
सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। मुख्यमन्त्री शाहीले मन्त्रालय फुटाएर बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
पुनर्गठित मन्त्रिपरिषद्मा माओवादी केन्द्रकै नयाँ तीन जनालाई मन्त्रीमा नियुक्त गरिएको छ। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम (बिहीबार) बिहान ११ बजे तय गरिएको छ।
मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सामाजिक विकास मन्त्रालयअन्तर्गत युवा तथा खेलकुद महाशाखालाई गाभेर आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा सुर्खेतका विन्दमान विष्टलाई नियुक्त गरेका छन्।
यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय बनाइएको छ। उक्त मन्त्रीमा सुर्खेतकै सीताकुमारी नेपालीलाई नियुक्त गरिएको छ।
मन्त्रालय फुटेपछि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय भएको छ। मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजनामन्त्रीमा रुकुम पश्चिमका गोपाल शर्मालाई नियुक्ति गरेका छन्।
बुधबार मात्रै आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिल तथा योजनामन्त्री विमला केसीले राजीनामा दिएपछि उनीहरूला्ई नियुक्त गरिएको हो।
मुुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने आफँै राखेका छन्। यसअघि फ्लोर क्रस गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा कुर्मराज शाहीलाई नियुक्ति गरेका थिए। कांग्रेस भने अझै सत्तामा गएको छैन।