
हुम्ला– लामो समय ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लाका ग्रामीण बस्तीहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ। ग्रामीण भेगमा पर्ने दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना परीक्षण गर्ने क्रम बढेपछि संक्रमित संख्या बढ्दै गएको हो।
सोमबार मात्र पहिलो पटक एन्टिजेन किटबाट ४४ जनामा परीक्षण गरिएकोमा आठ जनामा कोरोना देखिएको चंखेली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु शाहीले बताए।
किट पुगेलगत्तै गाउँपालिकाको वडा नम्बर ४ मा गरिएको परिक्षणमा कोरोना संक्रमित देखिएको उनले बताए। चंखेलीसहित हुम्लाका सातमध्ये पाँच वटा गाउँपालिकामा कोरोना संक्रमण देखिएको छ।
बजार क्षेत्रभन्दा पनि ग्रमीण बस्तीमा कोरोना फैलन लागेकोमा उनले चिन्ता व्यक्त गरे। अब जिल्लामा कुल कोरोना संक्रमितको संख्या ५८ पुगेको छ। यसअघि चार वटा गाउँपालिकामा एकसाथ कोरोना संक्रमण फैलिएको थियो। कोरोना संक्रमणसँग मिल्ने बिरामी बढेपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमित देखिएका हुन्।
कुल संक्रमितमध्ये २० जना ताँजाकोट गाउँपालिकाका छन्।
त्यसअघि नेपालगंज र सुर्खेतबाट आएका आठ जना यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। त्यसयता दैनिक रुपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गर्दा बिरामी संख्या बढिरहेको कार्यालय प्रमुख प्रेम बहादुर सिंहले बताए। उनका अनुसार सिमकोट गाउँपालिकामा १० दिनमा १९ जना कोरोना संक्रमित देखिएका छन्।
यस्तै सर्केगार्ड गाउँपालिकामा १० जनामा कोरोना देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र शाहीले बताए।
यता अदानचुली गाउँपालिकामा गरिएको परीक्षणमा सात जनामा कोरोना देखिएको छ। एक हप्ता अगाडि नाम्खा गाउँपालिकाले कोरोना लक्षणसँग मिल्ने बिरामीको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।
जम्मा संक्रमितमध्ये एक जनामा श्वासप्रस्वासमा समस्या देखिएपछि हेलिकोप्टरबाट जुम्ला रिफर गरिएको र दश जनाले कोरोना जितेर घर फर्किएका छन्।
हाल जिल्लाका पाँच वटा गाउँपालिकाका आइसोलेशन वार्ड र होम आइसोलेशनमा ४७ जना संक्रमित रहेका छन्। संक्रमित सबैको अवस्था भने सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।