
सिमकोट– हेलिकोप्टरमार्फत काठमाडौँबाट सिमकोट हुँदै हिल्सा पुगेर राजदूतहरुले सोलार मिनीग्रीडको शिलान्यास गरेका छन्। मिनीग्रीडको निर्माण कम्पनी छनौट भएपछि कोरोना कहरका बेला हुम्ला आएर राजदूतको टोलीले सिलान्यास गरेको हो।
लगानी साझेदार देश फिन्ल्याण्डका राजदूत प्रेट्टी एन्टिनेन र युरोपियन युनियन (इयू) का राजदुत नोना डेप्रेज सदरमुकाम सिमकोट हुँदै हिल्सामा पुगेर एक सय किलोवाट उत्पादन क्षमताको सोलार मिनीग्रीडको शिलान्यास गरेको ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले जानकारी दिए।
सो आयोजनाबाट हिल्साको बस्ती विद्युतिकरण हुनुका साथै भुईचुक प्रशोधन मेशिन पनि स्थापना हुनेछ।
यस्तै राजदूतहरुको टोली सोमबार हेलिकोप्टरमा नाम्खा गाउँपालिका–५ को यारीमा पचास किलोवाटको सोलार मिनीग्रीडको पनि शिलान्यास गरेको छ।
उक्त आयोजनाबाट यारीका दुई वटा गाउँ विद्युतिकरणका साथै तेल पेल्ने मेशिन पनि स्थापना गरी सञ्चालन ल्याउने आयोजनाको योजना रहेको छ।
उक्त दुवै सोलार मिनीग्रीड आयोजनाका लागि सात करोड लागत लाग्नेछ। उत्तरी सीमा क्षेत्रका दुबै बस्तीमा पहिलो पटक विद्युतिकरण हुनेछ।