
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन दलहरुलाई दिएको भाका सकिन केही घण्टा मात्रै बाँकी रहेका बेला प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग असन्तुष्ट माधवकुमार नेपाललाई फकाउने तीव्र प्रयास गरेका छन्।
त्यसक्रममा उनले बिहीबार बिहान स्थायी कमिटी बैठकमार्फत नेपालसहित चारजना नेतामाथि लगाएको ६ महिने निलम्बन फुकुवा गरेका छन्।
ओली निकट एक स्थायी कमिटी सदस्यका अनुसार ओलीले बिहीबार नै नेपालपक्षलाई समेत समावेश गरेर स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन्।
साथै उनले नेपालसँग एक्लै वार्ताको पहल पनि गरिरहेका छन्। ती सदस्यअनुसार ओलीले बुधबार राति र बिहीबार बिहान नेपाललाई फोन गरेर फकाउने प्रयास गरेका थिए। राष्ट्रपति भण्डारीले दिएको भाका बिहीबार राति ९ बजे सकिँदैछ।
नेपाल फागुन २८ मा आफू पक्षीय पदाधिकारीलाई जिम्मेवारीबाट हटाउने ओलीको निर्णय फिर्ता लिनुपर्ने अडानमा छन्। आफ्नो निर्णय उल्ट्याउन ओली अहिलेसम्म सहमत भएका छैनन्।
तर स्रोतका अनुसार नेपालसँग विवाद उत्पन्न भएपछि पुनः गठन गरेका तल्ला कमिटीलाई मिलाउन कार्यादल गठन गर्न अोली सहमत छन्।
वैशाख २७ गते नेपाल पक्षका नेपाल सहित २८ जनाले ओलीलाई ‘विश्वासको मत’मा मत हालेको थिएन। यो बीचमा ओलीले आफ्ना विश्वास पात्रलाई नेपाल पक्षका दोस्रो तहका नेताहरु घनश्याम भुसाल, योगेश् भट्टराई, ठाकुर गैरेलगायत नेताहरुसँग तारन्तार छलफल गरिरहेका छन्।