
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै ठूला अस्पताललाई कोरोना केन्द्रित अस्पताल बनाउने घोषणा गरेका छन्।
सोमबार देशवासीका नाउँमा सम्बोधन गर्दैै ओलीले सरकारले नागरिरको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै ठूला अस्पताललाई कोरोना अस्पताल बनाउने बताएका हुन्।
उनले प्रदेशस्तरका साना अस्पताललाई अरु रोगको उपचारमा केन्द्रित गरिने निर्णय सुनाएका छन्। सोमबार रातिदेखि सबै आन्तरिक उडान बन्द गरिने र अन्तर्राष्ट्रिय उडान वैशाख मसान्तसम्म बन्द गरिएको स्मरण पनि प्रधानमन्त्रीले गरे। भारतसँगको उडान भने साताको दुईपटक हुने जानकारी पनि उनले गराए।
सबै अस्पतालले पूर्ण रुपमा बिरामीको उपचार गर्नुपर्ने र त्यसको विवरण सरकारलाई नियमति रुपमा बुझाउनुपर्ने छ।
सरकारी निर्णयको अवज्ञा गर्नेलाई कारबाही गर्ने चेतावनी सरकारले दिएको छ। प्रधानमन्त्रीले सबै पार्टी प्यालेस र रंगशालाहरुलाई आइसोलेसनमा परिणत गरिने घोषणा गरेका छन्।
त्यस्तै प्रधानमन्त्रीले अक्सिजनलाई उपचार बाहेक अरु क्षेत्रमा प्रयोग गर्न रोक लगाइएको उल्लेख गरे।