
बुटवल – लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छन्।
नेकपाबाट चुनाव लडेकी खत्री माओवादी केन्द्रमा प्रवेश गरेकी हुन्।
उनले दल परिवर्तन गरेको पत्र आएको र पत्र दर्ता भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।
खत्री माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। पाेखरेलले आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
बहुमत प्राप्त दलकाे हैसियतमा नयाँ सरकार पनि पाेखरेलकै नेतृत्वमा गठन गर्ने निर्णय एमालेले गरेकाे थियाे। तर खत्री माओवादीमा प्रवेश गरेसँगै एमालेकाे बहुमत गुमेकाे हाे।
खत्रीले दाङ ३ (२) बाट चुनाव जितेकी थिइन्।
एमाले र माओवादी एकीकरण भएर बनेको नेकपाबाट सूर्य चिन्ह लिइ चुनाव लडेका प्रतिनिधिको राजनीतिक दल कुन हुने भन्ने सम्बन्धमा विवाद रहेको छ।
सम्बन्धित प्रतिनिधिलाई नै एमाले वा माओवादीमा जाने निर्णय गर्न दिनु पर्ने एक पक्षको तर्क छ भने सूर्य चिन्ह एमालेकाे भएकाले उनीहरु एमालेकै प्रतिनिधि हुने जिकिर अर्को पक्षकाे छ। यस सम्बन्धी मुद्दा अहिले अदालतमा विचाराधीन अवस्थामा छ।