
सिमकोट – नेपाल टेलिकमको नेटवर्कका लागि घाम कुर्नुपर्ने अवस्था आएको छ।
एक सातायता सिमकोटस्थित छोपाखोर (किरिने खर्क) मा रहेको टेलिकमको टावरमा जडान गरिएको सोलार प्यानलले घाम लागेका बेलाबाहेक अन्य समयमा काम नगर्ने भएपछि घामसँगै नेटवर्क पनि अवरुद्ध हुने गरेको छ।
मौसम पनि बिग्रेका कारण हुम्लामा नेपाल टेलिकमका नेटवर्क आउने र जाने समय निश्चित नभएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।
मोबाइल सम्पर्क भएका बेला सरोकारवाला निकायलाई हुम्लामा नेटवर्कबारे जानकारी गराए पनि कुनै समस्या समाधान हुन नसकेको उनले बताए।
सञ्चारकर्मी नन्द सिंहले एउटा समाचार सम्प्रेषण गर्न तीन दिन कुनुपर्ने अवस्था आएको बताए।
केही उज्यालो भए र घाम लागे टेलिकमका मोबाइल र इन्टरनेटको नेटवर्क आउने तर घाम नलागेका बेला जाने गर्दा समस्या आएको उनले बताए।
तीन दिन लगातार वर्षाको कारण घाम नलागेपछि टेलिकमका नेटवर्क आउने कुनै निश्चित नभएपछि काम बन्द गरेर बस्नुपरेको उनले बताए।
टेलिकमको टावर भएको स्थानमा जडान गरिएका सोलार प्यानलले घाम नलागेका बेला काम नगरेकै कारण नेटवर्कमा समस्या आएको टेलिकमले जनाएको छ।