
सिमकोट – हुम्लाबाट एक जना स्वास्थ्यकर्मीको हेलिकप्टरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उद्धार गरी लगिएको छ।
सर्केगार्ड गाउँपालिकाका स्वास्थ्य संयोजकलाई श्वास प्रश्वासमा निकै समस्या देखिएकाले स्वास्थ्यकर्मीको हुम्लामा उपचार नहुने भएपछि प्रतिष्ठान जुम्लामा उद्धार गरिएको हो।
रानीवनको आइसोलेसन वार्डमा तीन दिनदेखि बस्दै आएका सर्केगार्ड गाउँपालिका स्वास्थ्य संयोजक सन्तोष धामीलाई शुक्रबार बिहानबाट एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि कोभिड वार्डमा ल्याएर उपचार सुरु गरिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले जानकारी दिए।
अक्सिनजको मात्रा ४० मा झरेपछि जिल्लाबाहिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रिफर गरिएको उनले बताए।
तीन दिनअगाडि सामान्य ज्वरो आउँदा कोरोना परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो।
काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकप्टरले कोरोना संक्रमित ती स्वास्थ्यकर्मीको जुम्लाका प्रतिष्ठानमा उद्धार गरेको हो।
अक्सिजन कन्सर्नटेटरबाट उनको उपचार कोभिड वार्डमा भइरहे पनि भेन्टिलेटर नभएपछि उनलाई जुम्ला रिफर गर्नुपरेको चिकित्सक लामाले बताए।
हेलिकप्टरको भाडा ९ लाख ५० हजार भने सर्केगार्ड गाउँपालिका र संक्रमित व्यक्तिबाट तिर्ने सहमति भएको छ।