
सिमकोट– हुम्लामा निषेधाज्ञा जारी रहेका बेला कोरोना संक्रमणविरुद्ध सञ्चालन हुने हरेक गतिविधिका लागि जिल्लास्थित राजनीति दलको सहयोग गर्ने प्रतिबद्धताका साथै खबरदारी सुरु गरेका छन्।
कोरोनाविरुद्ध काम गर्न निर्णय बढी हुने तथा प्रभावकारी कार्यान्वयन हुन नसकेपछि दबाबसहित दलहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
कोरोना महामारी जिल्लामा भुसको आगोझैं फैलिन थालेको बताउँदै कांग्रेस जिल्ला सभापति जयपति रोकायाले त्यसविरुद्ध वडादेखि जिल्लासम्म सञ्चालन हुने कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।
जिल्लामा कोरोना संक्रमणविरुद्ध काम गर्ने गरी निर्णय धेरै हुने तर त्यसको कार्यान्वयन हुन नसकेपछि राजनीति दल तथा नागरिक समाजका अगुवाबीच भएको छलफलमा दलका नेताहरूले सो कुरा बताएका हुन्। आफ्ना गाउँपालिका स्तरका संरचना कोरोना महामारीविरुद्ध परिचालन गर्न चाँडै सर्कुलर गर्ने र जिल्लामा निर्णय कार्यान्वयन गर्ने निकायसँग खबरदारीका साथै आवश्यक सहयोग गर्ने उनले बताए।
कोरोनाविरुद्ध पार्टी कार्यालयलाई आइसोलेसन वार्ड निर्माणदेखि कार्यकर्ता परिचालन र कोरोना संक्रमणका लागि पार्टीको माथिल्लो निकायसँग समन्वय गरेर अगाडि गढ्ने कार्य गर्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हुम्ला इन्चार्ज विजय भण्डारीले बताए।
भण्डारीले अब बस्ती–बस्तीमा कोरोनाविरुद्ध सञ्चालन हुने जनचेतनामूलक कार्यक्रमका लागि सहयोग गर्ने बताए।
गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गर्न पनि तयार रहेको बताउँदै उनले सबैले कोरोनाविरुद्ध भूमिका खेल्न आग्रहसमेत गरे।
यता नेकपा एमालेको सचिवालय सदस्य डबल रावतले निषेधाज्ञादेखि अन्य ग्रामीण स्तरमा सञ्चालन गरिने कार्यक्रममा आफ्नो पार्टीले पूर्णरूपमा सहयोग गर्ने प्रतिवद्धता जनाए।
कोरोनाविरुद्ध सञ्चालन गर्ने कार्यक्रमको प्रभावकारिताका सम्बन्धमा दलहरूले दबाब पनि दिने उनले बताए। आवश्यक साधन–स्रोत जुटाउनका लागि जिल्लास्थित सबै राजनीतिक दलले सामूहिक प्रतिवद्धतासमेत जनाएका छन्। छलफलमा जनता समाजवादी पार्टी र राप्रपाको पनि प्रतिवद्धता आएको थियो।
दल र नागरिक समाज सम्मिलित उक्त संयन्त्रको दैनिक रूपमा जिल्लामा भएका कोरोनाविरुद्धका गतिविधिको समीक्षासमेत गरिनेछ।