
सिमकोट– कोरोना संक्रमित थपिन थालेपछि हिमाली जिल्ला हुम्लामा निषेधाज्ञा थप एकसाता लम्ब्याइएको छ। हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले निषेधाज्ञा केही खुकुलो पारेर जेठ ४ गतेसम्म लम्ब्याइएको जानकारी दिए।
एक हप्तादेखि जारी निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकाल्दै सेवाग्राहीलाई सहजताका लागि निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय भएको उनले बताए। नयाँ निर्णय बुधबार राति १२ बजेबाट लागु हुने सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए।
खुकुलो पारिएको निषेधाज्ञामा बिरामी र सुरक्षाकर्मी बोकेका सवारीसाधन, खाद्यान्न बोकेका सवारीसाधन सञ्चालन गर्न पाइनेछ।
त्यसैगरि अनुमति लिएर निर्माण सामग्री बोकेका सवारीसाधन पनि सञ्चालन हुन पाउनेछन्। सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु २५ प्रतिशत कर्मचारीको व्यवस्था गरेर सञ्चालन आउने र बैंकहरु बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म सञ्चालन गर्न पाइनेछ।
हवाई मार्ग हुँदै नेपालगंज र सुर्खेतबाट भित्रिएका आठ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि हुम्लामा निषेधाज्ञा जारी गरिएको थियो। हवाई मार्गबाट खाद्यान्न, कार्गो र विकास निर्माणका सामानहरु ढुवानी हुन पाउनेछन्।
यो अवधिमा स्वास्थ्य, शान्ति सुरक्षा, सूचना तथा सञ्चार, खानेपानी, फोहोर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, खाद्य तथा दुग्ध पदार्थ , औषधी पसल, बैंकका एटिएम सेवा भने सुचारु रहनेछन्।
त्यसैगरि जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालन गरी दैनिक उपभोग्य बस्तु (तरकारी, खाद्य, दुध, ग्यास) पसलहरु बिहान सात बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइनेछन्।
यो अवधिमा हवाई यातायातबाट यात्रुहरु भने आउन पाउने छैनन्। त्योसँगै जिल्लाका दक्षिणी क्षेत्रका कवाडी, बालुकुना र चंखेली नाका समेत पनि सिल गरिएको छ।