गर्दै माओले किसिन्जरसँग – ‘वृहत्तर विश्वको हितको तुलनामा ताइवान खासै महत्वको सवाल नरहेको उल्लेख गरेर ताइवानको हकमा चीन सय वर्षसम्म प्रतीक्षागर्न सक्ने बताउँदै वर्तमानको हकमा ताइवान अमेरिकाकै संरक्षकत्वमा रहनु राम्रो हुने बताएका थिए ( )

तर ताइवानकोलागि सय वर्ष प्रतीक्षागर्न तयार चीनका वर्तमान राष्ट्रपति सी जिन्पिङ्गले केही महिना अघि मात्रै चीनियाँ जल सेनालाई ताइवानमाथि आक्रमण गर्न तंतयार भएर बस्न आदेश दिएका थिए

अमेरिकाले पनि त्यसैगरी आफ्नो तयारी गरिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरिरहेका छन् ()

त्यसैगरी केही महिना अघि मात्रै अमेरिकी रक्षा मन्त्रालयद्वारा संसद समक्ष प्रस्तुत एक प्रतिवेदनमा पनि त्यस्तो युद्धको सम्भावनालाई स्वीकारिएको छ ( )

केही वर्ष देखि चीनले ताइवान र दक्षिण चीन सागरलाई लक्ष गरेर तैनाथ गरेको क्षेप्याश्त्र, वायु प्रतिरक्षा प्रणाली र जल सेनाका कारण ताइवानमा चीनले अमेरिकालाई पराजित गर्न सक्ने अवस्था रहेकोबारे अमेरिकी सैनिक नेतृत्वले स्वीकार गर्न लागेको छ ( )

यद्धपि ताइवान आफैँ एउटा टक्करको सैन्य शक्ति सम्पन्न मुलुक भएको र चीनको त्यस्तो आक्रमणको प्रतिरोध गर्न सक्ने सामर्थ्य भएको कुरा समेत विज्ञहरू स्वीकार गर्दछन् , त्यसमाथि अमेरिकी कानुनले नै अमेरिकी सरकारलाई ताइवानको सुरक्षाको जिम्मा दिएको सन्दर्भमा ताइवान र अमेरिकाको संयुक्त सैन्य सामर्थ्य सामू चीनले प्रस्तुत गर्ने सैन्य चुनौतीको बारेमा सहजै अनुमान गर्न सकिन्छ

सत्य के पनि हो भने, दुई दशक भन्दा लामो समय देखि चीनसँग निकट मित्रता र रणनीतिक प्रतिद्वन्द्वीताका दुई परस्पर विरोधी आधारमा चीनलाई हेर्ने अमेरिकी दृष्टिकोण रहिआएको छ ()

तर चीनमा सी जिन्पिङ्ग सत्ता र शक्तिमा बलियो सँग स्थापना भएर चीनियाँ नेतृत्वमा नयाँ विश्व व्यवस्था स्थापनामा समेत उनको प्रतिवद्धता देखिए पछि जहाँसुकै अमेरिकाको रणनीतिक सरोकारका क्षेत्रमा चीनियाँ हस्तक्षेप बढ्दै गएको परिवेशमा अमेरिकामा चीनलाई हेर्ने दृष्टिकोणमा व्यापक राष्ट्रिय सहमति रहने गरेको छ ()

आफ्ना पूर्वाधिकारीहरूको तुलनामा राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा बढी कट्टर र कठोर भनेर चिनिएका चीनियाँ राष्ट्रपति सी जिन्पिङ्ग शक्ति र सत्तामा आए देखिनै चीन र अमेरिकावीच युद्धको सम्भावनाबारे बहस, विश्लेषण र चर्चा हुने गरेको थियो ।

अहिले आएर विश्लेषकहरू निकट भविष्यमा त्यस्तो युद्धको सम्भावना देख्न र बताउन थालेका छन् ।

हार्वर्डका विख्यात प्रोफेसर ग्राहम एल्लिसोन केही वर्षदेखि अमेरिका र चीन वीचको सम्भावित युद्धबारे विशद अध्ययन गरिरहेका छन् ।

प्रोफेसर एल्लिसोन अनुसार सोह्रौं सताव्दीदेखि वर्तमान सम्मका स्थापित शक्ति र उदीयमान शक्ति राष्ट्रहरूमाझका त्यस्ता १६ प्रतिष्पर्धा र प्रतिद्वन्द्विताहरू मध्ये १२ वटा युद्धमा टुंगिएका छन् र चार मात्र शान्तिपूर्ण निष्कर्षमा पुगेका छन् ।

स्थापित शक्ति र उदीयमान शक्ति राष्ट्रमाझको अवश्याम्भावी जस्तो लाग्ने त्यस्तो युद्धको सम्भावनालाई एल्लिसोनले ‘थ्युसिडेडिस पासो’ भनेर उल्लेख गरेका छन् । (९ )

बाइडेन प्रशासनले चीन र रूससँगको सम्बन्धमा एकैसाथ तनाव र द्वन्द्वको स्थिति निर्माण गरेको, अमेरिका विरूद्ध साझा रणनीति तयार गर्न उनीहरूलाई प्रेरित गरेको तर अमेरिका एकैसाथ रूस र चीनसँग भिड्ने सामर्थ्य नराख्ने कुरामा अमेरिकी सैन्य विदहरू चिन्तित देखिन्छन् ।

प्रोफेसर एल्लिसोनका ती निष्कर्षहरू ग्रीक इतिहासकार थ्युसिडेडिसको स्पार्टा र एथेन्स वीचको युद्धको विश्लेषणमा आधारित छ । (१०)

अर्थात् साविकमा विश्वको नेतृत्व गरिरहेको महाशक्ति र अर्को उदीयमान महाशक्तिवीच शक्ति, प्रभाव र वर्चस्वको लागि हुने प्रतिष्पर्धा र प्रतिद्वन्द्विता अन्तत दुई मुलुकवीचको युद्धमा रूपान्तर हुने र एउटाले अर्कोलाई ठेगान लगाएपछि मात्रै त्यस्तो प्रतिष्पर्धा र प्रतिद्वन्द्विताको चरणले विश्राम लिने गरेको पाइन्छ ।

चीन र रूसको अमेरिकाप्रतिको पारस्परिक आक्रामक व्यवहारका केही सन्दर्भ

केही अघिको मात्रै दुई घटनाको सन्दर्भ हेरौँ –

अघिल्लो साता मात्रै पाँचवटा रक्षक जहाज सहित चीनको विमान वाहक जंगी बेडा जापानको जलमार्ग हुँदै जापानमा अमेरिकी जल तथा वायु सेनाका अड्डाका लागि परिचित ओकिनावा टापु निकट भएर प्रशान्त महासागर तर्फ लागेका थिए ।

गएको मार्चको तेस्रो साता अमेरिकाको अलास्का राज्यको एङ्कोरेज नगरमा बाइडेन प्रशासनका उच्चाधिकारीहरू विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानको विदेश मामिला हेर्ने चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ पोलिट ब्युरो सदस्य तथा पूर्व विदेश मन्त्री याङ् जेइची र विदेश मन्त्री वाङ् यी वीच कठोररूपमा आक्रामक आरोप -प्रत्यारोप वीच अत्यन्त असहज र तनावपूर्ण स्थितिमा बैठक सम्पन्न भएकाबारे बिभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा उल्लेख गरेका थिए ।

वार्तामा अमेरिकी पक्षले सिञ्जियाङ्, ताइवान, हंगकंगको वस्तुस्थितिबारे गम्भीर सरोकार व्यक्त गर्यो र अमेरिका र अमेरिकाका मित्र देशहरू विरूद्ध साइबर आक्रमण र आर्थिक दवावका कार्यहरूमा चीनियाँ पक्षको संलग्नताको आरोप लगायो ।

आफ्नो मुलुकमा आन्तरिक विवाद र द्वन्द्व बढाउने र विदेश नीतिका मामिलामा त्यस्तो हस्तक्षेपकारी नीति अवलम्बन गरिरहेको भनेर चीनियाँ पक्षले अमेरिका विरूद्ध कडा आक्रोश व्यक्त गर्दै वाशिंगटनले स्थापित अन्तर्राष्ट्रिय कूटनीतिक शिष्टाचार र मर्यादा उल्लङ्घन गरेको आरोप लगायो ।

साथै प्रजातन्त्र, मानव अधिकार र जातिया भेदभावका सवालमा चीनियाँ पक्षले अमेरिकाको उपहास पनि गर्‍यो।

दोस्रो, अघिल्लो बुधवार एबिसी टेलिभिजनका जर्ज स्टेफनोपोलससँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग ‘के उनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई राम्रोसँग चिन्दछन् ?’

‘के उनी हत्या सम्बन्धी क्रियाकलापसँग सम्बन्धित छन् ?’ भनेर सोधे ।

बाइडेनले दुवै प्रश्नको उत्तरमा हो भनेर जवाफ दिए ।

त्यसपछि बाइडेनले २०२०को अमेरिकी निर्वाचनमा गरेको हस्तक्षेप र आफ्नो मुलुक भित्र आफ्ना विरोधीहरूको हत्यामा उनको संलग्नताकोलागि पुटिनलाई दण्ड दिइने बताए । (११ )

दी न्युयोर्कर पत्रिकामा माशा गेसेनको लेखमा उल्लेख भए अनुसार बाइडेनको प्रतिकृया लगत्तै परामर्शका लागि राष्ट्रपति पुटिनले रूसका लागि अमेरिकी राजदुतलाई बोलाए ।

वार्ताको क्रममा उनले अमेरिकासँग कुनै खासै कुराकानी नगरिने बताए र मुसुक्क हाँसेर राष्ट्रपति बाइडेनको सुस्वास्थ्यको कामना गरे ।

उनले थप भने ‘मैले यसो भन्दा कुनै बिडम्बना वा व्यङ्ग नबुझियोस।’

यसलाई कूटनीतिक क्षेत्रले रूसले अमेरिकालाई दिएको धम्कीको रूपमा बुझ्यो । साथै उमेरका कारण अमेरिकी राष्ट्र्रपति विषय वस्तुलाई बुझ्ने, ग्रहण गर्ने, विवेक प्रयोग गर्ने र स्मृति हराउँदै गएकाले उनको राम्रो मानसिक स्वास्थको कामना गरेको व्याख्या कूटनीतिक क्षेत्रले गर्यो । (१२ )

स्मरण रहोस् भ्लादिमिर पुटिन वर्तमान विश्वका सवैभन्दा लामो समय सम्म ( दुई दशक भन्दा बढी ) शासनमा रहेका र वर्तमान विश्वको दोस्रो सैनिक शक्ति राष्ट्रका शक्तिशाली राजनेता हुन् ।

समसामयिक विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरू मध्ये सवैभन्दा अनुभवी राजनेता पनि हुन् !

आन्तरिक रूपमा रूस जति एकतावद्ध छ, पुटिनप्रति रूसी जनताको जति विश्वास छ, त्यो स्थितिमा वर्तमान विश्वको अर्को कुनै शक्ति राष्ट्र छैन ।

बाइडेन प्रशासनले चीन र रूससँगको सम्बन्धमा एकैसाथ तनाव र द्वन्द्वको स्थिति निर्माण गरेको, अमेरिका विरूद्ध साझा रणनीति तयार गर्न उनीहरूलाई प्रेरित गरेको तर अमेरिका एकैसाथ रूस र चीनसँग भिड्ने सामर्थ्य नराख्ने कुरामा अमेरिकी सैन्य विदहरू चिन्तित देखिन्छन् ।

यहाँ अर्को विचारणीय कुरो के पनि छ भने, चीनले आफ्ना भावी राष्ट्रपति र पार्टी नेतृत्वलाई दुनियाँ देखाउने र बुझाउने क्रममा सी जिन्पिङ्लाई अमेरिकाको भ्रमणमा पठाएको थियो र उनी मार्फत तत्कालीन अमेरिकी उपराष्ट्रपति जो बाइडेनलाई चीन भ्रमण गराएको थियो ।

अर्थात सी जिन्पिङ्ग र जो बाइडेन आफ्ना आफ्ना मुलुकका उपराष्ट्रपति हुँदै एक अर्को मुलुकको औपचारिक भ्रमणमा गएका र परस्पर राम्रो चिनजान भएका व्यक्ति हुन् ।

एक अर्काको बारेमा दुवैमा कुनै भ्रम छैन ।

बाइडेन डोनाल्ड ट्रम्प जस्तै एकाएक राष्ट्रपति हुन आएका पनि होइनन् ,

बाइडेन दशकौँसम्म सिनेटमा सदस्य रहे ।

परराष्ट्र मामिलामा उनी घाग मानिन्छन् ।

उनको उमेरले उनको वर्तमान कार्य शैली, चिन्तन र विदेश र रक्षा सम्बन्धी नीतिमा कत्तिको असर पारेको छ त्यति स्पष्ट भइसकेको छैन ।

तर उत्तिकै ध्यान दिइनु पर्ने तथ्य के हो भने, अमेरिकाका विदेश र रक्षा नीतिमा राष्ट्रपति त्यहाँको काङ्ग्रेस, सेना, विदेश र रक्षा मन्त्रालय, सम्वन्धित थिङ्क ट्यांक र मिडियाहरूमध्ये राष्ट्रपति मूख्य साझेदार मात्रै हुन् । सर्वेसर्वा होइनन् ।

त्यसैले राष्ट्रपतिमा बाइडेन भए पनि र ट्रम्प भए पनि उनीहरू प्रमुख नीति निर्धारक मात्रै हुन्, नीतिका स्वामी होइनन् ।

तर चीनमा एक किसिमले त्यसको ठिक विपरित अवस्था भन्न सकिन्छ ।

चीनमा विदेश र रक्षा नीतिमा काम गर्ने जति पनि सँस्था र संरचना छन् , ती त्यहाँका राष्ट्रपति र पार्टी नेतृत्वका सहयोगी हुन्, साझेदार होइनन् ।

अमेरिकी राष्ट्रपतिले विदेश मन्त्रालय, रक्षा मन्त्रालय, सुरक्षा निकाय र सेनालाई राष्ट्रिय सुरक्षा परिषद मार्फत समन्वय गर्दछन, नेतृत्व गर्दछन् , नीति निर्माण र कार्यन्वयनका अधिकांश क्षेत्रमा त मन्त्रालयहरू, सुरक्षा निकायहरू र सेनाका विभागहरू स्वतन्त्र ढङ्गले काम गरिरहेका हुन्छन् ।

अमेरिकी काङ्ग्रेसले त राष्ट्रपतिलाई त्यस्ता मामिलामा डेग चल्न नै नसक्ने गरी नियन्त्रण गर्दछ ।

भियतनाम युद्ध अन्त्य गर्ने सवालमा अन्त्यमा आएर अमेरिकी काङ्ग्रेसले अमेरिकी राष्ट्रपति , विदेश र रक्षा मन्त्रालयलाई हल न चल पारेकोबारे हेनरी किसिन्जरले ठूलो पीडा पोखेर लेखेका छन् ।

 आक्रामक चीनियाँ रणनीतिक गतिविधि र अमेरिका

 केही अघि मात्रै अमेरिकाको विमान वाहक जहाज युएसएस थियोडोर रूजवेल्टको एउटा नमूना तयार गरेर दक्षिण चीन सागरमा निगरानी उडानमा रहेको र चारवटा रक्षक लडाकु विमानद्वारा सुरक्षा प्रदान गरिएको एउटा चीनियाँ वम वर्षक विमानद्वारा नमूनाको उक्त अमेरिकी विमान वाहक जंगी बेडालाई ध्वस्त पार्ने सैनिक अभ्यास चीनियाँ सेनाले गरेको थियो (१३ )

यो कुनै सैनिक अभ्यास मात्रै थिएन, एउटा सङ्केत थियो र ताइवान, जापान र अमेरिकालाई दिएको प्रष्ट चेतावनी पनि थियो

अमेरिकी सहायक जल सेना प्रमुख तथा दक्षिण चीन सागर र आसपासका क्षेत्रमा अनुगमनमा रहेको अमेरिकी जंगी बेडा निमिजका कमान्डर तथा रियर एडमिरल जेम्स किर्कले उल्लेख गरे बमोजिम सो क्षेत्रमा चीनको आक्रामक जल सेना सम्बन्धी गतिविधिमा विस्तार भइरहेको छ (१४ )

त्यस्तो चीनियाँ गतिविधि ट्रम्प प्रशासनको कार्यकालमा पनि यथावत थियो

 ट्रम्प प्रशासनले सन् २०१८मा तय गरेको चीन सम्वन्धी रणनीति पत्रका हालै सार्वजनिक भएका केही गोप्य रणनीतिहरूले त्यसलाई प्रष्ट पारेका छन् (१५)

 सो रणनीति र हालै सार्वजनिक गरिएको त्यसको गोप्य अंश (१६) को मूल उद्देस्य क्षेत्रका अमेरिकी रणनीतिक साझेदार राष्ट्रहरूलाई अमेरिकी प्रतिवद्धताबारे आश्वस्त पार्नु रहेको भनाई निवृत्तमान अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनको थियो

 उक्त दस्तावेजमा क्षेत्रमा चीनियाँ प्रभाव र हस्तक्षेपकारी गतिविधिलाई नियन्त्रण गर्न भारतसँगको अमेरिकी रणनीतिक साझेदारीलाई उच्च महत्व दिइएको छ

 आफ्नो कार्यकाल समाप्तिको अन्तिम दिन तत्कालिन अमेरिकी विदेश मन्त्री माइक पम्पेओले चीनको मुस्लिम बहुल तथा भारत ,पाकिस्तान,अफगानिस्तान,मंगोलिया, कजाकस्तान र किर्गिजस्तानसँग सीमा जोरिएको सिञ्जियाङ्मा चीनले त्यहाँका मुस्लिम जनतामाथि गरेको अत्याचारबारे अत्यन्त कडा विज्ञप्ति जारीगरेका थिए (१७ )

उपरोक्त सवै सन्दर्भलाई दृष्टिगत गरेर अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि चीनबाट संसारको कुनै पनि कुनामा अमेरिका र उसका का मित्रराष्ट्रहरू विरुद्ध प्रस्तुत हुनसक्ने कुनै पनि स्तरको सैन्य चुनौतीहरूलाई सशक्त ढङ्गले सामना गर्ने र अमेरिकी र अमेरिकी पक्षको विजयलाई सुनिश्चित गर्ने उद्देस्यले अमेरिकी रक्षा मन्त्रालयमा एउटा शक्तिशाले र उच्च स्तरको कार्यदल गठन गरेका छन् (१८ )

क्रमश:

स्रोत तथा सन्दर्भ सामग्री

() दी ह्वाइट हाउस ब्रिफिङ् रूमयु.एस. जापान ग्लोबल पार्टनरसिप फर अ न्यू एरायु एस जापान ज्वाइन्ट लिडर्स स्टेटमेन्ट एण्ड रिलिजेज , अप्रिल १६, २०२१

 ( ) केन मोरियासु – (निक्के एसियाजापान ) बाइडेन एण्ड सुगा रिफर टुपीस एण्ड स्ट्याबिलिटी अफ ताइवान स्ट्रेइटइन स्टेटमेन्ट, अप्रिल १७, २०२१.

( ) हेनरी किसिन्जर यर्स अफ रिन्युवल, टच स्टोन बुकसाइमन एण्ड सुस्टर,२०००, पृष्ठ ८८२ र ८८६.

 ( ) जेम्स होम्ज(दी नेसनल इन्ट्रेस्ट) प्रिपेयरिङ्ग फर वार“: ह्वाट इज चाइनाज सी जिन्पिङ्ग ट्राइङ्ग टु टेल अस , अक्टोवर १८, २०२०.

 स्ट्यान ग्रान्ट (एबिसी न्युज अस्ट्रेलिया)दी यु.एस. चाइना आर प्रिपेयरिङ्ग फर वार एण्ड अस्ट्रेलिया इज कअट इन दी क्रस हेयर्स, मार्च २०, २०२१,

 स्टाभरोस् अट्लामजोग्लु -( बिजिनेस इनसाइडर) – दी यु.एस. इज प्रिपेयरिङ्ग फर अ फाइट विथ चाइना इन दी प्यासिफिक, सेप्टेम्बर २२, २०२०. आदि

 ( ). मिलिटरी एण्ड सेक्युरिटी डिभेलप्मेन्ट्स इन्भल्भिङ्ग दी पिपुल्स रिपब्लिक अफ चाइना २०२०, एनुयल रिपोर्ट टु काङ्ग्रेस

 ( ) इभान ओस्नोस ( दी न्युयोर्कर ) दी फ्युचर अफ अमेरिकाज कन्टेस्ट विथ चाइना, जनवरी १३, २०२०.

 () पल हीर ( फरेन अफियर्स )अ हाउस युनाइटेड, जुलाईअगस्ट २०००.

 () एल्ब्रिज कोल्बी र रोबर्ट डी. कप्लान -( फरेन अफियर्स )दी आइडियोलोजी डिल्युसन, सेप्टेम्बर ४, २०२०.

 (९ ) ग्राहम एल्लिसोन (दी अटलान्टिक) दी थ्युसिडेडिस ट्रयाप : आर दी यु.एस. एण्ड चाइना हेडेड फर वार ? सेप्टेम्बर २४, २०१५ ,

२०१७मा एल्लिसोनको ‘डेस्टिन्ड फर वार क्यान अमेरिका एण्ड चाइना इस्केप थ्युसिडेडिस ट्रयाप’ नाउको पुस्तकलाई समेत हटन मिफ्लिन हार्कोर्टले प्रकाशनमा ल्याएको छ ।

 (१० ) हेर्नुहोस बी जोवेट एम.ए. : थ्युसिडेडिस-ट्रान्सलेटेड इन्टु इङ्लिस, अक्सफोर्ड एट दी क्लारेन्डेन प्रेस, १८८१.

दी कम्प्लिट राइटिङ्गस् अफ थ्युसिडेडिस- दी पेलोपोनेसियन वार,दी मोडर्न लाइब्रेरी रेन्डम हाउस, १९५१.

थ्युसिडेडिस- हिस्टोरी अफ दी पेलोपोनेसियन वार, अनुवाद रेक्स वार्नर, पेङ्गुइन,१९१६.

(११ ) माशा गेसेन ( दी न्युयोर्कर) हाउ बाइडेन र्याटल्ड पुटिन, मार्च १९, २०२१

(१२ ) माशा गेसेन ( दी न्युयोर्कर) ऐजन ।

 (१३ ) क्याथरिन हिल्ले र देमित्री सेभास्तोपुलो (दी फिनान्सियल टाइम्स ) बेइजिङ्ग लेज डाउन अ मार्कर इन साउथ चाइना सी, फेब्रुवरी २, २०२१.

 (१४ ) देमेत्री सेभास्टो पुलो र क्याथरिन हिल्ले ( फिनान्सियल टाइम्स) युएस एडमिरल सेज चाइनिज मिलिटरी एक्टिभिटी इज राइजिङ्ग इन साउथ चाइना सी , फेब्रुवरी १०, २०२१

 (१५) दी ह्वाइट हाउस , नेसनल सेक्युरिटी काउन्सिलस्टेटमेन्ट फ्रम नेसनल सेक्युरिटी काउन्सिल अड्भाइजर रोबर्ट सी ओब्राइनजनवरी १२ , २०२१.

 (१६) रोबर्ट सी ओब्राइनको उपरोक्त विज्ञप्तिमा नै लिङ्क दिएर उक्त रणनीति पत्रको गोप्य अंश समाविष्ट रहेको छ

 (१७ ) डिटरमिनेसन अफ दी सेक्रेटरी अफ स्टेट अन एट्रोसिटिज इन सिञ्जियाङ्: प्रेस स्टेटमेन्ट, माइकेल आर. पम्पिओ, सेक्रेटरी अफ स्टेट,युएस डिपार्टमेन्ट अफ स्टेट ,जनवरी १९, २०२१

(१८ ) देमेत्री सेभास्तो पुलो र कट्रिना म्यान्सन (फिनान्सियल टाइम्स,जो बाइडेन क्रिएट्स पेन्टागन टास्क फोर्स अन चाइना, फेब्रुवरी ११, २०२१.

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’