
सिमकोट– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुस्प्रयासविरुद्ध खबरदारी गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न अपिल गरेका छन्।
चौधौं गणतन्त्र दिवसको अवसर शुभकामना सन्देश दिँदै मुख्यमन्त्री शाहीले सो अपिल गरेका हुन्।
मुख्यमन्त्री शाहीले आफ्नो शुभकामना सन्देशमा नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र एवं निःशस्त्र रूपमा सञ्चालन गरेका बलिदानीपूर्ण संघर्षको ऐतिहासिक उपलब्धिस्वरुप जननिर्वाचित संविधानसभाबाट ०६५ जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएको स्मरण गराउँदै गणतन्त्रको स्थापनापश्चात् नै हामीले समावेशी/समानुपातिक व्यवस्था, धर्मनिरपेक्षता, संघीयतालगायत महत्वपूर्ण राजनीतिक उपलब्धि प्राप्त गरेको उल्लेख गरेका छन्।
ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि नै धरापमा पार्ने गरी अहिले भइरहेका असंवैधानिक र प्रतिगमनकारी कदमप्रति पनि सचेत रहनसमेत मुख्यमन्त्री शाहीले सबैलाई आग्रह गरेका छन्।
सन्देशमा उनले गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुस्प्रयासविरुद्ध खबरदारी गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न अपिलसमेत गरेका छन्।
गणतन्त्रको स्थापनापश्चात् नै हामीले समावेशी/समानुपातिक व्यवस्था, धर्मनिरपेक्षता, संघीयतालगायत महत्वपूर्ण राजनीतिक उपलब्धि प्राप्त गरेको उल्लेख गर्दै ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि नै धरापमा पार्ने गरी अहिले भइरहेका असंवैधानिक र प्रतिगमनकारी कदमप्रति पनि सचेत रहन सबैलाई आग्रह गरेका छन्।
यतिबेला विश्व समुदायसँगै हामीले पनि कोरोना भाइरस (कोभिड–१९) को गम्भीर संकटसँग मुकाविला गरिरहेको र संकटपूर्ण अवस्था अन्त्य गर्न प्रदेश सरकार पनि सम्पूर्ण साधन–स्रोत तथा संयन्त्र परिचालनसहित कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्यको काममा लागिरहेको उनले सन्देशमा उल्लेख गरेका छन्।