
ठूलो ढुङ्गा पल्टाउँ भन्दा गल पर्यो उता
अडिएकोलाई हल्लियो भने बल पर्यो उता ।।
बिचमा आँठो तेर्सिएको गरो जोत्न खोज्दा
जोतारो जुवा लाखा पाखा हल पर्यो उता ।।
बण्डा गर्न तयार हुँदा मिलाउँ अझै भनि
कबचमा बसि बात मारे खल पर्यो उता ।।
हाँगा हाल्छ खुबै भनि गोडमेल गर्न थाले
आखिर बोट सुक्दै गयो मल पर्यो उता ।।
पालो पर्खि धेरै बसे खाउँला पिउँला भनि
तिर्खा कहिल्यै मेटिएन जल पर्यो उता ।।
मिल्ने भन्छन् हाउभाउले बाटो लागे अर्कै
गाँसिउँ न त भन्ने यता तिर छल पर्यो उता ।