
सिमकोट – जनगणना कार्य स्थगन भएको जनगणना कार्यालयका प्रमुख विनोद भट्टलाई कोरोना पुष्टि भएको छ। बिहीबार बेलुका कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएपछि रुघाखोकी र टाउको दुख्ने लक्षण देखिएका कार्यालय प्रमुख भट्टसहित एलिस होटलमा बस्ने २५ जनाको एन्टिजिनबाट कोरोना परीक्षण गर्दा २ जनामा कोरोना देखिएको हो।
जिल्ला निर्वाचन कार्यालयमा सहयोगीमा काम गर्ने महिला कर्मचारीलाई कोरोना देखिएपछि शुक्रबार होटलमा बस्ने २५ जनाकै कारोना परीक्षण गर्दा कार्यालय प्रमुख भट्टसहित अर्का एक जना होटलमा काम गर्ने पुरुषलाई कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए। अन्य २३ जनाको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको उनले बताए।
जनगणना कार्यालय होटल एलिसमा सञ्चालन हुँदै आएको थियो। हुम्लामा पाँच दिनको अन्तरमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ।
बिहीवार बेलुका मानिसले बोकेर अस्पताल ल्याएकी एक जना महिलाको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो।
यसअघि हवाईमार्गबाट नेपालगञ्जबाट आएका ६ जना र सुर्खेतबाट आएका दुई जनालाई सिमकोट विमानस्थलको हेल्थ डेस्कमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। हुम्लामा संक्रमितको संख्या ११ पुगेको छ।
कोरोना संक्रमितको अवस्था भने सामान्य रहेको जनाइएको छ।