
सिमकोट– निषेधाज्ञा जारी रहेका बेला सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा ९४८ क्विन्टल खाद्यान्न हवाई मार्गबाट ढुवानी भएको छ। खाद्यान्न अत्यावश्यक चिजभित्र पर्ने भएको कारण निषेधाज्ञामा पनि ढुवानी कार्य नरोकिएपछि ठूलो परिमाणमा खाद्यान्न भित्रिएको हो।
निषेधाज्ञा जारी रहेको एक हप्तामा नेपालगञ्ज र सुर्खेतदेखि हवाईमार्गबाट खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न ९४८ दशमलव ५० क्विन्टल ढुवानी भएर आएको लिमिटेड हुम्ला शाखाका प्रवक्ता भरतप्रसाद अधिकारीले जानकारी दिए।
यो अवधिमा विमानले एक दिनमा २३ वटासम्म उडान भरेका थिए। यसमा नेपालगञ्जबाट ३० क्विन्टल र सुर्खेतबाट ९१८ दशमलव ५० क्विन्टल खाद्यान्न ढुवानी भएको हो। खाद्यान्न ढुवानी हुने क्रम जारी छ।
निषेधाज्ञाको कारण हवाई मार्गबाट ढुवानी भएर सिमकोट विमानस्थलमा मौज्दात रहेको खाद्यान्न ट्र्याक्टर प्रयोग गरेर लिमिटेडको गोदामसम्म ओसार्ने कार्य पनि भएको उनले बताए।
लिमिटेडद्वारा व्यवस्था भएको खाद्यान्न प्रतिकेजी ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बिक्री हुने गरेको छ। निषेधाज्ञाका बेला खाद्यान्न ढुवानी भएपछि अब हुम्लामा खाद्यान्न समस्या नहुने लिमिटेडले जनाएको छ।