अफगानिस्तान र सिञ्जियाङ्को भूराजनीतिमा चीन र अमेरिका  

अफगानिस्तान र सिञ्जियाङ्को भूराजनीतिमा चीन र अमेरिका  
+
-

सारा विश्वमा अमेरिकी प्रभाव र  बर्चस्वविरूद्ध उभिएको चीन सिञ्जियाङ्सँग सीमा जोरिएको अफगानिस्तानमा रहेको अमेरिकी सेना हतार हतार फिर्ता नहोस् भन्ने चाहन्छ। र उक्त कुरा स्वयम् चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक  र सरकारको अनौपचारिक मुख पत्र  ग्लोबल टाइम्सले परोक्षरूपमा स्वीकार गरेको छ। ()

पछिका घटनाहरूले त्यसलाई सावित पनि गरेका छन्।

अफगानिस्तानबाट अमेरिका फिर्ता भएपछि त्यहाँ उत्पन्न हुने शक्ति शून्यतालाई तालिबानीहरूले हिंसा  र धम्कीले भर्न थालेका छन्। ()

हङ्कङ्बाट प्रकाशित हुने साउथ चाइना मर्निङ्ग पोस्टका अनुसार पनि अमेरिकी सेनाको फिर्ती पछि त्यहाँ उत्पन्न हुने सुरक्षा शून्यताले अफगानिस्तानको  सिमाना  छिचोलेर चीनको सिञ्जियाङ् पुग्ने र  क्षेत्रमा नै चीनको आर्थिक हित र सरोकारमाथि पनि घातक प्रहार गर्ने उल्लेख गरेको छ। ()

अफगानिस्तानमा नाटो सेनाको उपस्थितिकाप्रति चीनले सैद्धान्तिक रूपमा आलोचना गर्ने गरेको भए पनि त्यस्तो सैन्य उपस्थितिले अफगानिस्तान र क्षेत्रमा चिनियाँ हितलाई सघाऊ पुगेको एक विज्ञको रायलाई पनि साउथ चाइना मर्निङ् पोस्टले उल्लेख गरेको छ। ( )

म्यानमारको राजनीतिक सङ्कटमा आफ्नो संलग्नता राखिरहेको कारण म्यानमारसहित क्षेत्र र विश्वमा आलोचना खेपिरहेको, भारतसँगको सम्बन्धमा चुनौती व्यहाेरिरहेको र ताइवान लगायत जापान, भियतनाम,अस्ट्रेलिया लगायतका मुलुकसँगको सम्बन्धमा तनाव र दवावको सामना गरिरहेको चीनकालागि अफगानिस्तानको बाटो त्यसै पनि सिञ्जियाङ्मा हुर्किरहेको मुस्लिम अतिवाद र  पृथकतावादबाट उत्पन्न विद्यमान चुनौती थप जटील र कठीन बन्न पुग्ने देखिन्छ।

एउटा अमेरिकी साप्ताहिकले त त्यस्तो अमेरिकी सेनाको फिर्तीलाई चीनमाथिको प्रहारको रूपमा उल्लेख गरेको छ। ()

अमेरिकी सेना फिर्तीपछि अफगान सरकार र तालिवानी मुस्लिम अतिवादीवीचको द्वन्द्वमा अफगानिस्तानमा चीनको रणनीतिक लक्ष र सरोकारमाथि घातक असर पुग्ने ब्लुमबर्गको निष्कर्ष छ। ()

अफगानिस्तानमा चीन, भारत, पाकिस्तान, इरान, टर्की  मध्य एसियाली राष्ट्रहरूको गहिरो राष्ट्रिय  सरोकार  र स्वार्थ निहित छ र यी सबै मुलुकहरू अमेरिकी सेना फिर्तीपछिको अफगानिस्तान रणनीति निर्माण गर्नमा व्यस्त रहेको बुझ्न सकिन्छ।

त्यसैले लामो समयदेखि अफगानिस्तानमा अमेरिकी र नाटो सैनिकहरू मात्र तैनाथ छैनन् पाकिस्तान, चीन, इरान लगायतका  मुलुकका गुप्तचर गतिविधिहरूको अखडा पनि बनेको छ, उक्त मुलुक।

चीनलाई थाहा छ, अफगानिस्तानबाट अमेरिकी फौज फिर्तीपछि त्यहाँ शान्ति र स्थिरता स्थापना भएन भने अफगानिस्तानका लडाकु मुस्लिम समुदाय सँगै, पाकिस्तानको  बलुचिस्तान प्रान्तका पृथकतावादीहरू र खैवर पख्तुनिवा र गिल्गिट बाल्टिस्तानका मुसलमान अतिवादीहरूको संयुक्त दवाव र प्रहारको सामना चीनले गर्ने स्थिति आउँछ र त्यसको सामना गर्न साम्यवादी चीनलाई विगतको सोभियत सङ्घलाई जस्तै हम्मे हम्मे पर्दछ।

चीनको सिञ्जियाङ्मा पर्ने त्यस्तो गतिविधिको असर तिब्बतको मुस्लिम समुदायमा पनि पर्ने नै छ।

चीनको सिञ्जियाङ् चुनौती र अमेरिका


सिञ्जियाङ्र र अफगानिस्तानमा लामो समयदेखि इरान र साउदी अरेबियाले आँखा लगाइरहेका छन्। भारत र पाकिस्तानको अफगानिस्तान र सिञ्जियाङ्मा रणनीतिक स्वार्थ रहेको छ र बलुचिस्तान,उत्तर पाकिस्तान र अफगानिस्तानमा रहेको भारतीय प्रभाव सिञ्जियाङ्मा कुनै पनि समयमा ठोक्किन आइपुग्छ भन्ने चीनले बुझेको छ। सिन्जियाङ्सँग  चीनको करिब छ भागको एक भाग भूमि छ, अर्थात सिन्जियाङ् चीनको सबै  भन्दा ठूलो प्रान्त हो।

दोस्रो ठूलो प्रान्त तिब्बत हो। अर्थात सिञ्जियाङ् र तिब्बतले मात्रै वर्तमान चीनको करीव एक तिहाई भूभाग समेटेर बसेका छन्। अझ तिब्बतको पारम्परिक भूभाग समेतको हिसाव  गर्ने हो भने तिब्बत मात्रैले चीनको एक तिहाई क्षेत्रलाई प्रतिनिधित्व गर्दछ र सिञ्जियाङ् समेतलाई जोड्दा  त्यो वर्तमान  चीनको आधा भूभाग हुन आउँछ।

एसियाका मङ्गोलिया, रूस, कजाकस्तान,किर्गिजस्तान, ताजिकिस्तान, अफगानिस्तान, पाकिस्तान र  भारत आठ राष्ट्रसँग अन्तर्राष्ट्रिय सिमाना गाँसिएको सिञ्जियाङ् र म्यान्मार, भारत, भुटान,नेपाल र पाकिस्तान जस्ता पाँच राष्ट्रसँग त्यस्तो सीमाना जोडिएको तिब्बत आफैँमा पनि जोडिएर विराट भू रणनीतिक महत्व बोकेर बसेका छन्। त्यसैले सिञ्जियाङ्को सङ्कट र अस्थीरता चीनमा मात्र र चीनको मात्र सरोकारको रूपमा सीमित रहने विषय रहेन।

मुस्लिम बहुल क्षेत्र रहेको कारणले अफ्रिका र युरोपदेखि मध्यपूर्व, इरान र रूस र मध्य एसियाका मुस्लिम जनसंख्याको लगाव पनि  रहेको, सिञ्जियाङ्को वरिपरी विश्वको ठूलो रणनीतिक तनाव र द्वन्द्व क्षेत्र विकास भइरहेको कारण तिब्बतभन्दा  सिञ्जियाङ्को भू राजनीतिक र रणनीतिक संवेदनशीलता चीनको लागि ज्यादै बढी हुन पुगेको छ।

त्यतिमात्र नभएर सिञ्जियाङ् प्राचीन रेसम मार्ग, वर्तमान बेल्टरोड र चाइना -पाकिस्तान इकोनोमिक कोरिडोरको मूलद्वार पनि भएकोले  चीन र सिङ्गो  क्षेत्र र विश्वको लागि यसको भूराजनीतिक महत्वमा थप अभिवृद्धि गराएको छ।

सिञ्जियाङ्माथिको सुरक्षा खतरा पनि बढी छ। त्यसैले सिञ्जियाङ्मा मुस्लिम जनसनख्याको मानव अधिकारको व्यापक हननको कारण आगामी वर्ष चीनमा हुने विन्टर ओलम्पिकलाई  विश्वव्यापी रूपमा वहिष्कार गर्न अमेरिकी संसदको तल्लो सदनकी सभामुख नान्सी पेलोसीले गरेको आह्वान ()  बेइजिङ्को लागि अर्को तनाव र चुनौतीको विषय बन्ने स्पष्ट छ।

स्मरणीय छ, आफ्नो कार्यकाल समाप्तिको अन्तिम दिन तत्कालिन अमेरिकी विदेश मन्त्री माइक पम्पेओले चीनले त्यहाँका मुस्लिम जनतामाथि गरेको अत्याचारबारे अत्यन्त कडा विज्ञप्ति जारी गरेका थिए। यसै क्रममा यही गएको मे  १७मा जर्मनीको संसदले  सिञ्जियाङ्मा मुसलमानहरू विरूद्ध भएको नरसंहार र  उत्पीडन विरूद्ध सुनुवाई गर्‍याे। बेलायतले चीनको सिञ्जियाङ्ग नीतिको आलोचना गरिरहेको छ र युरोपका कतिपय मुलुकहरूले त्यसका लागि चीन विरूद्ध आर्थिक कारवाही को समेत घोषणा गरेका छन्।

सिञ्जियाङ्को इतिहास पनि तिब्बत जस्तै छ।

लामो समय चिनियाँ प्रभुत्व अन्तर्गत, अनि  कहिले रूसी, कहिले कुनै मध्य एसियाली मुलुकको प्रभुत्व अन्तर्गत र कहिले स्वतन्त्र।

बिसौं सताव्दीको अघिल्लो कालखण्ड मा पनि चीनको अनुपस्थिति र गैर जानकारीमा नै रूस र सोभियत सङ्घले सिञ्जियाङ्सँग  सन्धि सम्झौताहरू गरेको र विशेष व्यापारिक,सैनिक र रणनीतिक अधिकारहरू उपभोग गरेको अभिलेखहरू उपलब्ध छन्।( )

भारतको  ठूलो प्रभाव र बर्चस्व रहेको तथा पाकिस्तानको उग्र पृथकतावादी गतिविधि रहेको बलुचिस्तानको गतिविधिका कारण चीन पाकिस्तान इकोनोमिक कोरिडोर जस्तो चीन र पाकिस्तान दुवै मुलुकको पहिलो र प्रमुख रणनीतिक परियोजनाको रूपमा रहेको  र कूल ६०  अर्व डलरको परियोजनाबाट पछि हट्ने सङ्केत चीनले दिइसकेको छ।()

अफगानिस्तानमा पनि पाकिस्तान विरोधी पृथकतावादी गतिविधिमा संलग्न मुसलमानहरूको ठूलो सङ्ख्यामा उपस्थिति छ। त्यसैले  अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको अर्थ भारत (पाकिस्तान नियन्त्रित तर भारतद्वारा दावी गरिएको भूभागको आधारमा) चीन, ताजिकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान, इरान र पाकिस्तानसँग सीमा जोरिएको र रूसको गहीरो रणनीतिक सरोकार रहेको मुलुकको भूराजनीतिक महत्व अमेरिकाकालागि कम भएको अर्थमा बुझ्नु हुँदैन।

अमेरिकी सैनिक फिर्तीपछि पनि त्यहाँ अमेरिकाको सरोकार रहन्छ र त्यो सरोकार  सिआइए मार्फत अफगानिस्तानमा सघनरूपमा अभिव्यक्त हुनेबारे स्वयम् अमेरिकी सेनाका एक निवृत्त कर्णेल तथा पूर्व अमेरिकी विदेश मन्त्री कोलिन पावेलका सहयोगी  लरेन्स विल्केर्सनको २०१८को एउटा  भाषणको एउटा  क्लिपलाई आधार बनाएर उच्च चिनियाँ कूटनीतिज्ञ र समाचार माध्यमहरूले व्यापक रूपमा उठाइरहेका छन्।(१०)

प्रष्ट छ, रूस र एसियाका पाँच आणविक शक्ति सम्पन्न मुलुकहरू – चीन, भारत, पाकिस्तान, इरान(?) र इजरायलको  रणनीतिक दृष्टि मुनीको दुर्लभ र बहुमूल्य खनिज  र प्राकृतिक सम्पदाले भरिपूर्ण मध्य एसियासँग सीमा जोरिएको अफगानिस्तानमा अमेरिका रहन्छ—

सवाल कुन रूपमा भन्ने मात्रै हो।

अफगानिस्तान प्राकृतिक साधन र स्रोतले भरिपूर्ण मुलुक हो। सन् १९३०को दशक देखिनै उसले तेल अन्वेषण आरम्भ  गरेको थियो। दोस्रो विश्व युद्ध लगत्तै स्वीडेनको सहयोगमा व्यापक अन्वेषण गरिएको थियो। अफगानिस्तानमा तेल र प्राकृतिक ग्यासको प्रचूर भण्डार रहेको जानकारी भएपछि सोभियत सङ्घले आफ्नो हरसम्भव दवावलाई उपयोग गरेर स्वीडेनलाई हटाएर आफैँले  ऋण अनुदान दियो र त्यस्तो अन्वेषण शुरू गर्‍याे।(११)

सन् २००७ मा नै अफगानिस्तानमा उच्च कोटीको सुन, तामा,लिथियम, युरेनियम आदि बहुमूल्य खनिज पदार्थ, तेल र प्राकृतिक ग्यासको विराट भण्डार रहेको अमेरिकी भौगर्भिक सर्भेक्षणले बताएको थियो। पछिका दिनमा आएर अफगानिस्तानका खनिज सम्पदामा अमेरिकी रूचि पनि देखिएको थियो। (१२)

र  विभिन्न स्रोत हरूलाई आधार मानेर एउटा अमेरिकी मिडियाले दिएको जानकारी अनुसार उक्त खनिज सम्पदा कम्तीमा पनि तीन  हजार अर्व डलर बराबरको छ।(१३)

सिञ्जियाङ् र अफगानिस्तानमा प्रमुख शक्ति राष्ट्रहरूको रणनीतिक सरोकार


विभिन्न अन्य आधिकारिक स्रोतहरूका आधारमा अफगानिस्तानको त्यस्तो स्रोत सात हजार अर्व डलर भन्दा बढी छ। अमेरिकी र बृटिस सैनिक र भौगर्भिक स्रोतहरूलाई उल्लेख गर्दै एक ब्रिटिस दैनिकले दिएको जानकारी अनुसार आधुनिक जीवनको अङ्ग बनेका मोबाइल र ल्यापटपहरूमा प्रयोग हुने लिथियम धातुको सवैभन्दा ठूलो भण्डार अफगानिस्तानमा रहेको छ। त्यस अर्थमा यसलाई लिथियमको साउदी अरव भन्न सकिन्छ। (१४)

अफगानिस्तानको खनिज सम्पदालाई लिएर ठूला शक्ति राष्ट्रहरू वीचको प्रतिष्पर्धा क्रममा एउटा चीनियाँ कम्पनीले अफगानिस्तानको एउटा तामा खानीको स्वामित्वको लागि राष्ट्रपति हमिद कारजाई सरकारका खानी मन्त्री मोहमद इब्राहिम अदेललाई ३० करोड डलर घुस लिएको अभियोगमा पदच्यूत गरिएको पनि थियो। (१५

अर्को स्मरणीय पक्ष यो हो कि  अफगानिस्तान र मध्य एसियाको प्रचूर प्राकृतिक सम्पदाको पहिलो उपभोक्ता राष्ट्र पनि चीन हो। त्यसैगरी ती मुलुकहरू चीनका उत्पादनका एकलौटी बजार हुन्।

यहाँ अत्यन्त महत्वपूर्ण भूरणनीतिक  महत्व र चासोको सवाल छ भने अफगानिस्तान देखि सियाञ्जिङ्ग, तिब्बत  हुँदैचीनको अधिनमा रहेको भित्री मंगोलिया सम्मको सम्पूर्ण क्षेत्र युरेनियमको विराट भण्डार हो। सिञ्जियाङ्  र भित्री मङ्गोलियामा मात्रै चीनमा उपलव्ध युरेनियम भण्डारको झन्डै आधा भाग छ। (१६)

वर्तमानमा चीनको एक तिहाई युरेनियम आवश्यकताको आपूर्ति सिञ्जियाङ्ले मात्रै गर्दछ। चीनको युरेनियम भण्डार २० लाख टन बराबर भएको विज्ञहरूले  बताएका छन् I (१७)

र  पछिल्ला दिनहरूमा भएको अध्ययन र अन्वेषण अनुसार  तिब्बतमा त्यसको ठूलो अंश रहेको छ।

स्मरणीय छ,  चीन संसारको सवैभन्दा ठूलो तेल आयातक राष्ट्र हो, दोस्रो ठूलो तेल उपभोक्ता राष्ट्र हो। तर उसको तेल आवश्यकताको तुलनामा चीनको तेल भण्डार अत्यन्त सानो छ।

अर्को, चीन संसारको सवै भन्दा ठूलो जल विद्युत उत्पादक राष्ट्र हो तर  चीनका कतिपय ठूला नदीहरू सुक्दै गएका, अन्य कतिपयका जल स्तरमा निरन्तर ह्राश आइरहेको कारण  उसले आणविक उर्जामाथिको निर्भरता बढाउँदै गइरहेको छ र आफ्नो उर्जा आवश्यकताको कम्तीमा एक तिहाई भागलाई आणविक उर्जाबाट पूर्तिगर्ने लक्ष राखेको  छ। उसको उर्जाको रणनीतिक आवश्यकताले गर्दा पनि युरेनियमको  विशाल भण्डार रहेका अफगानिस्तान र  मध्य एसियाली राष्ट्रहरू  सहित सिञ्जियाङ् र तिब्बतको महत्व रहेको बुझ्न सकिन्छ।

सिञ्जियाङ्मा चीनको साम्यवादी सत्ता स्थापना परिवेश 


लामो समयदेखि सिञ्जियाङ् अन्तर्राष्ट्रिय चलखेलको केन्द्र बन्दै आएको छ। टर्की, चीन, सोभियत सङ्घ, जापान, ब्रिटेन सबैको चलखेल र सरोकार माझ सिञ्जियाङ्को आन्तरिक राजनीति पनि निकै उथल पुथल माझ गुज्रिरहेको र त्यहाँका शासक वर्ग आफूलाई सत्तामा स्थापना गर्न सोभियत सङ्घ र चीनको कुओमिन्ताङ् र  माओ नेतृत्वको विद्रोही कम्युनिस्ट पार्टीसँग अलग अलग साँठ गाँठ गरिरहेका थिए। (१८ )

सिञ्जियाङ्गका केही भूभागलाई अधिनमा लिएर एउटा समूहले  स्वतन्त्र पूर्वी तुर्किस्तान गणतन्त्रको  घोषणा पनि गरेको थियो। त्यसो त चीनमा साम्यवादी शासन स्थापनामा सोभियत सङ्घको निर्णायक सहयोग रहेकै थियो तै पनि  चीनमा पूर्ण साम्यवादी सत्ता स्थापनाको औपचारिक घोषणा हुन  मात्र बाँकी हुँदा  सो अवस्थापछि सोभियत सङ्घको चीन सम्बन्धी प्रष्ट नीति के हुने  भन्ने बुझ्न  जुन १९४९मा  माओत्से तुङ्गले  सङ्क्रमणकालीन सरकारका उपाध्यक्ष ल्यु साओ चीलाई मस्को पठाएका थिए।

त्यतिखेर सोभियत सङ्घ  पहिलो आणविक परीक्षण गर्दैथियो। सिञ्जियाङ्मा उच्चस्तरको युरेनियमको विराट भण्डार रहेको बारे  स्टालिन राम्रो जानकार थिए ,त्यसैले  सिञ्जियाङ्मा आफ्नो प्रभुत्व स्थापनामा पनि उनको रूची रहेको सन्दर्भ माथि आइसकेको छ।

र सिञ्जियाङ्मा बेलायत, अमेरिका, टर्की लगायतका मुलुकहरूको पनि रूची र सरोकार रहेको, पृथकतावादी गतिविधिमा तीब्रता आइरहेको र  त्यहाँ आफ्नो प्रभुत्व स्थापनाको प्रयाश गर्दा त्यतिखेर सोभियत सङ्घको नियन्त्रणमा आइसकेका अहिलेका स्वतन्त्र पाँच मध्य एसियाली मुस्लिम राष्ट्रहरूको सुरक्षा र स्थिरतामाथि चुनौती थपिने कारण स्टालिन मौन देखिएका थिए।

सिञ्जियाङ्मा एक स्वतन्त्र मुस्लिम राज्यको सम्भावना बाक्लिँदै गएको  र त्यसको असर आफ्ना मुस्लिम बहुल मध्य एसियाली राज्यमा पर्ने  कारणले पनि स्टालिन चिन्तित थिए। त्यसैले उनी जतिसक्यो चाँडो सिञ्जियाङ्मा कम्युनिस्ट चीनको नियन्त्रणको पक्षमा थिए।

सिञ्जियाङ्मा  माओको चीनले  पूर्ण नियन्त्रण स्थापना गरेमा त्यहाँ उपलव्ध युरेनियम, थोरियम लगायतका बहुमूल्य खनिज सम्पदामाथि आफ्नै एकाधिकार हुनेले पनि उनी प्रेरित थिए। (१९)

अन्तत चाँडो भन्दा चाँडो माओको लालसेनालाई सिञ्जियाङ्मा उतारेर त्यसलाई नियन्त्रणमा लिन स्टालिनले आफ्ना हवाइजहाजहरू पनि माओलाई उपलव्ध गराए, त्यसरी  १४  हजार थप लालसेना सिञ्जियाङ्मा उत्रिए पछि उक्त प्रदेश चीनको नियन्त्रणमा आएको थियो। (२०)

अगस्ट  १९४९मा माओले वार्ताका लागि बेइजिङ्मा आमन्त्रण गरेका पूर्वी तुर्किस्तान गणतन्त्रका प्रतिनिधिहरू र सिञ्जियाङ्का अन्य सबै कम्युनिस्ट र गैर कम्युनिस्ट पक्षहरूको वृहत सम्मेलन आयोजना गरेर समस्याको समाधानकोलागि आफ्नो मध्यस्थताको प्रस्ताव गरेका थिए। सोही क्रममा अगस्ट २७मा विमानद्वारा बेइजिङ्ग गएको स्वतन्त्र तुर्किस्तानको प्रतिनिधि मण्डलबारे महिनौसम्म कुनै अत्तोपत्तो  लागेन।

सम्पूर्ण सिञ्जियाङ्मा  साम्यवादी सत्ता स्थापना भए पछि डिसेम्वर १९४९मा चीन सरकारको तर्फबाट  विमान दुर्घटनामा उक्त प्रतिनिधि मण्डलका सबैका निधन भएको जानकारी दिइएको थियो।(२१ )

स्पष्ट छ, स्वतन्त्र पूर्वी तुर्किस्तान र स्वायत्त सिञ्जियाङ्ले  सोभियत सङ्घ शासित मध्य एसियाली मुस्लिम राज्यहरूमा पर्ने दवावका कारण स्टालिनले माओलाई सिञ्जियाङ्मा चीनको आधिपत्य स्थापनामा सहयोग गरे। यिनै परिप्रेक्षमा चीनलाई तिब्बत सहित सिञ्जियाङ्को विशाल भूमि प्राप्त भयो र उसलाई एउटा प्रमुख विश्व शक्तिको रूपमा स्थापनाहुन यी दुई प्रान्तहरूको  विशिष्ट भूराजनीतिक  रणनीतिक अवस्थितिले निर्णायक योगदान पुर्यायो र पुर्याइरहेकै छ।

क्रमशः

स्रोत र सन्दर्भ सामग्रीहरू 

 ()ग्लोबल टाइम्स – (दिङ् सुएझेन , ली  झुन र ल्यु युपेङ्) : ट्वेन्टी यर्स अन, अफगानिस्तान इज लेफ्ट इन केयस  विथ युएस ट्रुप विथड्रलअप्रिल २१, २०२१.

 () एसिया टाइम्स (सलमान रफी शेख) : तालिवान फिलिङ्ग् युएस भ्याकुम विथ भायोलेन्स एण्ड थ्रेट, मे १०, २०२१

 () साउथ चाइना मर्निङ्ग पोस्ट (मारिया सियाओ) : बाइडेन  लिभ्ज् चाइना अ सिञ्जियाङ् टेररिजम प्रब्लम विथ युएस एग्जिट फ्रम अफगानिस्तान ,मे १, २०२१.

 ( ) (ऐजन )

 () ब्लुमबर्ग (बबी घोष) बाइडेनस् अफगानिस्तान विथड्रल    इज अ ब्लो फर चाइना, अप्रिल १५, २०२१.

 () ब्लुमबर्ग , ऐजन,

  () रोयटर्स ( डेभिड ब्रुनस्ट्रोम , मिचेल मार्टिना) पेलोसी कल्स  फर युएस एण्ड वर्ल्ड लिडर्स टु  बोयकट चाइनाज २०२२ ओलम्पिक्स, मे १९, २०२१.

( ) माइकेल ई. क्लार्क : सिञ्जियाङ् एण्ड चाइनाज राइज इन सेन्ट्रल एसियारुटलेज २०११,पृष्ठ ३०,

एलेन एस ह्वाइटिङ् र जनरल शेङ्ग शिहसाई लिखित र मिचिगन स्टेट युनिभर्सिटी वाट प्रकाशित पुस्तक सिङ्कियाङ् : पअन अर पिभोट र अजर बैजानका राजनीतिज्ञ तथा लेखक जमिल हसन्ली लिखित तथा लेक्सिन्टन बुक्स द्वारा प्रकाशित सोभियत पलिसी इन सिञ्जियाङ्ले सो सम्बन्धमा विस्तारमा उल्लेख गरेका छन्।

 ()  निक्केएसिया ( अदनान  आमिर)- डेडली आइएस अट्याक थ्र्याटेन्स चाइनाज बेल्ट रोड इन पाकिस्तान जनवरी १०, २०२१ र चाइना एण्ड पाकिस्तान फल आउट ओभर बेल्ट एण्ड रोड फ्रेम वर्कसऐजन जनवरी १९, २०२१.

 (१०) ग्लोबल टाइम्स (फरेन  मिनिस्टर) टाइम टु  इन्ड  युएसड्रामाओभर सिञ्जियाङ् रयूमर्स : चाइनिज एफएम, मार्च २६, २०२१.

 (११) अब्दुल तवाव अस्सिफी : दी रसियन रोपसोभियत  इकोनोमिक मोटिभ्ज एण्ड सब्भर्सन अफ अफगानिस्तान,वर्ल्ड अफियर्सअफगानिस्तान, भोल्युम १४५, नं. (विन्टर) १९८२/८३ 

 (१२) दी न्युयोर्क टाइम्स (मार्क ल्यान्डलर  एण्ड जेम्स राइजेन )- ट्रम्प फाइन्ड्स्   रिजन्स  फर दी युस टु रिमेन इन अफगानिस्तान: मिनरल्स , जुलाई २५, २०१७.

 रोयटर ( जेम्स मकिन्जे ) दी भिक्टर , दी स्पोइल्स ? ट्रम्प आइज अफगानिस्तानस एल्युसिभ मिनरल रिचेज,अगस्ट २१, २०१७

 (१३) सीएनबीसी (मेरियम अमिनी) एट स्टेक इन युएस मिलिटरी इफोर्ट्स टु स्टेबलाइज अफगानिस्तान : एट लियस्ट  ३ ट्रिलियन डलर , अगस्ट २१, २०१७

 (१४) इन्डिपेन्डेन्टअफगानिस्तानस् रिसोर्सेज कुड मेक इट दी रिचेस्ट माइनिङ् रिजन अन  अर्थ, अक्टोबर २३, २०११.  

 (१५) इन्डिपेन्डेन्टऐजन  र सिएनबिसीअफगान  मिनिस्टर अक्युज्ड  अफ रिसिभिङ्ग  ह्युज ब्राइब,नोभेम्बर २४, २००९.  

 (१६ ) बेल्फार सेन्टर फर साइन्स एण्ड इन्टरनेसनल अफियर्सजोन एफ केनेडी स्कूल अफ गभर्नमेन्ट, हार्भर्ड  युनिभर्सिटी, चाइनाज एक्सेस टु युरेनियम रिसोर्सेज  हुई झाङ् र युनसेङ् बाईयुरेनियम रिसोर्सेज, २०१५, पृष्ठ १८.

 (१७) बुलेटिन अफ दी एटमिक  साइन्टिस्ट (हुई झाङ्) – युरेनियम सप्लाइज: अ हिच टु चाइना  न्युक्लियर इनर्जी प्लान्स ? अर नट, २०१५ भोल्युम ७१ () ५८६६, सेज, (डि..आई: १०.   ११७७/ ००९६३४०२१५५८१ ३५८).

 (१८ )  जेम्स मिलवार्डयुरेसियन क्रस रोडस् : अ हिस्ट्री अफ सिञ्जियाङ्, कोलम्बिया युनिभर्सिटी प्रेस, २००७, पृष्ठ १०११.

 (१९) इकबाल चन्द मलहोत्रारेड फियर : दी चाइना  थ्रेट, ब्लुम्सबरी,२०२१, पृष्ठ १७०१७१.

 (२०) इकबाल चन्द मलहोत्रा , ऐजन, पृष्ठ १७७.   

 (२१)  जेम्स मिलवार्डयुरेसियन क्रस रोडस् : अ हिस्ट्री अफ सिञ्जियाङ्, कोलम्बिया युनिभर्सिटी प्रेस, २००७, पृष्ठ २३४.

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?