
सिमकोट– उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाले कोरोना संक्रमणको दोस्रो लहर चलेका बेला पहिलो पटक डाक्टर नियुक्त गरेको छ। कोरोना संक्रमणका साथै अन्य उपचारमा सहजता ल्याउनका लागि गाउँपालिकाले डाक्टर नियुक्त गरेको हो।
गाउँपालिकासँग कोभिडका लागि बजेटको व्यवस्था भएको र अहिलेको समयमा डाक्टरको नियुक्ति गर्नु उपयुक्त देखिएको हुँदा नयाँ नियुक्ति गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए।
स्वास्थ्य उपचारका लागि अन्य स्वास्थ्यकर्मी भएपनि गाउँपालिकाले हालसम्म डाक्टर नियुक्त गरेको थिएन। तर बजेट पनि भएको र कोरोना संक्रमणका बेला डाक्टरको आवश्यकता खड्किएका कारण गाउँपालिकाले नयाँ डाक्टर नियुक्त गरेर काममा खटाएको छ।
उक्त गाउँपालिकालाई गत वर्ष गाउँपालिकाको केन्द्र याल्वाङमा कोरोना संक्रमण देखिएपछि जिल्लाबाट चिकित्सकको टोली झिकाउन निक्कै हम्मे परेको थियो। अब आफ्नै गाउँपालिकामा एमबीबीएस डाक्टर भएपछि उपचारमा सहजता आउने विश्वास गाउँपालिकाले लिएको छ।
नयाँ डाक्टर नियुक्त भएसँगै हाल नाम्खा गाउँपालिकाका विकटका बस्तीहरुमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको अधिकृत न्यौपानेले जानकारी दिए।
हाललाई तीन महिनाका लागि नियुक्त गरिएको भएपनि एक वर्ष म्याद थप गर्ने तयारीमा गाउँपालिका रहेको छ। आफ्नै स्रोतबाट डाक्टर नियुक्त गर्ने नाम्खा गाउँपालिका जिल्लाको दोस्रो गाउँपालिका भएको छ। यसअघि सामुदायिक अस्पताल स्थापना गर्न सफल खार्पुनाथ गाउँपालिकाले पहिलो पटक डाक्टर नियुक्त गरेको थियो।
यसअघि जिल्लामा एक जना डाक्टर बस्न कठिन हुने अवस्थामा अहिले भने जिल्लामा डाक्टरको संख्या नौ पुगेको छ। आठ जना जिल्ला अस्पतालमा र एक जना नाम्खा गाउँपालिकामा रहेका छन्।