
काठमाडौँ – कोरोना नियन्त्रणका लागि नेकपा (माओवादी केन्द्र) स्थायी समितिले नीति, कार्यक्रम र संरचनासम्बन्धी प्रस्ताव गरेको छ।
कोभिड १९ को दोस्रो लहरको तीव्रता र भयावहतालाई दृष्टिगत गर्दा सरकारले जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्ने तथा संक्रमण रोक्ने तयारी तत्परता र प्रभावकारीतामा पूर्णतः असफल सावित भएको स्थायी समितिले निष्कर्ष निकालेको छ।
‘अझ तेस्रो लहर पनि आउन सक्ने सम्भावनाप्रति विज्ञहरुले सचेत गराइरहेको पृष्ठभूमिमा सम्भावित विपत्तिलाई सामना गर्न सक्ने प्रणाली निर्माणको तयारी पनि आजको विषय बन्न पुगेको छ’, स्थायी समितिले विज्ञप्तिमा उल्लेख गरेको छ।
जनताको जीवन रक्षाको अत्यन्तै संवेदनशील यो मुद्दामा सरकारको चरम लापरवाहीप्रति खेद प्रकट गर्दै नेकपा माओवादी केन्द्रको स्थायी समितिको २०७८ जेठ ५ र ६ गते बसेको बैठकले यसबारे गम्भीर छलफल गरी कोरोना नियन्त्रणको लागि नीति, योजना, कार्यक्रम र संरचना बनाई अगाडि बढ्ने निर्णय गरेको जनाएको छ।